ग्लोबल


दिल्लीले स्वागत नगरेपछि बेइजिङ पुगेका युनुसले टिस्टा परियोजनामा भारतलाई दिए झट्का

दिल्लीले स्वागत नगरेपछि बेइजिङ पुगेका युनुसले टिस्टा परियोजनामा भारतलाई दिए झट्का

नेपालखबर
चैत १७, २०८१ आइतबार २१:५४,

बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले चिनियाँ कम्पनीहरूलाई टिस्टा परियोजनामा सामेल हुन निम्ता दिएका छन्। यसलाई भारतका लागि ठूलो धक्काको रुपमा हेरिएको छ। 

मार्च २६ देखि २९ सम्म चीनको भ्रमण गरेका युनुसले चीनसँग महत्त्वपूर्ण सम्झौताहरू गरेका छन्। बोआओ फोरमपछि बेइजिङ पुगेका उनले बीआरआई अघि बढाउने सहमति पनि गरेका छन्।

शुक्रबार राष्ट्रपति सी चिनफिङसँगको उनको भेट सफल भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।

उनले टिस्टा परियोजनामा चिनियाँ कम्पनीहरूलाई निम्त्याएको तथा ब्रह्मपुत्र नदीको जलस्रोतबारे सूचना आदानप्रदान गर्ने सहमति पनि गरेको संयुक्त वक्तव्यमा बताइएको छ। 

युनुस चीनभन्दा पहिले भारत भ्रमणमा जान चाहन्थे। तर, भारतले सकारात्मक जवाफ नदिएको बंगलादेशी अधिकारीहरूले बताएका छन्। 

‘हामीले इच्छा प्रकट गरेका थियौँ र चीन भ्रमणलाई अन्तिम स्वरुप दिनुभन्दा हप्तौँअघि युनुसले द्विपक्षीय भ्रमणका लागि डिसेम्बरमै भारतीय पक्षसँग सोध्नुभएको थियो। दुर्भाग्यले हामीलाई सकारात्मक जवाफ प्राप्त भएन,’ युनुसका प्रेस सचिव शफिकुल आलमले भनेका छन्।

भारतीय पक्षले स्वागत नगरेपछि चीन पुगेका युनुसले भारतलाई झट्का दिनेगरी सम्झौता गरेका हुन्। किनकि टिस्टा भारतसँग जोडिएको परियोजना हो। वास्तवमा यो परियोजना भारत र बंगलादेशबीचको प्रमुख मुद्दा रहँदै आएको छ। 

प्रधानमन्त्री मनमोहन सिंहको पालादेखि नै यो मुद्दा सल्ट्याउने प्रयास हुँदै आएको छ। तर, गत अगस्टमा शेख हसिनाको शासन ढलेपछि दुई देशबीच तिक्तता बढेको छ।

त्यसअघि जुन २०२४ मा हसिना चीन भ्रमणमा गएकी थिइन्। हसिना भ्रमणमा आफ्नो उदेश्य पूरा गर्न असफल भएको विश्लेषण गरिएको थियो। उनले चीनसँग ठूलो मात्रामा ऋण माग्ने बताएकी थिइन्। तर, चीनले त्यसमा सकारात्मक जवाफ दिएको थिएन र हसिना भ्रमण छोट्याएर फर्केकी थिइन्।

एक अर्ब डलरको टिस्टा परियोजनामा भारतको सुरक्षा चासो जोडिएको छ। किनकि यो दुई देशबीचको जलस्रोत बाँडफाँटको कुरा वर्षौंदेखि अड्किएको छ। ४१४ किलोमिटर लामो टिस्टा नदी भारतबाट बंगलादेशतर्फ बग्छ। बंगलादेशले यो नदीमा एउटा ब्यारेज बनाएर कटान रोक्ने योजना तयार गरेको छ। 

यसले तटीय क्षेत्रमा बसोबास गर्नेहरूको कठिनाइ कम गर्ने छ। २०११ मा ढाका भ्रमणका बेला तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले टिस्टा सम्झौतामा हस्ताक्षर गर्ने तयारी थियो। तर, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको विरोधका कारण रोकिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad