नवनियुक्त अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्ध अन्त्यका लागि रुस र युक्रेन दुवैलाई केही न केही छाड्न आह्वान गरेका छन्।
यसलाई डोनाल्ड ट्रम्प सत्तामा आएपछि अमेरिकाको युक्रेन नीतिमा आएको बदलावको संकेतका रुपमा हेरिएको छ। किनकि यसअघि अमेरिकाले युक्रेनलाई जित्नका लागि आवश्यक सहयोग दिने बताउँदै आएको थियो।
‘चुनावी अभियानमा हुँदा राष्ट्रपतिले हिंसा अन्त्य होस्, विध्वंस अन्त्य होस् भन्ने चाहना छ भन्नुभएको थियो। मलाई लाग्छ, त्यो सबैको हितमा छ,’ रुबियोले कार्यकालको दोस्रो दिन एनबीसी न्युजसँग भनेका छन्, ‘त्यो सजिलै होला त? कि जटिल होला? पक्कै पनि दुवै पक्षले केही न केही छाड्नुपर्ने हुन्छ।’
यदि रुसलाई युक्रेनी भूमि बिनाकुनै परिणाम ओगट्न दिने हो भने कस्तो सन्देश जाला भन्न प्रश्नमा उनले रुसले पहिले नै प्रतिबन्ध, मुद्रास्फिति र ज्यान गुमाएर परिणाम भोगिसकेको उनले बताए।
‘पहिल्यै परिणाम देखिसकियो। युक्रेनले भयानक परिणाम भोगिसक्यो,’ उनले भने, ‘अन्त्यमा यथार्थ के हो भने हामी गतिरोध झेलिरहेका छौँ। दीर्घकालीन द्वन्द्व र गतिरोध, जसमा युक्रेनलाई ठूलो क्षति पुगिरहेको छ।’ एजेन्सी
Shares

प्रतिक्रिया