ग्लोबल


एफबीआई निर्देशक रेले राजीनामा दिने भएपछि रमाए ट्रम्प, भनेः अमेरिकाका लागि ‘ठूलो दिन’

एफबीआई निर्देशक रेले राजीनामा दिने भएपछि रमाए ट्रम्प, भनेः अमेरिकाका लागि ‘ठूलो दिन’

फाइल तस्बिर: एफबीआई निर्देशक क्रिस्टोफर रेले र नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड


नेपालखबर
मंसिर २७, २०८१ बिहिबार ११:५५, काठमाडौँ

अमेरिकाको अनुसन्धान एजेन्सी एफबीआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन) का निर्देशक क्रिस्टोफर रेले गरेको राजीनामा दिने निर्णयप्रति नवनिर्वाचित डोनाल्ड ट्रम्पले खुसी व्यक्त गरेका छन्। 

उनले यसलाई अमेरिकाका लागि ‘ठूलो दिन’ भएको बताएका छन्।

ट्रम्पले एक्समा लेखेका छन्, ‘क्रिस्टोफर रेको राजीनामा अमेरिकाका लागि ठूलो दिन हो। यसले अमेरिकी न्याय विभागलाई हतियारका रूपमा प्रयोग हुनबाट रोक्नेछ। अब हामी फेरि सबै अमेरिकीका लागि कानुनको शासन लागू गर्नेछौँ।’

उनले अगाडि लेखेका छन्, ‘क्रिस्टोफर रेको नेतृत्वमा एफबीआईले अवैध रूपमा मेरो घरमा छापा मार्‍यो। उसले धेरै निर्दोष अमेरिकीहरूलाई धम्की दिन र हटाउन आफ्नो शक्ति प्रयोग गर्‍यो।’

अब उनको स्थानमा नियुक्त हुने काश पटेल एफबीआईको इतिहासमै सबैभन्दा योग्य व्यक्ति भएको दाबी ट्रम्पले गरेका छन्। 

उनले लेखेका छन्, ‘उनी (काश पटेल) कानुन र व्यवस्था सुनिश्चित गर्न प्रतिबद्ध छन्।’

ट्रम्पको यो बयान एफबीआईका वर्तमान निर्देशक क्रिस्टोफर रेले राजीनामा गर्ने घोषणाा गरेपछि आएको हो।

बीबीसीका अनुसार रेले बुधबार एफबीआईको आन्तरिक बैठकमा पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। केही साताको विचारविमर्शपछि आफूले पदबाट राजीनामा दिने निर्णय गरेको रेले बताए।

ट्रम्पले यसअघि नै एफबीआईको नेतृत्वका लागि आफ्नो विश्वासपात्र काश पटेलको नाम घोषणा गरिसकेका छन्।

क्रिस्टोफर रेलाई ट्रम्पले आफ्नो अन्तिम कार्यकाल २०१७ मा नियुक्त गरेका थिए। उनी १० वर्षका लागि नियुक्त भएका थिए।

तर ट्रम्प अघिल्लो राष्ट्रपति चुनाव हारेपछि एफबीआईले उनीविरुद्ध अनुसन्धान सुरु गरेको थियो। यसका लागि रेले रिपब्लिकनहरूको आलोचनाको सामना गर्नुपरेको थियो।

नवनिर्वाचित ट्रम्पले आगामी जनवरी २० देखि राष्ट्रपति पद सम्हाल्दै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad