ग्लोबल


ट्रम्पको रिसबाट बच्ने प्रयास गर्दै मोदी

ट्रम्पको रिसबाट बच्ने प्रयास गर्दै मोदी

फाइल तस्बिर: ट्रम्प र मोदी अँगालो मार्दै


नेपालखबर
फागुन १, २०८१ बिहिबार १२:२०, वासिङ्टन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता पुनर्जीवित गर्न र भन्सार तथा आप्रवासनमा अमेरिकी राष्ट्रपतिको रिसबाट बच्न प्रयास गर्ने छन्। 

ह्वाइट हाउसका अनुसार मोदीले ट्रम्पसँग संयुक्त पत्रकार सम्मेलन पनि गर्ने छन्। सामाजिक सञ्जालको प्रभावशाली प्रयोगकर्ता तर पत्रकारहरूबाट विरलै प्रश्न लिने भारतीय नेताको यो दुर्लभ कदम हो।

रिपब्लिकन सत्तामा फर्किएपछि ओभल अफिसको ढोकामा पुग्ने विदेशी नेताहरूको शृंखलामा पछिल्लो नेता मोदीले आफ्नो पहिलो कार्यकालमा ट्रम्पसँग राम्रो सम्बन्ध साझा गरेका थिए। 

प्रधानमन्त्री मोदीले आफ्नो भ्रमणअघि नयाँदिल्लीले उच्चस्तरीय मोटरसाइकलहरूमा शुल्क कटौती गर्दै द्रुत भन्सार छुट प्रस्ताव गरेका छन्। यो प्रतिष्ठित अमेरिकी निर्माता हार्ले-डेभिडसनका लागि फाइदाजनक छ। हार्ले-डेभिडसनको भारतमा संघर्षले ट्रम्पलाई क्रोधित बनाएको छ।

भारतले गत हप्ता ट्रम्पको आप्रवासन सुधारको एक हिस्साका रूपमा एक सयजना बन्दी बनाइएका आप्रवासी बोकेको अमेरिकी सैन्य उडानलाई पनि स्वीकार गरेको छ र नयाँदिल्लीले अवैध आप्रवासनमा आफ्नै ‘कडा कारबाही’ गर्ने वचन दिएको छ।

भारतका शीर्ष करियर कूटनीतिज्ञ विक्रम मिश्रीले गत हप्ता नेताहरूबीच ‘धेरै नजिकको सम्बन्ध’ रहेको बताए। यद्यपि उनीहरूको सम्बन्धले लामो समयदेखि खोजिएको द्विपक्षीय व्यापार सम्झौतामा सफलता ल्याउन सकेको छैन।

नोभेम्बरको चुनावी जितपछि ‘असल मित्र’ ट्रम्पलाई बधाई दिने मोदी पहिलो मध्येका एक थिए। 

लगभग तीन दशकदेखि दुवै दलका अमेरिकी राष्ट्रपतिहरूले बढ्दो चीनविरुद्ध स्वाभाविक साझेदारका रूपमा भारतसँग सम्बन्ध निर्माण गर्न प्राथमिकता दिएका छन्।

तर ट्रम्पले विगतमा आफ्नो नयाँ कार्यकालको सबैभन्दा ठूलो विदेश नीति व्यापारलाई लिएर पनि भारतविरुद्ध आक्रोश व्यक्त गरेका छन् र विश्वको पाँचौँ ठूलो अर्थतन्त्रलाई ‘सबैभन्दा ठूलो कर दुरुपयोगकर्ता’ भनेका छन्।

ट्रम्पले आफ्नो फिर्तीपछि साथी र शत्रुहरूविरुद्ध शुल्कलाई अप्रत्याशित रूपमा हतियार बनाएका छन्।

ट्रम्पको रिस

‘मोदीले यसका लागि तयारी गर्नुभएको छ र उहाँ ट्रम्पको रिसलाई रोक्न खोज्दैहुनुहुन्छ’, ट्रम्पको पहिलो कार्यकालमा दक्षिण एसियाका राष्ट्रिय सुरक्षा परिषद् निर्देशक लिसा कर्टिसले भने। 

यसैबीच भारतीय प्रधानमन्त्रीको हिन्दु राष्ट्रवादी सरकारले ट्रम्पलाई कागजातविहीन आप्रवासीहरूलाई निर्वासन गर्नेजस्तो अर्को शीर्ष प्राथमिकतामा बाध्य पारेको छ।

सार्वजनिक ध्यान ल्याटिन अमेरिकी आगमनमा केन्द्रित भएका बेला मेक्सिको र एल साल्भाडोरपछि भारत संयुक्त राज्य अमेरिकामा कागजात नभएका आप्रवासीहरूको तेस्रो स्रोत हो।

अमेरिकी विमानमा आप्रवासीहरूलाई पूरै यात्राभर साङ्लाले बाँधेर फिर्ता ल्याइएपछि भारतीय कार्यकर्ताहरूले गत हप्ता ट्रम्पको पुतला जलाएका थिए भने विपक्षले मोदीलाई कमजोरीको आरोप लगाएको थियो।

ट्रम्पको पुनरागमनपछि इजरायल र जापानका प्रधानमन्त्री र जोर्डनका राजापछि अमेरिका भ्रमण गर्ने मोदी चौथो विश्व नेता हुन्। 

मोदीले आफ्नो पहिलो कार्यकालमा दृढतापूर्वक ट्रम्पलाई खुसी पारेका थिए।

सन् २०२० फेब्रुअरीमा मोदीले ट्रम्पलाई आफ्नो गृह राज्य गुजरातमा विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियमको उद्घाटन गर्न एक लाखभन्दा बढी मानिसको हर्षोल्लासपूर्ण भीड समक्ष आमन्त्रण गरेका थिए। 

ट्रम्पले यस वर्षको पछिल्लो समय अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाको चार पक्षीय समूह क्वाडको निर्धारित शिखर सम्मेलनका लागि भारत भ्रमण गर्ने सम्भावना छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad