फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुसले युक्रेनसँग शान्ति सम्झौता गर्न अस्वीकार गरे कडा कदम चाल्ने चेतावनी दिएका छन्।
उनले अमेरिका र युरोपले शान्ति स्थापनाका पक्षमा प्रयास गरिरहेका बेला रुसले भने युक्रेनमा आक्रमण गरी बालबालिका र सर्वसाधारण मारिरहेको टिप्पणी गरेका छन्।
यही अप्रिल ४ मा मात्र रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहसहर क्रिभी रिहमा मिसाइल आक्रमण गर्दा ९ बालबालिकासहित २० जना सर्वसाधारण मारिएका थिए।
'हामी शान्ति स्थापना गर्न खोज्दै छौँ। रुस भने सर्वसाधारण मारिरहेको छ', फ्रान्सका राष्ट्रपति म्याक्राेनले एक्समा लेखेका छन्, ' यो युद्ध चाँडै रोकिनुपर्छ। रुसले नमाने कडा कदम चाल्नुपर्छ।'
तर कडा कदम भन्नाले के भन्ने विषयमा उनले खुलाएका छैनन्।
रुस-युक्रेन युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेको अमेरिकाले सुरुमा ३० दिन युद्धविराम गर्न प्रस्ताव गरेको थियो।
तर यसमा युक्रेन सहमत भए पनि रुस राजी भएन।
रुस केवल युक्रेनका ऊर्जा संरचनामा हमला नगर्न मात्रै सहमत भएको छ। जसले गर्दा युद्धविराम हुन सकेको छैन।
Shares

प्रतिक्रिया