इजरायलले सोमबार राति गाजा सहरमा भारी बमबारी गरेको छ।
केही मिडिया रिपोर्टले इजरायली सेनाले सम्पूर्ण सहर कब्जा गर्न स्थलगत कारबाही सुरु गरेको दाबी गरेका छन्।
मध्य गाजाबाट पनि इजरायली आक्रमणको रिपोर्ट आएको छ।
बीबीसीका अनुसार यी आक्रमण त्यही दिशामा भएका छन्, जहाँ हजारौँ मानिसहरू भागिरहेका छन्।
प्यालेस्टिनी अधिकारीहरूले मृतक र घाइतेको संख्या निरन्तर बढिरहेको बताएका छन्।
यी आक्रमण सोमबार अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले जेरुसेलमको भ्रमणका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई अमेरिकाको ‘अटल समर्थन’को आश्वासन दिएका बेला भएका हुन्।
मंगलबार बिहान इजरायली रक्षामन्त्री इजरायल काट्जले एक्समा लेखेका छन्, ‘गाजा जलिरहेको छ।’
उनले चेतावनी दिएका छन्, ‘इजरायल मिसन पूरा नभएसम्म पछि हट्ने छैन।’
गाजाका स्थानीय पत्रकारले इजरायली हवाई आक्रमण र गोलाबारी जारी रहेको बताएका छन्।
घरहरूको भग्नावशेषमुनि मानिसहरू दबिएको पनि रिपोर्ट आएको छ। इजरायली सेनाद्वारा नयाँ स्थलगत आक्रमणको कुनै आधिकारिक पुष्टि भएको छैन।
Shares

प्रतिक्रिया