ग्लोबल


सिरियामा सत्ता पल्टाउने विद्रोही नेता, जसको टाउकोको मूल्य छ १ करोड डलर

सिरियामा सत्ता पल्टाउने विद्रोही नेता, जसको टाउकोको मूल्य छ १ करोड डलर

नेपालखबर
मंसिर २३, २०८१ आइतबार २०:१,

सिरियाको सत्ता विद्रोहीहरूले आश्चर्यजनक तरिकाले कब्जा गरेपछि एकाएक चर्चामा आएका छन् अबु मोहम्मद अल जोलानी। जो हायात तहरिर अल साम (एचटीएस) नामक समूहका नेता हुन्।

उनी मात्र ४२ वर्षका भए।

१९८२ मा जन्मेका उनको नाम अहमद हुसेन अल सहारा थियो। आफ्नो जीवनको सुरुवाती सात वर्ष उनले साउदी अरबमा बिताए। जहाँ उनका बुबा इन्जिनियर थिए। 

त्यसपछि उनी दमास्कस सरे। सिरियाको गोलान हाइट इजरायलले कब्जा गरेपछि त्यहाँबाट उनका हजुरबा राजधानी सरेका थिए।

सन् २००० आसपास दोस्रो इन्तिफदाको समयमा आफू कट्टरपन्थतर्फ लागेको उनले बताएका छन्।

‘त्यसबेला म १७ वा १८ वर्षको थिएँ। मिचाहा र आक्रमणकारीहरूबाट शोषित जनताको रक्षा कसरी गर्ने, आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर म सोच्न थालेँ,’ २०२१ को एक अन्तर्वार्तामा उनले भनेका छन्। 

इराकमा अमेरिकी आक्रमणको प्रतिरोध गर्न उनी दमास्कसबाट बस चढेर बगदाद ओर्लिए। अमेरिकी सेनाभन्दा केही साता मात्र अघि। त्यसपछि केही वर्ष उनले विद्रोही समूहमा बिताए। उनको बढुवा हुँदै गयो।

तर, उनी पक्राउ परे र क्याम्प बुक्का जेलमा थुनिए। जहाँबाट जिहादीहरूको अनेक पुस्ता पैदा भयो।

२०११ मा सिरियामा आन्दोलन सुरु हुँदै गर्दा उनी रिहा भए। झोलाभरि पैसा र सिरियामा अल कायदा बिस्तार गर्ने लक्ष्य लिएर उनले इराकी सीमा पार गरे। 

इराकका जिहादीहरू उनलाई मन पराउँदैनथे। त्यसैले उनी जाँदा उनीहरू खुसी नै भए। 

सिरिया पसेपछि जोलानीले जिहादी विचारधाराबाट आफूलाई अलग गरे। उनले आफू नेतृत्वको समूहलाई राष्ट्रवादी भन्न थाले। अन्ततः उनले अल कायदा र आईएसआईएससँग नाता तोडे।

आफ्नै समूहका पनि कट्टरपन्थीहरूलाई उनले निकाले। 

‘अहिले जोलानीको भाग्य लेखिँदैछ। उनले अबको चरण कसरी आफूलाई व्यवस्थित गर्छन्, यदि उनले एचटीएसले समावेशी राख्न सके भने त्यसले उनको विरासत निर्धारण गर्नेछ,’ क्राइसिस ग्रूप नामक थिंक ट्यांकका जिहाद विज्ञ जेरोम ड्रेभोन भन्छन्।

जोलानी आफ्ना समकक्षीहरूभन्दा अलग देखिन्छन्। उनी उच्च शिक्षा लिएका, सहरी संस्कार भएका र नरम बोल्ने व्यक्ति हुन्। 

‘उनी संसारमा इस्लाम लाद्न सकिँदैन, संसारले इस्लामलाई निर्देशित गर्नुपर्छ भन्ने विचार राख्छन्,’ ड्रेभोन भन्छन्।

तर, त्यति हुँदै जोलानी उदार लोकतन्त्रवादी नबन्ने जिहादका अर्का विज्ञ आरोन जेलिनको तर्क छ। जोलानी सर्वसत्तावादी व्यवस्थाका चमत्कारी नेता भएको उनको भनाइ छ।

यही उनको सफलताको रहस्य हो। 

‘उनीहरू निकै सुशिक्षित छन्। उनीहरूलाई बाहिरी संसार थाहा छ। उनीहरूमा बंकर मानसिकता छैन,’ जोलानीसँग कयौँपटक भेटेका क्राइसिस ग्रूपका दरिन खलिफा भन्छन्।

एचटीएस आतंकवादी संगठन हो। अमेरिकाले जोलानीकै टाउको मूल्य पनि एक करोड डलर तोकेको छ। जसले पश्चिमसँग सम्बन्ध बनाउने र सिरियाको नेतृत्व गर्ने उनको आकांक्षामा जटिलता थप्छ।

तर, यसैसाता उनले खलिफासँग आफ्नो समूह विघटन गर्ने र एलेप्पोमा संक्रमणकालीन समितिले शासन चलाउने उपाय सुझाएका थिए।

तर, यति छोटो समयमा मुलुक नै कब्जा गरिसकेपछि उनको योजना के छ, स्पष्ट छैन। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad