ad ad

समाज


जनकपुरमा आज चैती छठ, लकडाउनको कारण घरघरमै मनाइँदै

जनकपुरमा आज चैती छठ, लकडाउनको कारण घरघरमै मनाइँदै

शैलेन्द्र महतो
चैत १७, २०७६ सोमबार ७:१३,

जनकपुर लगायत मिथिलाञ्चलमा आज चैते छठपर्व श्रद्धापूर्वक मनाइँदै छ। शनिबारदेखि सुरु भएको चैती छठको तेश्रो दिन आज मुख्यदिन हो।

आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भने भोली बिहान मंगलबार बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ।

अन्य वर्षमा जनकपुरधामको सरोवर किनारहरुमा हर्साेल्लासपूर्वक मनाइने छठपर्व यसवर्ष लकडाउनको कारण प्रभावित भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सूचना जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणबाट बच्नको लागि नेपाल सरकारले लागु गरेको लकडाउनमा कुनैपनि सार्वजनिक स्थान वा फोखरीमा नमनाउन आग्रह गरेको छ।

janakpur chaiti

धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जारी गरेको उक्त विज्ञप्तीमा चैती छठ पूजामा पर्न गएको पीडाप्रति क्षमा समेत मागिएको छ।

चैती छठमा जनकपुरधामको सरोवर तथा पोखरी किनारहरुमा विशेष धुमधाम र चहलपहल हुने गर्छ। कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनको पालना गरी सवैको रक्षाको निम्ति यसवर्ष चैती छठ घरघरमै मनाउन लागेको चैतीछठ गर्दै आएका नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष उमेश साहले बताए।

‘हाम्रै निम्ति सरकारले लकडाउन गरेको छ। त्यसैले हामीले आफ्नो परम्परा र संकृतिलाई घरमै मनाएर लकडाउनको पालना गर्छाै। लकडाउनको कारण हामीले पोखरीमा मनाउन नपाएकोमा दुखी छैनौ। कोरोनाबाट हाम्रो ज्यान जोगिए अर्काे वर्ष फेरी धुमधामले मनाउने छौं,’ उनले भने।

कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यामा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ। चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ।

खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसी साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन। प्रसादमा खीर, केरा, दुध एवं विभिन्न प्रकारको फलफुल चढाइन्छ।

अस्ताउँदो र उदाउँदो सूर्य अर्थात् आदिदेव दिनानाथलाई अर्घमा मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ।

janakpur chaiti 2

चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने तथा चर्मरोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जनविश्वास छ।

पर्वको तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्छन्।

त्यसक्रममा सूर्य अस्ताउनु एक घण्टापूर्व देखिनै ब्रतालुहरु जलासयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन्। रात भरि ब्रतालुहरु जागरण बसि भोलीपल्ट चैत्र शुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .