भारतीय तटरक्षक (आईसीजी) ले अरब सागरमा डुबेको लाइबेरियाको कार्गो जहाज एमएससी ईएलएसए-३ बाट अबदेखि तेल चुहावट नियन्त्रण गरिएको बताएको छ।
कोच्ची तटनजिकै लाइबेरियाली झण्डा भएको जहाज पल्टिएर तेल चुहिन थालेपछि भारतको केरला सरकारले चेतावनी जारी गर्दै मानिसहरूलाई त्यस नजिक नजान भनेको थियो।
आईसीजी कोच्चीका प्रवक्ता कमान्डर अतुल पिल्लईले बीबीसी हिन्दीसँग भनेका छन्, ‘आईसीजीले तेल चुहावट केरलाको तटसम्म नपुगोस् भन्ने कुरा सुनिश्चित गरेको छ। अब यो केही ठाउँमा मात्र देखिएको छ।’
दुई दिनअघि उक्त कन्टेनर जहाज अबर सागरमा पल्टिएको हो। त्यसपछि तेल चुहिएर परपरसम्म फैलिइरहेको थियो।
भारतीय राष्ट्रिय महासागर सूचना सेवा केन्द्रका निर्देशक डा. बालकृष्णन नायरले भनेका छन्, ‘तेल चुहावट अब कम भएको छ र यसको निशान दक्षिण-पूर्वी दिशामा गइरहेको छ। समुद्रमा छाल उठ्दा तेल छिट्टै फैलिन्छ। अब यो तटीय क्षेत्रसम्म पुग्न सक्दैन।’
यद्यपि समुद्रमा तैरिरहेका कन्टेनरको समस्या अझै उस्तै छ। लगभग ३५ वटा कन्टेनर किनारमा पुगेका छन्, जसमध्ये केही खुला पनि भेटिएका छन्।
डा. नायर भन्छन्, ‘केही कन्टेनर कोल्लम र तिरुवनन्तपुरम पुगेका छन्। एउटा कन्टेनरमा केही सेतो झोला भेटिएका थिए।’
तर क्याल्सियम कार्बाइडजस्ता खतरनाक रसायन भएका कन्टेनर अझै फेला परेका छैनन्।
उक्त जहाजमा जम्मा ६४३ कन्टेनर थिए, जसमध्ये ७३ वटा खाली थिए। कन्टेनरमध्ये १३ वटामा क्याल्सियम कार्बाइड थियो, जुन एसिटिलीन ग्यास निस्कने रसायन हो। साथै जहाजमा ८४.४४ मेट्रिक टन डिजेल र ३६७.१ मेट्रिक टन फर्नेस तेल पनि थियो।
केरला सरकारले सबै जिल्लामा मानिसहरूलाई समुद्रबाट बगेका कुनै पनि सामानको नजिक नजान चेतावनी जारी गरेको छ।
Shares

प्रतिक्रिया