आफ्नो कम्पनी टेस्लाको नाफा स्वात्तै घटेपछि इलोन मस्कले सरकारमा आफ्नो भूमिका निकै घटाउने बताएका छन्।
‘अर्को महिनादेखि म टेस्लालाई अहिलेभन्दा निकै ज्यादा समय छुट्याउने छु,’ मस्कले भनेका छन्।
डोनाल्ड ट्रम्पले उनलाई सरकारी खर्च कटौतीका लागि डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी (डोज)को प्रमुख बनाएका थिए। यद्यपि, आफूले सरकार पूर्ण रुपमा नछाड्ने उनले जनाएका छन्।
उनको घोषणालगत्तै टेस्लाको सेयर मूल्यमा ८ प्रतिशत वृद्धि भएको छ।
उनी खर्च कटौती गर्ने सल्लाहकार एजेन्सीको प्रमुख बनेपछि सरकार विश्वकै धनी व्यक्तिका सामु सरकार झुकेको आरोप समेत लागेको थियो। मस्कले चुनावी अभियानमा ट्रम्पका लागि करोडौँ डलर लगानी गरेका थिए। सम्भवतः नियामक निकायहरू र प्रमुख मन्त्रालयमा पहुँच हुँदा व्यापारिक फाइदा हुने उनको अड्कल थियो।
तर, ट्रम्पसँगको निकटताका कारण उनले फाइदा मात्र होइन, केही हदसम्म घाटा पनि बेहोर्नुपरेको छ। टेस्लाको ब्रान्ड ट्रम्पको छविसँग छोडिन पुगेको छ भने चीनविरुद्ध ट्रम्पले लगाएको भारी करका कारण टेस्लाको आपूर्ति शृंखलामा गडबडी आएको छ। यो वर्षको पहिलो त्रैमासमा टेस्लाको नाफामा ठूलो गिरावट देखिएको छ।
गतवर्षभन्दा ३९ प्रतिशतले आम्दानी घट्दा खुद नाफामा ७१ प्रतिशतको गिरावट आएको छ। एजेन्सी
Shares

प्रतिक्रिया