उनीहरूको बीचमा रहेको टेबलमा आआफ्नो देशको झण्डा थियो। पाकिस्तानी सेना प्रमुख जर्नेल असिम मुनिर एकातिर बसेका थिए भने अर्कोतिर बंगलादेशी सेनाका लेफ्टिनेन्ट जर्नेल एसएम कमरुल हसन।
हसनको पाकिस्तान भ्रमणको सबैभन्दा महत्त्वपूर्ण क्षण यही थियो। उनले पाकिस्तानका उच्च सैन्य अधिकारीहरूलाई पनि भेटे। मुनिर र हसनबीच मंगलबार भएको भेटपछि पाकिस्तानी सेनाले आफूहरू ‘भाइचारा भएको मुलुक’ भएको बताएको छ।
तर, रक्तपातपूर्ण युद्ध जितेर बंगलादेश स्वतन्त्र भएपछिका ५४ वर्षको अधिकांश समय ढाका र इस्लामावादको आपसी सम्बन्ध यस्तो थिएन। अझ शेख हसिनाको १५ वर्ष लामो शासनमा त उनीहरूबीचको तनाव झनै बढेको थियो।
तर, गत अगस्टमा आन्दोलनबाट हसिना लखेटिएपछि पाकिस्तान र बंगलादेश एकअर्काको निकट भएका छन्। दुवै देशको आन्तरिक राजनीतिमा भारतविरोधी भावना हाबी भएका बेला इस्लामावाद र ढाकाले आपसी ऐतिहासिक शत्रुता बिर्सेर नयाँ खालको सम्बन्ध सुरुवात गरेका छन्।
मुनिर र हसनले सैन्य सम्बन्ध मजबुत गर्नु महत्त्वपूर्ण भएको स्वीकार्दै बाह्य अवरोधबाट साझेदारीलाई जोगाउने वाचा गरेको पाकिस्तानी सेनाको भनाइ छ। पछिल्लो समय यी दुई मुलुकबीच भएका उच्चस्तरीय वार्तामध्ये यो एक थियो।
गत महिना पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुससँग इजिप्टमा भेट गरेका थिए। उनीहरूबीच सेप्टेम्बरमा पनि न्युयोर्कमा भेट भएको थियो।
र, अर्को महिना पाकिस्तानी विदेशमन्त्री इसक दारले ढाका भ्रमण गर्ने अपेक्षा गरिएको छ। यो २०१२ यताको यस्तो पहिलो भ्रमण हुने छ। जसले गर्दा विश्लेषकहरूले दक्षिण एसियाको भूराजनीतिमा ठूलै बदलाव आउन लागेको बताउन थालेका छन्।
यी दुई देशबीचको दुस्मनीको जरा पाकिस्तानबाट बंगलादेशको मुक्तियुद्ध (१९७१) मा जोडिएको छ। पाकिस्तानी सेना र उसका सहयोगी मिलिसियाहरूले बंगाली विद्रोहीहरूको दमन गरेका थिए। सो क्रममा उनीहरूले लाखौँ मानिसको नरसंहार गरेका थिए। त्यसबेला कम्तीमा २ लाख महिलाको बलात्कार भएको अनुमान गरिन्छ।
भारतीय सेनाको सहयोगमा हसिनाका पिता शेख मुजिबुर रहमान र उनको अवामी लिगले बंगलादेश स्वतन्त्रताको नेतृत्व गरे। उनी मुलुकको संस्थापक राष्ट्रपति भए र सबैले उनलाई ‘राष्ट्रपिता’ मान्न थाले।
१९७४ मा भारतसहितको त्रिपक्षीय सम्झौतामा पाकिस्तानले बंगलादेशको स्वतन्त्रतालाई स्वीकार्यो। तर, इस्लामावाद र ढाकाबीच कयौँ मुद्दा सल्टिएनन्। पाकिस्तानले औपचारिक रूपमा अत्याचारका लागि माफी माग्नुपर्ने, बंगलादेशमा रहेका तर आफूलाई पाकिस्तानी ठान्ने उर्दुभाषीलाई पाकिस्तान फर्काउने र १९७१ अघिको सम्पत्ति दुई देशबीच बाँडफाँट गर्नेजस्ता मुद्दा यसै थाती रहे।
कायरोको भेटमा युनुसले सरिफसँग ती मुद्दा सल्ट्याउन आग्रह गरे।
‘यी मुद्दा बेलाबेला उठिरहन्छन्। अब त्यसलाई सदाका लागि र भविष्यको पुस्ताका लागि टुंग्याऔँ,’ युनुसले सरिफलाई भनेका थिए।
यस विषयमा विचार गर्ने जवाफ सरिफले दिएको बंगलादेशको सरकारी समाचार संस्थाले जनाएको छ।

बदलिएको अवस्था
बंगलादेशका लागि पाकिस्तानका पूर्वराजदूत असरफ कुरैसी दिल्लीले लामो समय हसिनाको ‘तानाशाही’ सरकारलाई गरेको सहयोगका कारण ढाकाले पाकिस्तानसँग नयाँ खालको सम्बन्ध सुरु गरेको हुनसक्ने बताए।
गत महिना युनुसको अन्तरिम सरकारले हसिनालाई न्यायिक प्रक्रियाका लागि सुपुर्दगी गर्न माग गरेको थियो। तर, भारत सरकारले त्यसको जवाफ दिएको छैन।
बरु भारतले बंगलादेशका हिन्दुहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै आएको छ। १७ करोड जनसंख्या भएको बंगलादेशमा करिब ८ प्रतिशत हिन्दु छन्। जो परम्परागत रूपमा हसिनाको अवामी लिगका समर्थक मानिन्छन्। उनीहरूलाई सताइएको दिल्लीको भनाइ छ।
तर, बंगलादेशी अधिकारीहरूले सो आरोप अस्वीकार गरेका छन्। भारतीय सञ्चारमाध्यमको दुष्प्रचारले छिमेकी मुलुकबीच तनाव बढाएको उनीहरूको आरोप छ।
‘निश्चय नै तपाईं बंगलादेश हो भने तपाईंले आफ्ना विकल्पहरू तौलिनुहुन्छ र अहिले भारतसँग जस्तो सम्बन्ध छ, त्यो समीकरणमा पाकिस्तान आइपुग्छ, जसले सम्बन्ध पहिलेको भन्दा सुधार बनाउँछ,’ कुरैसी भन्छन्।
भारत पनि हसिनाका विषयमा द्विविधामा रहेको कुरैसी बताउँछन्। उनलाई यसै हस्तान्तरण गर्न भारतले नसक्ने उनको भनाइ छ।
तर, किंग्स कलेज लन्डनका लेक्चरर वाल्टर ल्याडविग पाकिस्तान र बंगलादेशको पछिल्लो कूटनीतिक र सैन्य अदानप्रदानको महत्त्वलाई बढाइचढाइ गर्न नहुने बताउँछन्।
‘गत १५ वर्षमा उनीहरूको द्विपक्षीय सम्बन्ध जस्तो थियो, त्यसलाई हेर्दा यो उल्लेखनीय घटना हो। तर, यसको ज्यादा व्याख्या गरिनु हुन्न भन्ने मलाई लाग्छ। यी दुई देशबीच अझै पनि ऐतिहासिक तनाव र अलगअलग स्वार्थ छन्,’ उनले भने।
कुरैसीले पनि भौगोलिक यथार्थका कारण बंगलादेशले भारतविरोधी अडान लिन नसक्ने बताए।
‘उनीहरूबीच लामो सिमाना छ। उनीहरूको जलस्रोत भारतबाट आउँछ। बढीमा उनीहरूले हसिनाको पालामा भन्दा अलि बढी स्वतन्त्र नीति लिन सक्छन्। तर, बंगलादेशीले भारतविरोधी नीति अपनाउन सक्दैन,’ उनले भने।
ल्याडविग यसमा सहमत छन्।
‘बंगलादेशका कयौँ राजनीतिक शक्ति भूगोल र अर्थशास्त्रका यथार्थहरूलाई राम्ररी बुझ्छन्। यी प्रवृत्तिलाई राम्ररी नियाल्नलायक छन्। तर, क्षेत्रीय भूराजनीतिको पुनर्मूल्यांकन गर्नु अघि अनेकौँ महत्त्वपूर्ण नीतिमा बदलाव देखिन आवश्यक छ,’ उनले भने।
बंगलादेश र पाकिस्तानको निकटताको घटना हालैका महिनामा तालिबानसँग भारतको सम्पर्कका बीचमा भइरहेको छ। दिल्लीले औपचारिक रूपमा तालिबान सरकारलाई मान्यता दिएको छैन। तर, गतसाता भारतीय विदेश सचिव विक्रम मिश्रीले अफगान विदेशमन्त्री आमिर खान मुत्ताकीलाई दुबईमा भेटेका छन्।
तालिबानसँग भारतको कूटनीतिक संलग्नताले पाकिस्तान हैरान छ। जसले तालिबानलाई मद्दत गरेको थियो। तर, पछिल्लो समय पाकिस्तानी तालिबानले ठुल्ठूला विस्फोट गराएपछि उनीहरूबीचको सम्बन्धमा खटपट आएको छ।
पाकिस्तानका पूर्वकूटनीतिज्ञ बुर्हानुल इस्लाम हसिना अपदस्थ भएपछि पाकिस्तान र बंगलादेशले नयाँ सुरुवात गरेको हुन सक्ने बताउँछन्।
‘सायद बंगलादेश पाकिस्तानबाट सैन्य सहयोग र सुरक्षा खोजिरहेको छ। दुई मुलुक सही दिशामा छन् भन्ने मलाई लाग्छ,’ उनले भने।
‘आर्थिक सुरुवात’
ल्याडविग भने बंगलादेशको आर्थिक प्रगतिले पाकिस्तानलाई सम्बन्ध सुधारका लागि धकेलेको हुनसक्ने बताउँछन्।
‘पाकिस्तानलाई सबै आर्थिक साझेदारको जरुरत छ,’ उनी भन्छन्।
२०२१ देखि वार्षिक ६ प्रतिशतका दरले बढिरहेको बंगलादेशको अर्थतन्त्र दक्षिण एसियामा प्रगति गरिरहेको मुलुक हो। पाकिस्तान भने निकै पछाडि छ। गतवर्ष उसको वृद्धिदर मात्र २.५ प्रतिशत थियो।
दुई मुलुकबीचको व्यापार भने एकपक्षीय छ। गत वर्ष पाकिस्तानले बंगलादेशमा ६६ करोड डलरको सामान निर्यात गरेको थियो भने आयात मात्र ५.७ करोड डलरको। आउँदा दिनमा व्यापारमा निकै सुधार हुनसक्ने ल्याडविगको भनाइ छ।
‘पहिले सिधा उडान थिए, कूटनीतिक संलग्नता न्यूनतम थियो, भिसा पाउन मानिसहरूले कठिनाइ भोग्नुपर्थ्यो। त्यसमा बदलाव आएको छ,’ उनी भन्छन्, ‘मलाई लाग्छ, पाकिस्तानी सरकारले सम्बन्ध सुधार्ने र सुरुवातको मौका महसुस गरेको छ।’ अल जजिराबाट
Shares

प्रतिक्रिया