भारतस्थित दिल्ली-एनसीआर, उत्तर प्रदेश र छत्तीसगढमा बिहीबार राति आँधीबेहरी, वर्षा र चट्याङका कारण १० जनाको मृत्यु भएको छ।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार दिल्ली र उत्तर प्रदेशमा ४-४ जना र छत्तीसगढमा २ जनाको मृत्यु भएको हो।
दिल्ली-एनसीआरमा अझै पनि धुलोयुक्त भीषण आँधी चलिरहेको छ। यहाँका तल्लो भेगमा पानी जमेको छ।
दिल्ली विमानस्थलबाट १०० भन्दा बढी उडान ढिलाइ भएका छन्। ३ उडान डाइभर्ट गर्नुपरेको छ।
भारतीय मौसम विभागले आज राजस्थानका ३० जिल्लामा आँधीबेहरी र वर्षाको चेतावनी जारी गरेको छ।
यसअघि बिहीबार जयपुर, जैसलमेर, भिलवारा र पालीमा धेरै ठाउँमा मेघगर्जन र असिनासहित वर्षा भएको थियो।
मौसम विभागका अनुसार शुक्रबार मध्य प्रदेश, छत्तीसगढ, उत्तराखण्ड, ओडिसा, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरामा असिना पर्न सक्छ।
यस्तै राजस्थान, हरियाणा, चण्डीगढ, दिल्ली र पञ्जाबमा धुलोयुक्त आँधी आउने अनुमान भारतको मौसम विभागले गरेको छ।
Shares

प्रतिक्रिया