ग्लोबल


अन्तर्राष्ट्रिय मिडियामा अलास्का वार्ता: पुटिनको जितदेखि ट्रम्पले फैलाएको भ्रमसम्म चर्चा

अन्तर्राष्ट्रिय मिडियामा अलास्का वार्ता: पुटिनको जितदेखि ट्रम्पले फैलाएको भ्रमसम्म चर्चा

नेपालखबर
भदौ १, २०८२ आइतबार १५:२३, काठमाडौँ

युक्रेन युद्ध अन्त्यका विषयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यही अगस्ट १५ मा अलास्कामा गरेको भेटवार्ता अहिले विश्वमै चर्चाको विषय बनेको छ।

अलास्काको एन्कोरेज सहरमा नेपाली समयअनुसार शुक्रबार मध्यराति सुरु भएर ३ घण्टासम्म चलेको ट्रम्प-पुटिन वार्ताले रुस-युक्रेन युद्ध अन्त्यका लागि ठोस सहमति गर्ने आशा गरिएको थियो। तर युद्धविराम सम्झौता भयो न त शान्ति सम्झौता। 

बैठकपछि ट्रम्प र पुटिनले जम्मा १२ मिनेटको संयुक्त पत्रकार सम्मेलन त गरे तर त्यसमा दुवैले वार्तामा के सहमति भयो भन्ने कुरा बताएनन्। उनीहरूले पत्रकारहरूका प्रश्नमा कुनै जवाफ दिएनन्।

यसैबीच विश्वका विभिन्न सञ्चारमाध्यमले भने यस बैठकबारे फरक-फरक मूल्यांकन/विश्लेषण गरिरहेका छन्। 

कतै यसलाई पुटिनको विजय भनिएको छ भने कतै ट्रम्पले सामना गर्ने कठिन प्रश्नहरूको चर्चा गरिएको छ।

धेरैवटा रिपोर्टले यो बैठकले थप वार्ताको लागि आधार तयार गर्न सक्छ भनेर पनि भनेका छन्, तर अहिलेसम्म नतिजा निकै सीमित छ।

‘पुटिनले जे चाहन्थे त्यो पाए’

अमेरिकी च्यानल सीएनएनमा प्रकाशित रिपोर्टमा पुटिनले अलास्कामा उनले अपेक्षा गरेको सबै कुरा पाएको उल्लेख गरेको छ। 

रिपोर्टअनुसार, ‘पुटिनले अलास्कामा आफ्ना सबै अपेक्षाअनुसार परिणाम पाए। यसविपरीत डोनाल्ड ट्रम्पले धेरै कम सफलता पाए, विशेष गरी बैठकअघि उनले गरेका अपेक्षाका तुलनामा।’

सीएनएनले प्रश्न उठाएको छ, ‘ट्रम्पले केही साना फाइदा मात्र हासिल गरे?’

रिपोर्टमा यो पनि प्रश्न गरिएको छ, ‘उनले भविष्यमा रुससँग सम्भावित शान्ति सम्झौताको अवस्थामा युक्रेनको सुरक्षा सुनिश्चित गर्ने आधार तयार गरे?’

रिपोर्टअनुसार, ‘ट्रम्पले 'धेरै प्रगति भएको' दाबी गरे र बैठक '१० नम्बरमा १०' थियो, तर सबै संकेतले यो रुसका राष्ट्रपतिका लागि ठूलो विजय भएको देखाउँछन्।’

‘भव्य स्वागत, तर छैन ठोस परिणाम’

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा अलास्कामा पुटिनको भव्य स्वागतका बाबजुद ट्रम्पले कुनै ठोस परिणाम प्राप्त नसकेको उल्लेख गरेको छ। 

रिपोर्टअनुसार, ‘ट्रम्पले अलास्कामा आफ्ना रुसी समकक्षीलाई रातो कार्पेट, सैन्य फ्लाईओभर र राष्ट्रपतिको लिमोजिनमा सवारीका साथ स्वागत गरे। तर यो भव्य कार्यक्रमका बाबजुद वासिङ्टन फर्किंदा ट्रम्पसँग देखाउने कुरा धेरै कम थिए।’

पत्रिकाले चुनावी अभियानका क्रममा ट्रम्पले आफू राष्ट्रपति बनेको पहिलो दिन नै रुस-युक्रेन युद्ध समाप्त गर्ने वाचा गरेको तर अहिले ‘अस्थायी युद्धविरामसमेत गराउन असफल भएको’ टिप्पणी गरेको छ। 

'अर्को बैठक मस्कोमा?'

अमेरिकी पत्रिका न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टअनुसार, ‘राष्ट्रपति ट्रम्पले आफ्ना पाहुना भ्लादिमिर पुटिनलाई स्वागत गरे, तर भेटघाटको नतिजा केवल फेरि भेट्ने सहमति भयो। पुटिनले भनेझैँ, 'अर्को पटक मस्कोमा?'’

