दक्षिण कोरियामा देशका सेना र प्रहरी आमनेसामने हुने अनौठो परिस्थिति सिर्जना भएको छ। निलम्बित राष्ट्रपति योन सुक योललाई पक्राउ गर्न गएको प्रहरी र उनको रक्षार्थ खटिएका सेना आमनेसामने भएका हुन्।
सोधपुछका लागि बारम्बार बोलाउँदा पनि अटेर गरेपछि युनविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
राष्ट्रपतिको निवासमा प्रहरी पस्न नदिन शुक्रबार रातिदेखि नै युनका समर्थकहरू बाहिर जम्मा भएर बसेका थिए। प्रवेशद्वारमा ठूलो ताल्चा झुण्ड्याइएको थियो।
शुक्रबार झिसमिसेमा प्रहरी त्यहाँ पुग्यो। तर, उनीहरूलाई राष्ट्रपति भवनको सुरक्षार्थ खटिएका सैनिकहरूले घेरा लगाएर रोके।
थप प्रहरी पठाइयो। तर, उनीहरू भित्र पस्न सफल भएनन्। प्रहरीले जति प्रयास गर्दा पनि सैनिकहरू हट्न मानेनन्।
घण्टौँ बित्यो। राष्ट्रपति निवासबाहिर युनका समर्थकहरू उत्तेजित हुन थाले। प्रहरी र सैन्य अधिकारीहरूबीच नै धक्कामुक्की भयो।
अन्ततः प्रहरी फर्कियो।
दक्षिण कोरियाको इतिहासमा यस्तो घटना पहिलोपटक भएको हो। पहिलोपटक पदमा रहेका राष्ट्रपतिले गिरफ्तारीको सामना गर्दैछन्।
तीन साताअघि युनलाई महाभियोग लागेको थियो। त्यससँगै उनको शक्ति गुम्नुपर्ने हो। त्यही भएर नै प्रहरीहरू उनलाई पक्रिन पुगेका थिए। जसका लागि वैधानिक पक्राउ पुर्जी पनि उनीहरूसँग थियो।
तर, युनको सुरक्षा टोलीले प्रहरीलाई रोकेपछि मुलुकको शासन सत्ता कसको हातमा छ भन्ने गम्भीर प्रश्न खडा भएको छ।

युनमाथि अनुसन्धान गरिरहेका अधिकारीहरूले उनलाई समात्न नसकेर मात्र नभई आफ्नो सुरक्षामै चिन्ता उत्पन्न भएपछि पछि हटेको बताएका छन्। उनीहरूका अनुसार २ सय सैनिकहरू हतियार बोकेर राष्ट्रपतीय निवासको द्वारमा मानव पर्खालका रुपमा उभिएका थिए।
खासमा यो युनको योजनाअनुसार नै भइरहेको छ। गतमहिना असफल सैन्य शासन घोषणाअघि उनले शक्तिशाली पदहरूमा आफ्ना वफादारहरूलाई नियुक्त गरेका छन्। तिनै वफादारमध्ये एकजना उनको सुरक्षा प्रमुख छन्, जो सेप्टेम्बरमा मात्र नियुक्त भएका हुन्।
युनविरुद्ध राजद्रोहको आरोपमा अनुसन्धान हुँदैछ, जुन ठहर भए जन्मकैद वा मृत्युदण्ड पनि हुनसक्छ। त्यसैले युनले अनुसन्धानमा सकेसम्म बाधा उत्पन्न गरिरहेका छन्।
उनका कट्टर समर्थकहरू पक्राउ पुर्जी जारी भएदेखि नै लगातार राष्ट्रपतीय निवासबाहिर रातभर बस्ने गरेका छन्।
विपक्षीले भने बाधा गर्ने सबैलाई प्रहरीले पक्राउ गर्नुपर्ने बताउँदै आएको छ।
उनीविरुद्ध पक्राउ पुर्जीको म्याद जनवरी ६ मा समाप्त हुनेछ। एजेन्सी
Shares

प्रतिक्रिया