अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ।
साथै इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमा सार्ने प्रयास गरेको बताएको छ।
अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'इस्लामिक इमिरेट्सको असल नियत र मध्यस्थकर्ताहरूका सबै प्रयासका बाबजुद पाकिस्तानी प्रतिनिधिमण्डलको गैरजिम्मेवार व्यवहारका कारण वार्ता कुनै निष्कर्षमा पुग्न सकेन।'
मुजाहिदले भनेका छन्, 'कसैलाई पनि अफगानिस्तानको भूमि कुनै पनि अन्य देशविरुद्ध प्रयोग गर्न दिइने छैन, न त कुनै पनि देशलाई आफ्नो भूमिबाट अफगानिस्तानको राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र सुरक्षाविरुद्ध कार्य गर्न वा समर्थन गर्न दिइनेछ।'
उनले वार्ताका क्रममा पाकिस्तानी पक्षले आफ्नो देशको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगान सरकारमा सार्ने प्रयास गरेको तर अफगानिस्तानको सुरक्षा वा शान्तिका लागि कुनै पनि जिम्मेवारी स्वीकार गर्न इच्छुक नदेखिएको बताएका छन्।
जबिहुल्लाह मुजाहिदले भनेका छन्, 'पाकिस्तानका जनता अफगान जनताका दाजुभाइ हुन्। अफगानिस्तानले उनीहरूको कल्याण र शान्तिका लागि प्रार्थना गर्दछ र आफ्नो क्षमता र जिम्मेवारीले भ्याएसम्म उनीहरूलाई सहयोग गरिरहनेछ।'
उनले अफगान जनताको सुरक्षा गर्नु तालिबानको कानुनी र राष्ट्रिय जिम्मेवारी भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, 'कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ सामना गरिनेछ।'
Shares

प्रतिक्रिया