ग्लोबल


हरियाणा घटना: फेसबुकबाट सुरु भएको सम्बन्ध हत्यामा पुगेर टुंगियो

कंग्रेसकी युवा नेतृ हिमानीको हत्याले हरियाणामा हलचल
हरियाणा घटना: फेसबुकबाट सुरु भएको सम्बन्ध हत्यामा पुगेर टुंगियो

भारतीय कंग्रेस नेतृ हिमानी नरवाल र अभियुक्त सचिन


नेपालखबर
फागुन २०, २०८१ मंगलबार १२:४३, काठमाडौँ

भारतीय राज्य हरियाणाको रोहतक जिल्लामा युवा कंग्रेस नेतृ हिमानी नरवालको हत्याले राज्यलाई नै हल्लाएको छ। प्रहरीले हत्याको ३६ घण्टाभित्र आरोपित सचिनलाई दिल्लीबाट पक्राउ गर्‍यो। जो झज्जरको बहादुरगढमा मोबाइल मर्मत पसल चलाउँछन् र दुई बच्चाका बुबा हुन्। 

सामाजिक सञ्जालमा भएको मित्रताका कारण सचिन हिमानीको घरमा आइरहन्थे। प्रहरी सोधपुछका क्रममा सचिनले चकित पार्ने कुराहरू भनेका छन्।

उनले हिमानीले शारीरिक सम्बन्धपछि ब्ल्याकमेल गरेको र लाखौँ रुपैयाँ असुलेको दाबी गरेका छन्। 

कथा फेसबुक मित्रताबाट सुरु हुन्छ...
सचिन र हिमानीबीच डेढ वर्षअघि फेसबुकमा भेट भएको थियो। यो मित्रता बिस्तारै यति गहिरो हुँदै गयो कि सचिन हिमानीको घरमा नियमित पाहुना बन्न थाले। उनी प्रायः रोहतकको विजय नगरमा रहेको हिमानीको घरमा बस्न थाले। 

यसै क्रममा सचिन यही फेब्रुअरी २७ राति ९ बजे हिमानीको घर गए र रातभर बसे। तर भोलिपल्ट फेब्रुअरी २८ मादिनभर कुनै कुरामा उनीहरूबीच चर्को विवाद भयो। झगडाको कारण अझै स्पष्ट भएको छैन, तर सचिनले यसलाई ब्ल्याकमेलिङ भनी दाबी गरेका छन्।

हत्याको भयानक रात
प्रहरीका अनुसार फेब्रुअरी २८ का दिन दिउँसो सुरु भएको विवाद यति बढ्यो कि सचिनले रिसाएर हिमानीलाई दुपट्टाले बाँधेर मोबाइल चार्जरको तारले घाँटी कसेर मारे। झगडाका क्रममा सचिनको हातमा चोट लाग्यो र रगत हिमानीको सिरकमा लाग्यो। यसपछि प्रमाण नष्ट गर्न उनले सिरकको खोल हटाए र हिमानीको शवसँगै सुटकेसमा प्याक गरे। यसपछि सचिनले हिमानीका औँठी, सुनको चेन, मोबाइल, ल्यापटप र अन्य गहना झोलामा राखे र हिमानीको स्कुटी लिएर आफ्नो गाउँ बहादुरगढ गए।

फेरि राति फर्के 
तर शव लुकाउने योजना बनाएर सचिन त्यही रात १० बजे फेरि हिमानीको घर फर्किए। घर बाहिर स्कुटर पार्क गरे। त्यसपछि उनले एउटा अटो भाडामा लिए र सुटकेसमा रहेको हिमानीको शव लिएर साम्पला क्षेत्रमा पुगे। राति १० देखि ११ बजेको बीचमा उनले साम्पला बसस्ट्यान्डनजिकै सुटकेस फ्याँके र बस चढेर भागे। मार्च १ को बिहान बटुवाहरूले सुटकेस देखे र प्रहरीलाई खबर गरे। प्रहरीले खोलेर हेर्दा भारतीय कंग्रेसकी युवा नेतृ हिमानी नरवालको शव भेटियो। 

ब्ल्याकमेलिङ दाबी
प्रहरीसँगको बयानमा सचिनले हिमानीसँग आफ्नो सम्बन्ध रहेको दाबी गरेका छन्। उनको दाबीअनुसार हिमानीले उनीबाट लाखौँ रुपैयाँ लिएको र थप पैसाका लागि ब्ल्याकमेल गरिरहेकी थिइन्। अनि दिक्क भएर आफूले हत्याको योजना बनाएको सचिनले बताउका छन्। तर यो कुरा कत्तिको सत्य हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुई जनाबीच झगडाको सही कारण अझै थाहा हुन नसकेको प्रहरीको भनाइ छ।

हिमानीकी आमा सविताले हत्यारालाई मृत्युदण्डको माग गरेकी छन्। हिमानी कंग्रेसकी एक सक्रिय कार्यकर्ता थिइन् र ‘भारत जोडो यात्रा’मा राहुल गान्धीसँगको उनको तस्बिर भाइरल पनि भएको थियो।

राजनीतिक हलचल
हिमानीको हत्याले हरियाणाको राजनीतिक वृत्तमै हलचल ल्याएको छ। कंग्रेसले यसलाई कानुन र व्यवस्थाको असफलता भनेको छ भने भाजपाले चाहिँ व्यक्तिगत दुस्मनीको विषय भनिरहेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार हत्याको वास्तविक कारण पत्ता लगाउन प्रहरीले सचिनसँग गहन रूपमा सोधपुछ गरिरहेको छ। यो घटनाले सामाजिक सञ्जालको मित्रताको खतरालाई पनि उजागर गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad