बागमती


काठमाडौँ महानगरले अर्ग्यानिक तरकारी पकेट क्षेत्रबाटै झिकाउने, यस्तो बन्यो कार्यविधि

काठमाडौँ महानगरले अर्ग्यानिक तरकारी पकेट क्षेत्रबाटै झिकाउने, यस्तो बन्यो कार्यविधि

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १८:४६, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको ३७ औँ कार्यपालिका बैठकले ‘एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ स्वीकृत गरेको छ।

आज महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको बैठकले कार्यविधिहरू स्वीकृत गरेको हो। बैठकमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित कार्यपालिका सदस्यहरू सहभागी थिए।

एग्रो पुलिङ महानगरपालिकाको स्वर्णिम योजना हो। अन्य पालिका र साझेदारसँगको सहकार्यमा महानगरबासीलाई गुणस्तरीय, स्वच्छ, ताजा खाद्यान्न तथा कृषिजन्य उत्पादन उचित मूल्यमा उपलब्ध गराउन उत्पादन तथा बिक्री वितरण गर्ने व्यवस्था कार्यविधिमा समेटिएका छन्।

कार्यविधिअनुसार महानगरपालिकाले कृषि उत्पादनका पकेट क्षेत्र पहिचान गरिएका स्थानीय तहसँग अर्गानिक खाद्यवस्तु उत्पादन गर्ने र वितरणका लागि महानगरपालिकाभित्रका कृषि सहकारी वा कम्पनीसँग सम्झौता गर्नेछ।

महानगरपालिका आफैँले कम्पनी खोल्न सक्ने कार्यविधिमा व्यवस्था छ। उत्पादकले गुणस्तरीय खाद्यान्न उत्पादन गर्ने, गुणस्तर परीक्षण गर्ने र महानगरपालिकामा भएको वितरकसम्म ढुवानी गर्ने काम गर्नेछ। उत्पादन, प्रशोधन तथा ढुवानीमा लाग्ने खर्च सम्बन्धित पालिकाले स्वीकृत गरेको दरमा गर्नुपर्नेछ। महानगरपालिकाले ‘प्रविधि’, ‘अनुदान’, ‘जनशक्ति’ र ‘भौतिक सामान’ सहयोग उपलब्ध गराउन सक्नेछ। 

पकेट क्षेत्रमा उत्पादन हुने वस्तुलाई विभिन्न ८ समूहमा बाँडिएको छ। त्यस समूहमा गुण मिल्ने अन्य खाद्यवस्तु समावेश हुन सक्ने व्यवस्था छ। यसअनुसार चामल, गहुँ, मकै, कोदो फापर एउटा समूहमा छन्। मास, मुसुरो, रहर र मुङ दाल दोस्रो समूहमा छन्। तेस्रो समूहमा सिमी, भटमास, गहत र बोडी राखिएको छ। आलु, तरुल, पिँडालुजस्ता खाद्यान्न चौथो समूहमा छन्। लसुन, प्याज, अदुवा, बेसार, खुर्सानी, टिमुर पाँचौँ समूहमा छन्। छैटौँ समूहमा तेल, घिउ र दुग्धजन्य पदार्थ छन्। माछा, अण्डा, कुखुरा, खसी र राँगाको मासु सातौँ समूहमा छन्। मौसमी हरियो तरकारी र फलफुल आठौँ समूहमा राखिएको छ। यी खाद्यान्न उत्पादन हुने ठाउँ पकेट क्षेत्र हुन सक्नेछन्। 

वितरकले महानगरपालिकाले स्वीकृत गरेको दररेटमा सामान विक्री वितरण गर्नेछ। खाद्यान्न भण्डारण गर्ने, गुणस्तर परीक्षण गर्ने, प्याकेजिङ् गर्ने, लेवलिङ्ग गर्ने र विक्री वितरण गर्ने काम वितरकको हुनेछ। यसबाट किसानहरूले उचित मूल्य पाउने र उपभोक्ताले गुणस्तरीय खाद्यान्न प्राप्त गर्ने अवस्था सुनिश्चित हुनेछ।

यसको व्यवस्थापन गर्न सहकारी, कृषि तथा पशुपन्छी समितिका संयोजकको संयोजकत्वमा ५ सदस्यीय निर्देशक समिति गठन हुनेछ। समितिले क्षेत्रगत सर्त, सहयोगलगायतका काम कार्यपालिकासँग उत्तरदायी भएर काम गर्नेछ।  

लहरे बत्ती व्यवस्थापन कार्यविधिबमोजिम सजावट वा सुन्दरताका लागि कुनै पनि बोट विरुवामा लहरे बत्ती राख्न पाइँदैन। अन्य व्यावसायिक तथा सार्वजनिक स्थानमा वत्ती राख्न वातावरण व्यवस्थापन विभागका अनुमति लिनुपर्नेछ। सजावट र सुन्दरताका लागि राखिएका बत्तीको गुणस्तर, जनस्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभाव, प्राणी र जीवहरूको बास, आहार तथा आवतजावतमा पार्ने नकारात्मक असर घटाउने विषयहरू कार्यविधिमा समेटिएका छन्। कार्यविधिले जात्रा पर्वमा प्रयोग गरिने बत्तीहरू बढीमा ७ दिनसम्म राख्न सकिने व्यवस्था गरेको छ।

५ कार्यविधिमा सैद्धान्तिक सहमति
बैठकले ५ वटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ। यसरी सहमति प्राप्त कार्यविधिहरू ‘कोसेली घर सञ्चालन तथा व्यवस्थापन कार्यविधि’, ‘स्वरोजगार नगरबासी सम्बन्धी कार्यविधि’, ‘उद्यमशीलता, व्यवसाय इन्कुवेसन केन्द्र, प्रविधि अनुसन्धान, नवप्रवर्तन केन्द्र तथा कोष सञ्चालन कार्यविधि’, र ‘एग्रो पुलिङ कार्यविधि’ हुन्।

यस्तै ‘राष्ट्रिय सभा गृह सञ्चालन तथा व्यवस्थापन निर्देशिका’, ‘बाल कोष सञ्चालन मापदण्ड’ तर्जुमा गर्न, ‘नेपाल भाषा पाठ्यक्रम तथा स्थानीय पाठ्यपुस्तकहरूमा समसामयिक संशोधन तथा परिमार्जन’ ‘कल सेन्टर (सम्पर्क केन्द्र) सञ्चालन निर्देशिका, २०७९’ संशोधन गर्न सैद्धान्तिक सहमति प्राप्त भएको छ। 

महानगर सञ्चार प्रतिष्ठान गठन गर्नका लागि कार्यपालिकाले तोक्नु पर्ने १ जना महिलासहित २ जना सदस्यका विषयमा छलफल गर्दै इच्छुक नगर सभाका सदस्यलाई ७ दिनभित्र सूचना प्रविधि समितिमा इच्छा प्रकट गर्न आह्वान गरिएको छ। 

बैठकमा विषयगत समितिका संयोजकहरू नवीन मानन्धर, ख्यामराज तिवारी, रामजी भण्डारी, आशामान संगतले प्रस्ताव पेस गरेका थिए।

यस्तै राजस्व समितिका तर्फबाट विभागीय प्रमुखहरू दीपक अधिकारी, सामाजिक समितिका तर्फबाट समीक्षा निरौला, स्वास्थ्य तथा शिक्षा समितिका तर्फबाट गोविन्दप्रसाद शर्मा र दीपक केसी, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका तर्फबाट वसन्त आचार्य र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका तर्फबाट बलराम त्रिपाठीले प्रस्ताव पेस गरेका थिए।

पेस भएका प्रस्तावहरूमा कार्यपालिका सदस्यहरू सुमन श्रेष्ठ, मचाराजा महर्जन, विमलकुमार होडा, दलबहादुर कार्की, सरोज ढकाल, इश्वरमान डंगोल, बालकृष्ण महर्जन, मीना सिंह, मैयाँलक्ष्मी महर्जन र उदयचूडामणि वज्राचार्यले सुझाव तथा धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad