ग्लोबल


जसको गिरफ्तारीले झनै चर्कायो भारत-बंगलादेश तनाव

दुवैतिर प्रदर्शन र भाषणबाजी जारी रहँदा स्थिति नियन्त्रणबाहिर जाने चिन्ता
जसको गिरफ्तारीले झनै चर्कायो भारत-बंगलादेश तनाव

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १९:५३,

बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूलाई दुर्व्यवहार गरिएको आरोपपछि ढाका र नयाँ दिल्लीबीच चलिरहेको दोषारोपणमाझ स्थिति नियन्त्रणबाहिर जाने जोखिम देखिएको छ।

एकदम निकट रहेका यी दुई छिमेकीबीचको कूटनीतिक सम्बन्धमा अगस्टमा प्रधानमन्त्री शेख हसिना आन्दोलनका कारण देश छाडेर भारततर्फ भागेपछि तिक्तता आएको छ। 

गतसाता बंगलादेशमा एक साधु पक्राउ परेपछि तनाव थपिएको हो। उनको पक्राउपछि भारतीय हिन्दु संगठनहरू तथा सत्तारुढ भारतीय जनता पार्टीले समेत भारतमा प्रदर्शन गरेका छन्।

सोमबार भारतलाई लज्जित तुल्याउँदै अगरतला सहरमा अवस्थित बंगलादेशी वाणिज्यदूतावास भवनमा दर्जनौँ प्रदर्शनकारी जबर्जस्ती पसे र तोडफोड गरे।

त्यसको केही घण्टापछि आफ्नो वाणिज्यदूतावासमाथिको हमलाको विरोधमा ढाकामा विद्यार्थी तथा राजनीतिक कार्यकर्ताहरूले प्रदर्शन गरे।

भारत सरकारले यो घटनाबाट आफूलाई अलग गर्दै यसलाई ‘खेदजनक’ भन्यो।

‘कुनै पनि अवस्थामा कूटनीतिक र वाणिज्यदूतावासको सम्पत्तिलाई निसाना बनाइनु हुँदैन,’ भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भन्यो। उसले बंगलादेशका कूटनीतिक नियोगहरूको सुरक्षा बढाउने पनि बताएको छ। 

सो घटनामा संलग्न सातजना पक्राउ परेका छन्।

तर, ढाका क्रुद्ध छ।

सो आक्रमणलाई ‘घृणित’ भन्दै बंगलादेशी विदेश मन्त्रालयले यसको गम्भीर छानबिन र भविष्यमा हुनसक्ने त्यस्ता हिंसात्मक घटना रोक्न दिल्लीलाई आह्वान गरेको छ।

‘यो निकै दुर्भाग्यपूर्ण घटना हो। यो स्वीकार्य छैन। हिन्दु अतिवादीहरूले परिसरमा पसेर झण्डा फहराए र बंगलादेशी झण्डाको अपमान गरे। हाम्रा कर्मचारी निकै डराएका थिए,’ बंगलादेशका विदेशमन्त्री (सल्लाहकार) तौहिद हुसेनले भनेका छन्।

भारतीय सञ्चारमाध्यमको गलत सूचनाका कारण यस्तो घटना भएको बंगलादेशी अधिकारीहरूको भनाइ छ।

‘दुर्भाग्यवश, भारतीय सञ्चारमाध्यम पागल भएका छन्। उनीहरू बंगलादेशलाई सकेसम्म अन्धकार देखाउन चाहन्छन्। मलाई थाहा छैन, उनीहरू किन यस्तो गरिरहेका छन्, यसबाट बंगलादेश र भारतलाई के फाइदा हुन्छ,’ हुसेन भन्छन्।

तर, भारतीय विज्ञहरू भने बंगलादेशमा भएका घटनाको असर छिमेकी मुलुकमा पर्नु स्वाभाविक भएको तर्क गर्छन्।

‘भारतमा आक्रोश बढ्दैछ। बंगलादेशले पहिले त्यहाँको अराजकता र खासगरी अल्पसंख्यकमाथि भइरहेका हमला सम्बोधन गर्नुपर्छ,’ बंगलादेशका लागि पूर्व भारतीय राजदूत पिनाक रञ्जन चक्रवर्ती भन्छन्।

भारतका लागि बंगलादेश साधारण छिमेकी मात्र होइन। ऊ भारतको रणनीतिक साझेदार हो र सीमा सुरक्षाका लागि महत्त्वपूर्ण सहयोगी पनि। दुवै देशबीच निकट सांस्कृतिक र भाषिक सम्बन्ध छ।

बंगलादेशको १७ करोड जनसंख्यामध्ये १० प्रतिशतभन्दा कम हिन्दु छन्। हिन्दु समुदायका अगुवाहरूले लामो समयदेखि इस्लामिस्ट र केही राजनीतिक दलबाट आफूहरूमाथि आक्रमण भइरहेको बताउँदै आएका छन्।

अगस्टमा हसिनाको सत्ता ढलेपछि उनका समर्थकहरू निसानामा परे। तीमध्ये कयौँ हिन्दु अल्पसंख्यक थिए। जो परम्परागत रूपमा हसिनाको दलका समर्थक मानिन्छन्।

केही साताको शान्तिपछि हिन्दु अगुवा चिन्मय कृष्ण दासको गिरफ्तारीले तनाव बढाएको छ।

अल्पसंख्यकको अधिकार माग गर्दै अक्टोबरमा चट्गाउँमा प्रदर्शन गरेपछि उनलाई देशद्रोहसहितको आरोप लगाइएको थियो। प्रदर्शनमा गेरुवा झण्डा फहराएको आरोप उनीमाथि छ।

गतसाता चट्गाउँको एक अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्‍यो। जसका कारण झडप भयो र एक मुस्लिम वकिलको ज्यान गयो। सो हत्या र हिंसाका लागि दर्जनौँ पक्राउ परेका छन्।

मंगलबार चिन्मय कृष्णदासको पक्षबाट अदालतमा कुनै वकिल उपस्थित नभएपछि उनको अर्को सुनुवाइ जनवरी २ लाई सारिएको छ।

चिन्मय दास पहिले धार्मिक संगठन इस्कोनमा आबद्ध थिए। तर, ढाकास्थित इस्कोनका वरिष्ठ अधिकारी हृषिकेश गौरंगा दासले उनलाई अनुशासनको कारबाही गर्दै संगठनबाट यही वर्ष हटाइसकिएको बताएका छन्।

‘केही विद्यार्थीहरूले चिन्मय दासले आफूहरूलाई दुर्व्यवहार गरेको गुनासो गरे। त्यसैकारण हामीले यसको छानबिनमा सहयोग गर्न पत्र पठायौँ। तर, उनले अस्वीकार गरे,’ उनी भन्छन्।

तर, उनका समर्थकहरू सो आरोप झुटो भएको र इस्कोनका नेताहरूबीचको आन्तरिक किचलोको नतिजा भएको दाबी गर्छन्। उनीहरू चिन्मयले बंगलादेशको झण्डाको अपमान नगरेको बताउँछन्।

यो गिरफ्तारीले यसै तनावपूर्ण रहेको बंगलादेशको स्थितिलाई अझ भड्काएको छ। हृषिकेश बंगलादेशमा हिन्दुहरू त्रासमा बाँचिरहेको बताउँछन्।

‘के हुन्छ, उनीहरूलाई थाहा छैन। सरकारले सुरक्षा दिने कोसिस गरिरहेको छ। तर, सबै मान्छेलाई नियन्त्रण गर्न मुस्किल छ,’ उनले भने।

पछिल्ला दिनहरूमा इस्कोनका तीनवटा मन्दिरहरूमा तोडफोड गरिएको जानकारी उनले दिए।

बंगलादेशको अन्तरिम सरकार आफूलाई संवेदनशीलता अवगत रहेको र सरकारले सबै समुदायलाई समान व्यवहार गर्ने बताउँछन्।

‘हामीले इस्कोन र हिन्दु मन्दिर तथा अल्पसंख्यक क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गरेका छौँ। कहीँ छिटपुट घटना हुन सक्छन्। तर, अल्पसंख्यकमाथि सुनियोजित हमला भएको छैन,’ बंगलादेशका अन्तरिम नेता मुहम्मद युनुसका प्रेस सचिव सफिकुल आलम भन्छन्।

तर, यस क्षेत्रमा धार्मिक तनाव नयाँ कुरो होइन। उत्तेजक अभिव्यक्ति र प्रदर्शन जारी रहे स्थिति अनियन्त्रित हुने चिन्तामा दुवै पक्षका कार्यकर्ताहरू चिन्तित छन्।

हसिनाले भारतमा पाएको शरणले पनि दुई देशबीचको सम्बन्धमा तिक्तता थपेको छ। यो दुवै देशमा जारी प्रदर्शनका कारण अझ बिग्रिने देखिन्छ। 

भारत र बंगलादेशलाई एकअर्काको सहयोग आवश्यक रहेकाले दुवै पक्षले बयानबाजी कम गर्नुपर्ने विज्ञहरूको राय छ। यस्ता प्रदर्शनले भारतमा व्यापार, पर्यटन र उपचारका लागि जाने बंगलादेशीहरू प्रभावित भएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad