ग्लोबल


ढल्यो असद वंशको ५४ वर्षे शासन, के होला सिरियाको भविष्य?

सत्तामा टिक्न १४ वर्ष रक्तपात मच्चाएका बसर अन्ततः बिनाप्रतिरोध देश छाडेर भागे
ढल्यो असद वंशको ५४ वर्षे शासन, के होला सिरियाको भविष्य?

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १९:१३, काठमाडौँ

सिरियाली राष्ट्रपति बसर अल असद आइतबार देश छाडेर भागे। यससँगै सिरियाको सत्ता कसले कब्जा गर्ने भन्ने १४ वर्ष लामो खिचातानीको नाटकीय अन्त्य भएको छ। यो डेढ दशकमा क्रूर गृहयुद्धको चपेटामा परेको सिरिया विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय महाशक्तिको छद्म युद्धको मञ्च बनेको थियो।

असदले आफ्नो २४ वर्षको शासनमा क्रूर तानाशाहको छवि बनाएका थिए। सिरिया आतंकवादी समूहहरू र विदेशी शक्तिराष्ट्रको क्रिडास्थल बनिरहँदा यहाँको गृहयुद्धमा करिब पाँच लाख मानिस मारिएको अड्कल छ। युद्धको क्रममा जनसंख्याको झण्डै आधा हिस्सा अर्थात् एक करोड २० लाख मानिस विस्थापित भए। करिब एक लाख मानिस अझै ‘बेपत्ता’ छन्, जसलाई सैनिकहरूले पक्राउ गरेका थिए। 

यतिधेरै रक्तपातको सूत्रधार बनेका असद वास्तवमा संयोगवश राजनीतिमा आएका थिए।

मध्यपूर्वका कयौँ मुलुकमा राजा छन्। जहाँ एउटै वंशका एकपछि अर्को पुस्ताले शासन गरिरहन्छन्। तर, सिरिया यसको अपवाद थियो। यहाँ राजा थिएनन्। 

स्वतन्त्रतापछि अनेकपटक कू भइरहेको थियो। तर, ती सत्तापलट लामो समय टिक्दैनथे। यस्तैमा १९७० मा हाफिज असदले सत्ता कब्जा गरे। जो वायु सेनाका अधिकृत थिए। तर, उनले गरेको सत्तापलट भने दीर्घकालसम्म टिकिरह्यो। 

किनकि उनले आफूलाई चुनौती दिनसक्ने सबैलाई निर्दयी तरिकाले दमन गरे। उनले ठूलो सेना, डरलाग्दो गुप्तचर प्रहरी स्थापना गरे र सम्भावित विरोधी सबैको निगरानी गरे।

उनको क्रूरताको उदाहरणका रूपमा १९८२ मा हामा सहरको दमनलाई लिन सकिन्छ। त्यसबेला मुस्लिम ब्रदरहुडले गरेको विद्रोह दबाउन उनको सेनाले २० हजारभन्दा बढीको हत्या गरेको थियो।

हाफिजको योजना थियो, आफ्नो जेठा छोरा बेसिललाई उत्तराधिकारी बनाउने। तर, बेसिल १९९४ मा दमास्कसमा कार दुर्घटनामा मारिए। 

त्यसपछि हाफिज अर्को छोरा बसरतर्फ फर्किए। जो त्यतिबेला लन्डनमा आँखाको डाक्टरी गरिरहेका थिए। झटपट उनलाई सिरिया बोलाएर सैन्य तालिम दिइयो। ताकि कुनै दिन उनलाई शासन चलाउन सजिलो होस्।

मुटुको व्यथाका कारण हाफिजको सन् २००० मा मृत्यु भयो। सत्ता बसरले सम्हाल्ने तयारी थियो। तर, एउटा समस्या थियो– सिरियाको संविधानले राष्ट्रपति बन्न न्यूनतम उमेर ४० पुग्नुपर्ने व्यवस्था गरेको थियो। बसर जम्मा ३४ वर्षका थिए।

त्यसैले संसदले तुरुन्तै संविधानको व्यवस्था परिवर्तन गरेर राष्ट्रपतिका लागि न्यूनतम उमेर ३४ कायम गर्‍यो। जसलाई जनमत संग्रहले अनुमोदन गर्‍यो। 

उनका बुवा हाफिज सैन्य अधिकारी थिए। उनले झण्डै ३० वर्ष कठोर शासन गरेका थिए। केन्द्रीकृत अर्थव्यवस्था थियो। राजनीतिप्रति मजाक गर्न पनि सिरियालीहरू डराउँथे। उनले धर्मनिरपेक्ष विचारधारा अपनाएका थिए। इजरालविरुद्धको प्रतिरोधको नायकका रूपमा आफूलाई उभ्याएका थिए। इरानसँग निकटता र लेबनानलाई पकडमा राखेर प्यालेस्टिनी सशस्त्र समूहहरूसँग सम्बन्ध कायम गरेका थिए।

बसर भने आफ्ना बाबुभन्दा बिल्कुल फरक देखिन्थे। युवा, चिकित्सा अध्ययन र बेलायतमा बसेका उनी दुब्ला, अग्ला र नम्र देखिन्थे। राष्ट्रपति बन्नुअघि उनी सिरियाली कम्प्युटर सोसाइटीको प्रमुख थिए। राष्ट्रपति बनेको केही महिनापछि उनले बिहे गरे। उनकी पत्नी आस्मा अल अखरास बेलायतमा जन्मेकी महिला थिइन्। 

यी सबै कारण बसरले आफ्नो बाबुले भन्दा अलग नीति अख्तियार गर्ने अनुमान धेरै थियो। सुरुवातमा देखियो त्यस्तै।

पछि तीन सन्तान जन्माएको असद दम्पती अरु अरब नेताहरूजस्तो भव्य महलमा होइन, दमास्कसको अबु रुमानेह जिल्लाको एउटा अपार्टमेन्टमा बस्थ्यो। उनीहरू शक्तिको मातबाट अलग भएजस्ता देखिन्थे।

सत्तामा आउनेबित्तिकै असदले राजनीतिक कैदीहरूलाई छाडे। वातावरण अलि खुकुलो भयो। बौद्धिकहरू भेला भएर कला, संस्कृति र राजनीतिबारे छलफल गर्न मिल्ने जमघटस्थलहरू खुले, जुन उनको बाबुको पालामा सम्भव थिएन।

तर, २००१ मा एक हजारजना बौद्धिकहरूले सार्वजनिक रूपमा थप स्वतन्त्रता र बहुदलीय लोकतन्त्र माग गरेपछि वातावरण बिग्रियो। त्यस्ता जमघटस्थल बन्द भए। दर्जनौँ कार्यकर्ता जेल परे।

राजनीतिक खुलापनको सट्टा असद आर्थिक सुधारपट्टि लागे। उनले आर्थिक प्रतिबन्धहरू हटाए। विदेशी ब्यांकलाई भित्रिन दिए, आयात खुला गरे र निजी क्षेत्रलाई बलियो बनाए। पहिले निरस देखिने दमास्कस र अरु सहरहरू सपिङ मल, नयाँ रेस्टुराँहरूले गुलजार भए। पर्यटन बढ्यो।

बाहिरी विश्वसँग भने उनले बाबुकै शैलीका सम्बन्ध कायम गरे। इरानसँग गठबन्धन र इजरायलले कब्जा गरेको गोलान हाइट फिर्ता गर्नुपर्ने अडान। तर, उनले सैन्य हिसाबले इजरायलसँग कहिल्यै टक्कर लिएनन्।

सन् २००५ मा लेबनानका प्रधानमन्त्री रफिकी हरिरीको हत्या भयो। थुप्रै लेबनानीले यसमा सिरियाको हात रहेको आरोप लगाए। लेबनानमा अमेरिका समर्थित सरकार आएसँगै त्यहाँबाट सिरियाली सेना हट्नुपर्‍यो। यसले उनलाई ठूलो धक्का लाग्यो।

त्यहीबेला अरब विश्व दुई ध्रुवमा विभाजित भयो। एउटा खेमा अमेरिकाको पछि लाग्यो। जसमा साउदी अरब र इजिप्टजस्ता सुन्नी राष्ट्रहरू थिए भनको अर्कोतिर सिरिया र सिया नेतृत्वको इरान जसको सम्बन्ध हिजबुल्लाह र प्यालेस्टिनी लडाकुहरूसँग थियो।

सत्ता सञ्चालनका लागि असद तिनै स्रोतमा भर परे, जसमा उनको बाबु निर्भर थिए। बाबुका लागि काम गरेका परिवारकै युवा पुस्ताले उनका लागि काम गर्न गर्न थाले। 

उनले आफ्नै भाइ माहेरलाई प्रेसिडेन्सियल गार्ड नामक सैन्य टुकडीको नेतृत्व दिए। बहिनी बुसरा पनि प्रभावशाली थिइन्। बुसराका पति उपरक्षामन्त्री थिए। जो २०१२ मा मारिए। उनका नातेदार रामी मखलोफ मुलुककै सबैभन्दा ठूला व्यापारी बने। पछि असदसँग झगडा भएपछि उनी किनारा लागे।

पत्नी आस्माले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। गत मेमा क्यान्सर लागेपछि उनी चर्चाबाट हराइन्।

२०११ मा ट्युनिसिया र इजिप्टमा प्रदर्शन सुरु भयो। जसले अन्ततः त्यहाँको शासन पल्टायो। असदले सिरियामा त्यस्तै आन्दोलन हुने सम्भावनालाई नकार्दै भनेका थिए– उनको शासन सिरियाली जनताको चाहनाअनुसार चलिरहेको छ। 

तर, अरब क्रान्तिको लहर आफ्नो मुलुकमा आइपुगेपछि भने उनले त्यसको क्रूर दमन गरे। उनले विदेशीको सहयोमा आतंकवादीहरूले आफ्नो सत्ता ढाल्न खोजेको आरोप लगाए।

सिरियाका क्रिस्चियन, द्रुज र सियाजस्ता अनेकौँ अल्पसंख्यक समूहसँग उनको कुरा मिल्थ्यो। केही सुन्नीहरू पनि उनको समर्थन गर्थे। किनकि असदप्रतिको उनीहरूको घृणाभन्दा पनि सुन्नी अतिवादीहरू सत्तामा आउने डर ठूलो थियो।

आन्दोलन गृहयुद्धमा फेरिएपछि लाखौँ सिरियाली मुलुक छाडेर जोर्डन, टर्की, इराक र लेबनानतर्फ भागे।

सिरियाको केही क्षेत्र गुमाए पनि पछि रुसी सेनाको बलमा विरोधी समूहहरूलाई नष्ट गरेपछि असदको सत्ता लम्बिएको थियो। 

असदको पतनबाट थुप्रै खुसी हुने छन्। तर, त्यो खुसीमा भविष्यको चिन्ताको छाया देखिन्छ।

यो विद्रोहको नेतृत्व गरेका अबु मोहम्मद अल जोलानीको टाउकोको मूल्य अमेरिकाले १ करोड डलर तोकेको छ। 

सिरियाली भूभाग अनेक समूहहरूको नियन्त्रणमा छ। जबकि करिब ९ सय अमेरिकी सैनिक पनि सिरियामा छन्।

यी समूहहरूबीच आन्तरिक लडाइँका साथसाथै कुनैबेला झण्डै सिरिया कब्जा गरेको इस्लामिक स्टेट फेरि ब्युँतिने चिन्ता पनि छ। 

छिमेकी मुलुकहरू पनि यसबाट चिन्तित हुने छन्। यद्यपि, सिरियामा अब हुने गतिविधिमा सबैभन्दा बढी टर्कीको प्रभाव रहने विश्लेषण गरिँदै छ। 

सो क्षेत्रका कतिपयका लागि भने यो घटनाले दशकअघिको त्रासदीलाई ताजा बनाइदिएको छ। २०११ मा मध्यपूर्वमा अरब क्रान्तिको लहर सुरु हुँदा धेरैमा उत्साह र आशा देख्न सकिन्थ्यो। तर, त्यो उत्साह धेरै दिन टिक्न पाएन।

सिरिया भयानक गृहयुद्धमा फस्दा इजिप्टमा होस्नी मुबारकको सत्ता पल्टिएको दुई वर्षपछि सैन्य कू भयो। कर्णेल गद्दाफीको अन्त्यपछि भद्रगोलमा भासिएको लिबिया अझै विभाजित र अशान्त छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad