संयुक्त राज्य अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे अत्यन्त संवेदनशील वार्ता शनिबार ओमानको राजधानी मस्कटमा सुरु भएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता सफल नभए सैनिक कारबाही हुन सक्ने चेतावनी दिएका छन्।
यो वार्ता सन् २०१८ मा राष्ट्रपति ट्रम्पले इरानसँगको अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि दुई देशबीचको सबैभन्दा उच्चस्तरीय संवाद हो।
वार्तामा अमेरिकातर्फबाट विशेष दूत स्टिभ विटकोफ र इरानतर्फबाट विदेशमन्त्री अब्बास अराघ्चीले नेतृत्व गरेका छन्।
वार्ता सुरु हुनु केही घण्टाअघि राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग भने, ‘म चाहन्छु इरान समृद्ध र सुखी देश बनोस्, तर त्यसले कहिल्यै आणविक हतियार नबनाओस्।’
इरानका सर्वोच्च नेता अयातोल्ला खामेनेईका सल्लाहकार अली शामखानीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘हामी एक वास्तविक र न्यायोचित सम्झौता खोजिरहेका छौँ। यदि अमेरिकाले सद्भाव देखायो भने वार्ता सफल हुन सक्नेछ।’
२०१५ मा इरान र अमेरिकासहित ६ विश्वव्यापी शक्तिबीच संयुक्त व्यापक कार्ययोजना (जेसीपीओए) सम्झौता भएको थियो।
तर डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा २०१८ मा इरानसँगको आणविक सम्झौताबाट अमेरिकालाई फिर्ता लिए र इरानविरुद्ध अमेरिकी प्रतिबन्ध पुन: लागू गरे।
Shares

प्रतिक्रिया