ad ad

ग्लोबल


अष्ट्रेलियामा ८ नेपालीलाई कोरोना संक्रमण

अष्ट्रेलियामा ८ नेपालीलाई कोरोना संक्रमण

नेपालखबर
चैत १७, २०७६ सोमबार ७:३९,

अष्ट्रेलियामा आठ जना नेपाली कोरोना भाइरस (कोभिड—१९) बाट संक्रमित भएका छन्। क्यानबेरास्थित नेपाली दूतावासका अनुसार संक्रमितमध्ये ६ जना विद्यार्थी हुन्।

सबैभन्दा धेरै नेपाली न्यु साउथ वेल्स स्टेट (एनएसडब्लु) मा ४ जना संक्रमित देखिएका छन्। यो अष्ट्रेलियाको सबैभन्दा जनघनत्व भएको स्टेट हो। एनएसडब्लुको सिड्नी सहरमा ४ नेपाली विद्यार्थीलाई संक्रमण देखिएको दूतावासले जनाएको छ।

भिक्टोरियामा तीन नेपाली संक्रमित देखिएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ। भिक्टोरियाको मेलबर्न सहरमा कोरोना संक्रमण देखिएका २ जना दिदी बहिनी हुन्। उनीहरु आफ्नै निवासमा सेल्फ क्वारेन्टिनमा बसिरहेका छन्। दक्षिणपूर्वी अष्ट्रेलियाको भिक्टोरिया स्टेट न्यु साउथ वेल्सपछि दोस्रो धेरै जनसंख्या भएको स्टेट हो। त्यहाँ नेपाली विद्यार्थीको घनत्व बाक्लै छ।

तासमेनियामा एक जना नेपाली विद्यार्थीमा केही अघि कोरोना संक्रमण देखिएको थियो। कोरोना लक्षण देखिनासाथ आइसोलेसनमा बसी उपचार गरेका उनी हाल निको भइसकेको नेपाली दूतावासले जनाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अष्ट्रेलियामा हालसम्म ४ हजार १९१ जना कोरोना भाइरस (कोभिड—१९)बाट संक्रमित छन्। १८ जनाको मृत्यु भएको छ।

नेपाल फर्किन चाहन्छन्  नेपाली
‘कोरोना प्रभावित नेपाली विद्यार्थी/समुदायको समस्या सम्बोधन गर्न एवं अति आवश्यक सहयोग उपलब्ध गराउन हामीले अष्ट्रेलिया सरकारको सरोकारवाला निकायसँग यो विषयमा सञ्चार गरेका छौं’, दूतावासद्वारा जारी सूचनामा भनिएको छ।

अष्ट्रेलियाली सहरहरुमा कोरोना संक्रमण तीब्र रूपमा फैलिँदै गएपछि केही नेपाली (विद्यार्थी पनि) ले अष्ट्रेलिया छोडेर नेपाल फर्किन चाहेका छन्। ‘यहाँको अप्ठ्यारो अवस्थाका कारण केही विद्यार्थी उद्धार भएर नेपाल फर्किन चाहने छन्। केहीले त्यसको प्रक्रियाबारे सोधखोज गरेका छन्’, दूतावासले भनेको छ, ‘उनीहरुलाई सकेसम्म छिटो नेपाल फर्काउन काम गरिरहेका छौं।’

नेपाल सरकारले देश बाहिर रहेका नेपालीलाई जो जहाँ छ त्यहीँ सुरक्षा सावधानी अपनाएर बस्न आह्वान गरिरहेको छ। सो निर्णय परिवर्तन भए अष्ट्रेलियाबाट नेपालीको उद्धार हुन सम्भव छ। अप्रिल १ मा नेपालमा रहेका अष्ट्रेलियाली नागरिक बोकेर नेपाल एयरलाइन्सको वाइडबडी जहाज ब्रिस्बेन वा सिड्नी उड्दैछ। स्वदेश फर्किंदा सो जहाजले नेपालीलाई लिएर आउँछ वा रित्तै फर्किन्छ त्यो यकिन छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .