रक्षा र विदेश नीतिका सवालमा अमेरिकासँग सम्बन्ध बिग्रिँदै गएपछि स्पेनले एफ–३५ लडाकु विमान नकिन्ने भएको छ। अब आफ्ना पुराना हुँदै गएका लडाकु विमानलाई युरोपमै निर्मित विमानले विस्थापित गर्ने तयारी स्पेनले अघि बढाएको छ।
यसअघि स्पेनले अमेरिकी कम्पनी लकहिड मार्टिननिर्मित एफ–३५ किन्ने अनुमान थियो। तर, पछिल्लो समय डोनाल्ड ट्रम्पको मागअनुसार स्पेनले २०३५ सम्ममा रक्षा बजेट जीडीपीको ५ प्रतिशत पुग्नेगरी बढाउन नमानेपछि अमेरिकासँग सो मुलुकको सम्बन्ध जटिल बनेको छ।
‘स्पेनका सामु वर्तमान युरोफाइटर र फ्रान्स, जर्मनी तथा युरोपले संयुक्त रुपमा विकास गरिरहेको फ्युचर कम्ब्याट एयर सिस्टम (एफसीएएस) गरी दुई विकल्प छन्,’ स्पेनको रक्षा मन्त्रालयले भनेको छ।
नेटो मुलुकमध्ये यसअघि पोर्चुगलले मात्र एफ–३५ को विकल्प खोजी गरेको थियो। बेलायतले हालै थप एफ–३५ किन्ने घोषणा गरेको छ।
स्पेनसँग एउटा पनि एफ–३५ छैन। स्पेनको यो निर्णयका लागि विपक्षी दलले रक्षामन्त्री मार्गरिटा रोबल्सलाई संसदमा आएर जवाफ दिन माग गरेको छ।
पाँचौँ पुस्ताको एफ–३५ विमान अमेरिका र उसका १९ सहयोगी मुलुकले उडाउँदै आएका छन्।
स्पेनले दुई वर्षअघि नै एयरबस, बीएई सिस्टम्स र लियोनार्डोद्वारा निर्मित २५ वटा युरोफाइटर विमान किन्ने सम्झौता गरिसकेको छ। त्यसको डेलिभरी आगामी वर्षदेखि २०३० सम्ममा हुनेछ। त्यसपछि स्पेनसँग युरोफाइटरको जम्मा संख्या ११५ पुग्नेछ।
एफसीएएस भने अहिलेसम्म सुरुवाती चरणमै छ। जुन छिटोमा २०४० मा प्रयोगमा आउनेछ। एजेन्सी
Shares

प्रतिक्रिया