रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई आफूले खुसीसाथ भेट्ने बताएका छन्। यद्यपि, ट्रम्पलाई भेट्नुअघि कयौँ मुद्दा सल्ट्याउनुपर्ने उनको भनाइ छ।
सेन्ट पिटर्सबर्गमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले दुई राष्ट्रपतिको भेट निकै तयारीका साथ हुनुपर्ने बताए।
उनले ट्रम्पसँग निकट सम्बन्ध नभएको स्वीकारे र एकअर्कालाई लामो समयदेखि नदेखेको पनि उल्लेख गरे। यद्यपि ट्रम्प पनि आफूसँग भेट्न इच्छुक रहेको विश्वास आफूलाई भएको उनको भनाइ छ।
‘तर, त्यति पर्याप्त हुँदैन। त्यसअघि हाम्रो टिमले कयौँ प्रमुख मुद्दाहरूमा काम गर्न जरुरी छ। यो सजिलो काम होइन,’ पुटिन भन्छन्।
उनले दुई देशबीच विश्वासको वातावरण बनाउन पनि आह्वान गरे।
‘विश्वासको स्तर नबढाई युक्रेन संकटसहितका थुप्रै मुद्दा समाधान गर्न सम्भव छैन,’ उनले थपे।
ट्रम्पले आफूसँग टेलिफोनमा युद्ध अन्त्यको वार्तामा युक्रेनलाई पनि सहभागी गराउने बताएको पुटिनले उल्ले गरे।
‘यो प्रक्रियाबाट युक्रेनलाई कसैले पनि अलग्याएको छैन,’ पुटिनले थपे। एजेन्सी
Shares

प्रतिक्रिया