क्यानडेली प्रधानमन्त्री मार्क कार्नीले अमेरिका नेतृत्वको विश्व व्यवस्था भत्किएको बताएका छन्। स्विट्जरल्यान्डको डाभोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरममा उनले अबको व्यवस्थामा महाशक्तिहरूबीच प्रतिस्पर्धा चर्किन थालेको भन्दै अब पुरानो व्यवस्था कहिल्यै नफर्किने बताए।
उनको भाषणको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ। किनकि कार्नीले ‘नियममा आधारित व्यवस्था’ झुटो भएको स्वीकारेका छन्। र, क्यानडाजस्ता मध्यम शक्तिहरूलाई एकजुट हुन आग्रह गरेका छन्।
‘दशकौँसम्म हामीले व्यवस्था भन्ने गरेको नियममा आधारित विश्व व्यवस्थाबाट क्यानडाजस्ता मुलुकले समृद्धि हासिल गरे। हामी यसका संस्थाहरूमा सहभागी भयौँ, यसका सिद्धान्तहरूको प्रशंसा गर्यौँ...। हामीलाई थाहा थियो, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका कथा आंशिक रुपमा झुटो थियो। त्यहाँ सबैभन्दा शक्तिशालीले चाहेका बेला छुट पाउँथ्यो, व्यापारिक नियमहरू पनि असमान तरिकाले लागू हुन्थे, अन्तर्राष्ट्रिय नियम पनि अभियुक्त र पीडितको अनुहार हेरेर अलग तरिकाले लागू हुन्थ्यो भन्ने हामीलाई थाहा थियो,’ उनले भने।
‘यो कथा उपयोगी थियो। खासगरी अमेरिकी प्रभुत्वले सार्वजनिक हित, खुला जलमार्ग, स्थिर वित्तीय व्यवस्था, सामूहिक सुरक्षा र विवाद समाधानको ढाँचा उपलब्ध गराउन भूमिका खेल्यो। त्यसैले त्यसलाई हामीले मान्यौँ। हामी कर्मकाण्डमा सामेल भयौँ। अनि भनाइ र गराइको खाडललाई औँल्याउन चाहेनौँ,’ उनले थपेका छन्, ‘तर, अब त्यसरी काम चल्दैन। मलाई ठाडै भन्न दिनुहोस्। हामी संक्रमण होइन, चिरा पर्ने क्रमको बीचमा छौँ।’
गएको दुई दशकमा वित्त, स्वास्थ्य, ऊर्जा र भूराजनीतिमा आएका शृंखलाबद्ध संकटहरूले चरम विश्वव्यापी एकीकरणको जोखिमलाई उजागर गरेको उनको भनाइ छ।
‘हालसालै महाशक्तिहरूले आर्थिक एकीकरणलाई हतियारका रुपमा प्रयोग गर्न थालेका छन्। भन्सार शुल्क, वित्तीय पूर्वाधारलाई जबर्जस्तीको माध्यम बनाएका छन्, आपूर्ति शृंखलालाई शोषणको मौका मानेका छन्,’ कार्नीले भने, ‘आफ्नो खाद्यान्न, इन्धन आफैँ उत्पादन गर्न नसक्ने र आफ्नो रक्षा आफैँ गर्न नसक्ने मुलुकसामु धेरै विकल्प छैनन्। जब कानुनले तपाईंको रक्षा गर्दैन, तब तपाईंले आफैँले आफ्नो रक्षा गर्नुपर्ने हुन्छ।’
कार्नीले क्यानडाजस्ता मध्यम शक्तिहरूले मिलेर काम गर्नुपर्ने पनि बताए।
‘शक्तिशालीसँग शक्ति छ। तर, हामीसँग पनि केही न केही छ– बहानाबाजी बन्द गर्ने क्षमता छ, यथार्थलाई जस्ताको तस्तै भन्ने, आफ्नो शक्ति बढाउने र मिलेर काम गर्ने क्षमता छ,’ कार्नीले भनेका छन्, ‘क्यानडाको बाटो यही हो। हामीले खुला र आत्मविश्वासका साथ यो बाटो रोजेका हौँ र जो हामीसँग हिँड्न चाहन्छ, उसका लागि पनि यो बाटो खुला छ।’ एजेन्सी
Shares

प्रतिक्रिया