रिपोर्टमा रुसका राष्ट्रपतिले लगभग एक दशकमा पहिलोपटक अमेरिकी भूमिमा पाइला राखेको उल्लेख छ। 

अलास्काको सैन्य अड्डामा दुई नेताबीचको भेटमा रातो कार्पेट बिछ्याइएको थियो। जहाँ पुटिनलाई चारवटा अमेरिकी लडाकु विमानको सुरक्षामा ल्याइएको थियो।

न्युयोर्क टाइम्सले लेखेको छ, ‘यो मैत्रीपूर्ण स्वागतले दुई नेता रुस-युक्रेन युद्ध अन्त्य गर्न शान्ति सम्झौतामा पुग्न सक्षम हुनेछन् कि छैनन् भन्ने प्रश्नको जवाफ दिन सकेन।’

‘ट्रम्पको इशारा निरन्तर मञ्चवरिपरि, पत्रकारको भिड र अमेरिकी शक्ति प्रदर्शनतिर थियो। दुई नेता रातो कार्पेटमा हिँडिँरहँदा माथि हेर्छन्, जहाँ बी-२ स्टिल्थ बमवर्षक उडिरहेको थियो।’

तस्बिरका कारण आलोचना 
बेलायती पत्रिका द टेलिग्राफले आफ्नो वेबसाइटमा प्रकाशित रिपोर्टमा बैठकका क्रममा मिडियामा आएका केही तस्बिर आलोचनाको कारण बनेको उल्लेख गरेको छ।

पत्रिकाका अनुसार, ‘अमेरिकी सैनिकहरू पुटिनको विमानअगाडि झुकेर रातो कार्पेट ओछ्याएको देखिनु धेरै मानिसका लागि अचम्मलाग्दो दृश्य थियो।’

रिपोर्टमा यो पनि भनिएको छ, ‘सम्पूर्ण उपक्रमको अन्त्यमा पुटिनले आफूले चाहेको नतिजा पाए। उनी अमेरिकाका राष्ट्रपतिसँग हात मिलाएको तस्बिर चाहन्थे। उनी विश्वलाई देखाउन चाहन्थे कि रुस अझै पनि विश्वव्यापी राजनीतिको सबैभन्दा महत्त्वपूर्ण स्थानमा छ।’

पत्रिकाका अनुसार यदि युरोपेली नेताहरू युक्रेनलाई समर्थन गर्न असफल भए भने उनीहरूले ‘इतिहासलाई जवाफ दिनुपर्नेछ।’

कसैलाई थाहा छैन...

फ्रान्सेली पत्रिका ले मोन्डेले ट्रम्प-पुटिन बैठकलाई असफलताका रूपमा व्याख्या गरेको छ।

उसको रिपोर्टअनुसार, ‘अलास्कामा भएको बैठकबारे कसैलाई थाहा छैन- के छलफल भयो? र, कुनै सम्झौता सार्वजनिक गरिएन।’

‘अमेरिकाका राष्ट्रपति आफ्ना रुसी समकक्षीलाई दबाब दिन असफल भए र यसको सट्टा युक्रेनी र युरोपेली नेताहरूलाई समाधान खोज्न अपिल गरे।’

ट्रम्पको टिप्पणीले भ्रम सिर्जना गर्‍यो

हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टको रिपोर्टले यस बैठकपछि सिर्जना भएको भ्रमलाई जोड दिएको छ।

उसको रिपोर्टअनुसार, ‘बैठकपछि ट्रम्पको टिप्पणीले उनले अप्रत्यक्ष रूपमा रुसले कब्जा गरेको युक्रेनको क्षेत्र स्वीकार गरेको भ्रम सिर्जना गर्‍यो।’

पत्रिकाका अनुसार, ‘संयुक्त पत्रकार सम्मेलन आयोजना गरियो, तर ट्रम्प र पुटिन दुवैले ठोस परिणाम वा विवरण सार्वजनिक गरेनन्। उनीहरूले पत्रकारका प्रश्न पनि लिएनन्।’

बैठक महत्त्वपूर्ण साबित भयो’

चिनियाँ अखबार ग्लोबल टाइम्सले यसलाई प्रतीकात्मक सफलता भनेको छ।

ग्लोबल टाइम्सले लेखेको छ, ‘अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अलास्कामा लगभग तीन घण्टा भेटे, तर युक्रेन संकटबारे कुनै सम्झौता नगरी बैठक समाप्त भयो।’

ग्लोबल टाइम्सले चिनियाँ विज्ञहरूलाई उद्धृत गर्दै लेखेको छ, यो बैठकको महत्त्व प्रतीकात्मक छ।

विज्ञहरूले यो बैठकले अन्तर्राष्ट्रिय स्तरमा रुसको एक्लोपन तोडेको र थप वार्ताका लागि आधार तयार पारेको बताएका छन्। 

‘बैठक अचानक समाप्त भयो’

रुसी ट्याब्लोइड मोस्कोभस्की कोमसोमोल्ट्सको वेबसाइटमा प्रकाशित रिपोर्टले यसलाई अचानक समाप्त भएको बैठक भनेको छ।

रिपोर्टमा भनिएको छ, ‘दुई नेताले न्यानो भेट गरे तर चिसो रूपमा छुट्टिए, उनीहरूले सँगै खाना पनि खाएनन्।’

रिपोर्टअनुसार, केही मानिसले यो बैठक पूर्वनिर्धारित सम्झौता पुष्टि गर्न भएको दाबी गरेका थिए, तर त्यो केवल अनुमान मात्र ठहरिए। 

उक्त पत्रिकाका अनुसार, ‘पत्रकारहरूलाई दुवै पक्षबाट पाँच/पाँच प्रश्न लिइने वाचा गरिएको थियो, तर जब ट्रम्प र पुटिन कुनै पनि प्रश्नको जवाफ नदिई गए, धेरै पत्रकार निराश र रुष्ट भए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad