अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई फिर्ता पठाउने विषयमा कोलम्बियाली नेताहरूलाई चेतावनी दिएका छन्।
कोलम्बियाली सरकारले निर्वासित आप्रवासीहरू बोकेका अमेरिकी विमानहरूलाई सैन्य विमान भएको भन्दै कोलम्बियामा अवतरण गर्न अनुमति नदिएपछि ट्रम्प आक्रोशित भएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल साइट ट्रुथ सोसियलमा पोस्ट गर्दै भनेका छन्, ‘हामी कोलम्बियालाई आफ्नो कानुनी जिम्मेवारी बेवास्ता गर्न दिने छैनौँ। कोलम्बियाले जबरजस्ती अमेरिका पठाइएका अपराधीहरूलाई फिर्ता लैजानुपर्छ।’
उनले अगाडि भनेका छन्, ‘अमेरिकाले कोलम्बियाली अधिकारीहरूको यात्रामा प्रतिबन्ध लगाउनेछ र तत्काल उनीहरूको भिसा रद्द गर्नेछ। यी प्रतिबन्ध कोलम्बियाका साथै यसका सहयोगी र समर्थकमा पनि लागू हुनेछन्।’
यसअघि ट्रम्पले कोलम्बियामा पनि २५ प्रतिशत कर लगाउने बताएका थिए र यो कर एक हप्ताभित्र ५० प्रतिशतसम्म पुग्ने चेतावनी दिएका थिए।
कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले २५ प्रतिशत कर लगाएको बदलामा अमेरिकालाई पनि २५ प्रतिशत कर लगाउने बताएका छन्।
यसअघि आइतबार कोलम्बियाली राष्ट्रपति पेट्रोले नागरिक विमानमार्फत आफ्ना नागरिक फिर्ता स्वीकार गर्ने बताएका थिए। उनीहरूलाई अपराधीजस्तो व्यवहार गर्न नहुने र आप्रवासीहरूलाई 'सम्मान र मर्यादा'का साथ फिर्ता पठाउनुपर्ने बताएका थिए।
यही जनवरी २० तारिख राष्ट्रपति पदको शपथ खाएका ट्रम्पले ह्वाइट हाउस छिरेको हप्तादिनभित्र आप्रवासीसम्बन्धीसहित ६ वटा महत्त्वपूर्ण निर्णय गरेका छन्।
Shares

प्रतिक्रिया