६ वर्षअघि भारत र पाकिस्तानबीच सैन्य टकराव उत्पन्न हुँदा अमेरिकी अधिकारीहरू निकै चिन्तित भएका थिए। मध्यरातमा विदेशमन्त्री माइक पोम्पेओलाई ब्युँझाएर सो खबर दिइएको थियो। त्यसपछि आफूले दुवै पक्षलाई फोन गरेर अर्को पक्ष आणविक युद्धको तयारीमा नरहेको भन्दै विश्वस्त तुल्याउनुपरेको पोम्पेओले आफ्नो संस्मरणमा लेखेका छन्।
र, त्यो झडप तुरुन्तै सेलायो पनि। तर, यसपालि फेरि कस्मिरमा आतंकवादी हमलापछि यी दुई मुलुकबीच सैन्य टकराव निम्तिएको छ। यसपालि उनीहरूबीच नयाँ अनिश्चितता देखिन्छ। किनभने यी दुई देशको सैन्य गठबन्धन यो ६ वर्षको बीचमा बदलिएको छ।
यसलाई भारत र पाकिस्तानले हतियार किन्ने प्रवृत्तिमा आएको परिवर्तनले राम्ररी देखाउँछ।
परम्परागत रूपमा असंलग्न भारत पहिले अमेरिकासँग नजिकिन हिच्किचाउँथ्यो। तर, अहिले उसले अमेरिका र अन्य पश्चिमा मुलुकबाट अर्बौं डलरको हतियार किन्न थालेको छ। त्यसैगरी भारतले शीतयुद्धकालीन सहयोगी रुसबाट सस्ता हतियार खरिद ह्वात्तै घटाएको छ।
पाकिस्तानले चाहिँ अमेरिकाबाट हतियार किन्न छाडेको छ। किनकि अफगानिस्तान युद्ध सकिएसँगै वासिङ्टनका लागि पाकिस्तानको सान्दर्भिकता सकिएको छ। त्यसको सट्टा पाकिस्तान आफ्नो बहुसंख्यक हतियार खरिदका लागि चीनतर्फ सोझिएको छ।
हतियार खरिदको यही सम्बन्धले दक्षिण एसियाको सबैभन्दा पुरानो द्वन्द्वमा महाशक्ति मुलुकहरूको राजनीतिलाई घुसाएको छ।
अमेरिकाले चीनलाई टक्कर दिन भारतलाई साझेदारका रूपमा स्थापित गर्दै लगेको छ। अर्कोतिर चीनले पाकिस्तानमा लगानी बढाउनुका साथै भारत अमेरिकातिर नजिकिँदा पाकिस्तानको संरक्षण र वकालतको जिम्मा पनि लिएको छ।
पछिल्लो दशक भारत र चीनको सम्बन्ध राम्रो छैन भने दुई महाशक्ति अमेरिका र चीनको सम्बन्ध पनि डोनाल्ड ट्रम्पले व्यापार युद्ध सुरु गरेपछि सबैभन्दा तल्लो विन्दुमा छ।
यस्तो छ्यासमिसले विश्व व्यवस्था भत्किँदै जाँदा गठबन्धनहरू कति जटिल र भद्रगोल भएका छन् भन्ने देखाउँछ।
‘अहिले भारतको सुरक्षा स्वार्थको केन्द्रमा अमेरिका छ। पाकिस्तानका लागि चीनले पनि उस्तै भूमिका निर्वाह गर्छ,’ पूर्वकूटनीतिज्ञ तथा कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेसनल पिसका अध्येता एस्ली टेलिस भन्छन्।
त्यसैले पाकिस्तानविरुद्ध सैन्य कारबाही गरिरहँदा यतिखेर भारतको पक्षमा अमेरिका बलियोगरी उभिएको छ। कस्मिरको आतंकवादी हमलालगत्तै मोदीले ट्रम्प र जेडी भान्ससँग कुरा गरेका थिए।
शक्ति सम्बन्ध बदलिँदै छ भन्ने कुराको अर्को बलियो संकेत हुन् भ्लादिमिर पुटिन। पहलगाम हमलालगत्तै दर्जन बढी विश्वका नेताले मोदीलाई फोन गरे। तिनमा पुटिनको नाम थिएन। त्यतिबेला रुस र भारतका विदेशमन्त्रीबीच कुरा भयो, मोदी र पुटिनबीच यो साता मात्रै कुरा भएको अधिकारीहरू बताउँछन्।
चीन भने पाकिस्तानको पक्षमा उभिँदै आएको छ।

‘भविष्यमा भारत र पाकिस्तानबीचको लडाइँ कस्तो होला भन्ने सोच्दा के देखिन्छ भने भारतले अमेरिकी र युरोपेली हतियारको साथमा लड्नेछ अनि पाकिस्तानले चिनियाँ हतियारको भरमा,’ अमेरिकी रक्षा मन्त्रालयका पूर्वअधिकारी लिन्ड्सी फोर्ड भन्छन्, ‘पछिल्लो दशकमा उनीहरूबीच बलियो सुरक्षा साझेदारी विकास भएको छ।’
शीतयुद्धमा भारत रुसनजिक थियो। भारतको दुई तिहाइ हतियार मस्कोले उपलब्ध गराउँथ्यो। २००६ देखि २०१० सम्म भारतका प्रमुख हतियारमध्ये ८० प्रतिशत रुसले दिन्थ्यो। पछिल्लो चार वर्षमा यो ३८ प्रतिशतमा झरेको छ। आधाभन्दा बढी हतियार अमेरिका, फ्रान्स र इजरायलबाट आउँछ।
पाकिस्तानको भने अमेरिकासँग १९८० को दशकमा राम्रो सम्बन्ध बनायो। जसका कारणले उसले एफ–१६ लडाकु विमान किन्ने सम्झौता पनि गर्यो।
तर, आणविक हतियार परीक्षण गरेपछि भारत र पाकिस्तान दुवैलाई १९९० को दशकमा अमेरिकाले प्रतिबन्ध लगायो। पाकिस्तानले पैसा तिरिसकेको लडाकु विमान समेत पाएन।
सेप्टेम्बर ११ को आतंकवादी हमलापछि भने अमेरिका फेरि पाकिस्तानसँग नजिकियो। अफगानिस्तान युद्धको दौरान अमेरिकाले अर्बौं डलरको हतियार पाकिस्तानलाई दियो र उसको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता बन्यो। त्यतिबेला पाकिस्तानको हतियारमध्ये मात्र ३८ प्रतिशत आपूर्ति गर्ने चीनले पछिल्लो चार वर्षमा ८० प्रतिशत हतियार दिँदै आएको छ।
अपवादको रूपमा पाकिस्तानको एफ–१६ लडाकु विमान छ। गत दुई दशकमा पाकिस्तानले यसको संख्या वृद्धि गरेको छ।
२०१९ मा भारतको रुसमा निर्मित विमान खसाउन पाकिस्तानले अमेरिकामा निर्मित एफ–१६ प्रयोग गरेको थियो। यसपटक उसले चिनियाँ विमानबाट हतियार प्रहार गरी फ्रान्समा निर्मित भारतको राफेल विमान खसाएको बताएको छ।
२०१९ यता भारतले सैन्य अधुनिकीकरणमा अर्बौं डलर खर्चिसकेको छ। एजेन्सी
Shares

प्रतिक्रिया