चीनको व्यापार नाफा (कुल निर्यातबाट कुल आयात घटाउँदा आउने रकम) पहिलो पटक एक ट्रिलियन डलर नाघेको छ। सोमबार सार्वजनिक भएको तथ्यांक अनुसार अमेरिकामा चीनको निर्यात ह्वात्तै घट्दा पनि बेइजिङको नाफामा व्यापक वृद्धि देखिएको हो।
नोभेम्बरमा अघिल्लो सालको तुलनामा चीनको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको छ। जबकि अमेरिकामा उसको निर्यात २८.६ प्रतिशतले घटेको छ।
तर, अन्य देशमा उसको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। ११ महिनामै उसको व्यापारिक नाफाले ट्रिलियन डलर छोएको हो।
अक्टोबरमा भने चीनको निर्यात १.१ प्रतिशतले खुम्चेको थियो।
चीनको आयात भने नोभेम्बरमा अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशतले मात्र बढेको छ।
अक्टोबरको अन्तिमतिर सी चिनफिङ र डोनाल्ड ट्रम्पबीच दक्षिण कोरियामा भएको भेटमा एकअर्कामाथिको भारी भन्सार महसुल रोक्ने सहमति भएको छ। यससँगै सहमतिका लागि उनीहरुले एक वर्षको समय पाएका छन्।
चिनियाँ नेताहरुले यो वर्ष ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया