ग्लोबल


विमान दुर्घटनामा बाँच्न सफल एक मात्र यात्रु भन्छन्: म कसरी जिउँदै रहेँ!

विमान दुर्घटनामा बाँच्न सफल एक मात्र यात्रु भन्छन्:  म कसरी जिउँदै रहेँ!

अहमदाबाद विमान दुर्घटनामा बाँच्न सफल एक मात्र यात्रु रमेश विश्वास कुमारलाई शुक्रबार भेट्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी।


नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १४:२६, काठमाडौँ

बिहीबार भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा बाँचेका एक मात्र यात्रु रमेश विश्वास कुमार अहमदाबादमै रहेको सिभिल अस्पतालमा उपचाररत छन्। 

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुक्रबार अस्पतालमा पुगेर उनलाई भेटेका छन्।

यसपछि रमेश विश्वासले दूरदर्शनसँग कुरा गर्दै दुर्घटनाको भयावह पीडा सुनाएका छन्।

उनका भनाइ उनकै शब्दमा...

‘आँखैअगाडि एयर होस्टेसको मृत्यु 

मेरो आँखैअगाडि सबै कुरा भयो। ...मैले विश्वासै गर्न सकिनँ कि म कसरी जिउँदै बाहिर निस्कन सकेँ। दुर्घटनापछि केही समय मलाई लाग्यो कि म पनि मर्नेछु। जब मैले आँखा खोलेँ, तबर महसुस गरेँ- म जिउँदै छु। अनि सिट बेल्ट खोलेर बाहिर निस्कने प्रयास गरेँ। एयर होस्टेस र केही काका-काकीहरू मेरा आँखैअगाडि मरे।

यस्तो लाग्यो- विमान कतै अड्कियो

उडेको १ मिनेट वा ५-१० सेकेन्डपछि विमान कतै अड्किएजस्तो लाग्यो। पछि विमानमा हरिया र सेता बत्ती बल्न थाले। अनि अचानक यसको गति बढ्यो र यो एउटा भवन (होस्टेल) मा तीव्र गतिमा ठोकियो।

त्यहाँ एउटा पर्खाल थियो, त्यसैले बाँकी यात्रु भाग्न सकेनन्

म भएको ठाउँबाट विमान जमिनतिर ठोकियो। त्यहाँ थोरै ठाउँ थियो। म भएको ठाउँमा विमानको ढोका फुट्यो। त्यहाँ केही ठाउँ बन्यो। म बाहिर निस्कन खोजेँ र सफल पनि भएँ। विमानभित्र मेराविपरीत जो मानिसहरू बसिरहेका थिए, विमान दुर्घटना भएपछि भवनको भित्ता उनीहरूतिर आयो, सायद त्यसैले उनीहरू बाहिर निस्कन सकेनन्। ...जब भीषण आगलागी भयो, मेरो एउटा हात पनि जल्यो। त्यसपछि म केही टाढा भागेँ। अनि मैले एम्बुलेन्स पाएँ र अस्पताल पुग्न सकेँ।

बिहीबार अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको उडान नम्बर एआई-१७१ मा रमेश सिट ११ ए मा बसिरहेका थिए। रमेश ४० वर्षका छन् र उनी भारतीय मूलका बेलायती नागरिक हुन्। 

विमान दुर्घटना भएको भोलिपल्ट शुक्रबार प्रधानमन्त्री मोदी दुर्घटनास्थल अहमदाबाद अवलोकन गर्न गएका थिए। त्यसपछि उनी सिभिल अस्पतालमा घाइते रमेश विश्वासलाई भेट्न पुगेका थिए। यस क्रममा मोदीले रमेशको अवस्थाबारे सोधपुछ गरे। 

बिहीबार दिउँसो अहमदाबादबाट लन्डनका लागि उडेको केही बेरमै एयर इन्डियाको बोइङ ७८७-८ मोडेलको विमान खसेको थियो। विमानमा चालक दलका १२ सदस्यसहित जम्मा २४२ जना थिए। तीमध्ये २४१ जनाको मृत्यु भए पनि रमेश भने बाँच्न सफल भएका हुन्।

त्यसो त दुर्घटनामा विमानबाहिरका मानिसहरूको पनि मृत्यु भएको खबर आइरहेको छ। अहिलेसम्म दुर्घटनास्थलबाट २६६ शव निकालिएकाे भनेर भारतीय सञ्चारमाध्यमले उल्लेख गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad