अमेरिकी सिनेटले दक्षिण र मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पदमा पल कपुरलाई अनुमोदन गरेको छ।
कपुर भारतीय मूलका हुन्। उनी डोनाल्ड लुको ठाउँमा नियुक्त भएका हुन्।
अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ साउथ एन्ड सेन्ट्रल एसियन अफेयर्सले अफगानिस्तान, बंगलादेश, भुटान, भारत, कजाकस्तान, किर्गिजस्तान, मालदिभ्स, नेपाल, पाकिस्तान, श्रीलंका, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानसँगको विदेश सम्बन्ध हेर्छ।
पल कपूरको जन्म नयाँ दिल्लीमा भएको हो। उनका बुबा भारतीय हुन् भने आमा अमेरिकी। उनी अमेरिकी नेभल पोस्टग्राजुएट स्कुलमा प्रोफेसरका रूपमा काम गर्थे। साथै स्ट्यानफोर्ड विश्वविद्यालयको हुबर इन्स्टिच्युटमा भिजिटिङ फेलो पनि हुन्। दक्षिण एसियाको सुरक्षा, राजनीति र विदेशनीतिका जानकारी मानिन्छन् उनी।
यसअघि ट्रम्पकै शासनमा अमेरिकी विदेश मन्त्रालयको नीति योजना तर्जुमाको काममा उनी संलग्न थिए। अमेरिकाको इन्डो–प्यासिफिक रणनीति र अमेरिका–भारत सम्बन्धका विषयमा उनले काम गरेका थिए।
ट्रम्पले २०२० मा चुनाव हारेपछि उनी फेरि अध्यापनमा फर्केका थिए। फेरि सत्तामा आएसँगै ट्रम्पले उनलाई फेब्रुअरीमा सो पदमा मनोनयन गरेका थिए।
उनले एमहर्स्ट कलेजबाट अन्डरग्य्राजुएट र युनिभर्सिटी अफ सिकागोबाट पीएचडी गरेका हुन्।
कपुर पाकिस्तानको कटु आलोचकका रुपमा चिनिन्छन्। आफ्ना लेख तथा अनुसन्धानहरूमा उनले पाकिस्तानले नियोजित र नीतिगत रुपले नै जिहादी समूहहरूलाई परिचालन गर्ने दाबी गर्दै आएका छन्।
उनका चर्चित पुस्तकमा डेन्जरस डिटर्रेन्ट, जिहाद एज ग्य्रान्ड स्ट्राटेजी लगायत छन्।
पछिल्लो समय ट्रम्प पाकिस्तान र खासगरी त्यहाँको सैन्य नेतृत्वसँग निकट देखिएका बेला कपुरले यो क्षेत्रको जिम्मेवारी सम्हालेका छन्। त्यसैले कतिपयले अब पाकिस्तानसँग अमेरिकाको दूरी बढ्ने आकलन गरेका छन्।
त्यस्तै, यो क्षेत्रमा अमेरिकी विदेश नीति भारतकेन्द्रित हुनसक्ने अड्कल पनि धेरैको छ। एजेन्सी
Shares

प्रतिक्रिया