अलास्का वार्तापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशविरुद्ध आक्रमण बढाउन सक्ने आशंका गरेका छन्।
युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा शनिबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिकाको अलास्कामा भेटवार्ता भएको थियो। ठोस सहमति नभए पनि फेरि युक्रेनसहित त्रिपक्षीय बैठक हुने संकेत दुवै नेताले गरेका छन्।
यसैबीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले युक्रेनका सैन्य अड्डामा हमला बढाउन सक्ने शंका गरेका हुन्।
जेलेन्स्कीले एक्समा पोस्ट गरेका छन्, ‘युक्रेनको राजनीतिक र कूटनीतिक अवस्थाका आधारमा रुसी सेनाले युक्रेनी अड्डाहरूमा दबाब र आक्रमण बढाउन सक्ने अनुमान छ।’
उनका अनुसार युक्रेनले रुसी सेनाको अभियान र तयारीको निगरानी गरिरहेको छ र आवश्यक परे बदला लिनेछ।
यसअघि जेलेन्स्कीले अमेरिकाका राष्ट्रपति ट्रम्पसँगको कुराकानीबारे जानकारी दिएका थिए।
उनले एक्समा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पसँगको कुराकानीमा मैले भनेको छु- त्रिपक्षीय बैठक भएन वा रुसले इमान्दारीपूर्वक युद्ध अन्त्य गर्नबाट पन्छिन खोज्यो भने उसविरुद्ध प्रतिबन्ध अझ कडा पारिनुपर्छ।’
Shares

प्रतिक्रिया