अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। उनले रुस र युक्रेनलाई तत्काल वार्तामा बस्न पनि आह्वान गरेका छन्।
युद्धविरामको सहमति नहुञ्जेल प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको उनले बताएका छन्।
‘रुसले अहिले लडाइँको मैदानमा युक्रेनलाई नराम्ररी प्रहार गरिरहेको तथ्यका आधारमा युद्धविराम र अन्तिम शान्ति सम्झौतामा नपुगुञ्जेलसम्मका लागि म रुसमाथि ठूलो ब्यांकिङ प्रतिबन्ध र भन्सार शुल्क लगाउने विषयमा विचार गरिरहेको छु,’ ट्रम्पले ट्रुथ सामाजिक सञ्जालमा लेखेका छन्।
‘रुस र युक्रेन अहिल्यै वार्तामा बसिहाल, नत्र ढिला होला। धन्यवाद!’ ट्रम्पले लेखेका छन्।
उसो त पश्चिमा मुलुकहरूले रुसमाथि २१ हजारभन्दा ज्यादा प्रतिबन्धहरू लगाएका छन्। तर, त्यसले उनीहरूले सोचेजति रुसी अर्थतन्त्रमा क्षति गर्न सकेको छैन।
केही दिनयता अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य तथा गुप्तचर सूचना रोकेको छ। जसका कारण युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की अमेरिकालाई फकाउने कोसिसमा छन्। एजेन्सी
Shares

प्रतिक्रिया