भारतीय प्रान्त मध्य प्रदेशको इन्दौरबाट हनिमुन मनाउन भनेर भारतकै अर्को प्रदेश मेघालय पुगेको नवविवाहित जोडीको दर्दनाक घटनामा अर्को सनसनीपूर्ण खुलासा भएको छ।
भारतीय सञ्चारमाध्यका अनुसार इन्दौरवासी राजा रघुवंशीको हत्या आरोपमा उनकै नवविवाहित पत्नी सोनमपछि उनका प्रेमी राज कुशवाहालाई पनि मेघालय प्रहरीले पक्रेको हो।
त्यसो त यो हत्याकाण्डमा प्रहरीले कुशवाहासहित अन्य तीन जना विक्की ठाकुर, आनन्द र आकाशलाई पनि गिरफ्तार गरेको छ। नवविवाहित युवती सोनमसमेत पक्राउ पर्नेको संख्या ५ पुगेको छ।
पति राजा हत्याको षड्यन्त्र सोनमले रचेको दाबी प्रहरीले गरेको छ। हनिमनुको बहानामा उनले प्रेमीसँग मिलेर मध्य प्रदेशका ३ जनालाई भाडामा लिएर आफ्ना पतिको हत्या गराएको आरोप छ।
सोधपुछका क्रममा सोनम रघुवंशीले राज कुशवाहासँग आफ्नो पहिलेदेखि प्रेम सम्बन्ध रहेको बयान दिएकी छन्। राज कुशवाहा नै हत्याका मुख्य योजनाकार भएको दाबी मेघालय प्रहरीले गरेको छ।
प्रहरी अनुसन्धानमा राज कुशवाहा पनि मध्य प्रदेशकै बासिन्दा भएको खुलेको छ।
भाडाका मानिसबाट राजा रघुवंशीको हत्या गराएपछि सोनम र उनका प्रेमी राज भागेर उत्तर प्रदेशको गाजीपुर पुगेको र त्यही क्रममा प्रहरीले पक्राउ गरेको बताइएको छ।
गत मे ११ मा मा विवाह गरेका राजा र सोनम मे २० मा हनिमुन मनाउन भनेर इन्दौरस्थित घरबाट मेघालय प्रस्थान गरेका थिए।
तर मे २३ देखि उनीहरू एकाएक परिवारसँग सम्पर्कविहीन भए। प्रहरीलाई खबर भएपछि खोजीका क्रममा जुन २ तारिखका दिन २९ वर्षीय राजा रघुवंशी मेघालयस्थित पूर्वी खासी पहाडको वेसाडोङ फल्सनजिकै १५० फिट गहिरो खोँचमा मृत भेटिए।
तर सोनम बेपत्ता थिइन्।
अन्तत: १७ दिनपछि उनी उत्तर प्रदेशको गाजीपुरमा फेला परिन्। अहिले हत्या आरोपमा प्रहरीको नियन्त्रणमा छिन्।
Shares

प्रतिक्रिया