ग्लोबल


उत्तर कोरियाले रुसलाई सहयोग गरेको खुलासा भएपछि युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा

उत्तर कोरियाले रुसलाई सहयोग गरेको खुलासा भएपछि युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा

फाइल तस्बिर: युक्रेनी रक्षा मन्त्री रुस्टेम उमरोभ


नेपालखबर
मंसिर १२, २०८१ बुधबार २०:४, सोल

युक्रेनलाई दक्षिण कोरियाको सम्भावित सैन्य सहयोगबारे अधिकारीहरूबीच छलफल हुने समाचारपछि युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा आइपुगेको र द्विपक्षीय बैठक गरिरहेको किएभले बुधबार जनाएको छ।

उत्तर कोरियाले युक्रेनविरुद्ध रुसको युद्ध प्रयासलाई सहयोग गर्न हजारौँ सेना तैनाथ गरेको खुलासा भएपछि दक्षिण कोरियाले द्वन्द्वमा रहेका देशहरूलाई हतियार उपलब्ध नगर्ने लामो समयदेखि रहेको नीतिलाई उल्टाउन सक्ने सङ्केत गरेपछि यो भ्रमण भएको हो।

युक्रेनी रक्षा मन्त्रालयले रक्षा प्रमुख रुस्टेम उमरोभ पहिले नै दक्षिण कोरियामा रहेको र त्यहाँ उनका बैठक जारी रहेको एएफपीसँग पुष्टि गरेको छ।

दक्षिण कोरियाली मिडियाले उमरोभ र राष्ट्रपति युन सुक येओलबीचको योजनाबद्ध बैठक भएको रिपोर्ट गरेको थियो। यद्यपि राष्ट्रपति कार्यालयले पुष्टि गर्न अस्वीकार गरेको थियो। 

युक्रेनी प्रतिनिधिमण्डलले ‘रुसमा उत्तर कोरियाको सेनाको तैनाथीबारे खुफिया जानकारी साझा गर्ने’ र किएभको युद्ध प्रयासका लागि सोलको समर्थन खोज्ने अपेक्षा गरिएको दक्षिण कोरियाली योन्हाप समाचार एजेन्सीले अज्ञात स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत महिना दक्षिण कोरियाली मिडियालाई दिएको अन्तर्वार्तामा आफ्नो देशले आवश्यक सैन्य सहयोगको सूची पेस गर्ने तयारी गरिरहेको बताएका थिए। 

‘यो हाम्रो दूतसँग एकैसाथ गरिनेछ, जो चाँडै दक्षिण कोरियाको भ्रमण गर्नेछन् र हतियार समर्थनमा छलफल हुनेछ’, जेलेन्स्कीले केबिएसको प्रतिलिपिअनुसार भने। उनले सूचीमा तोपखाना र वायु रक्षा प्रणालीहरू समावेश हुने बताए। 

यसअघि यही महिना राष्ट्रपति युनले दक्षिण कोरियाले युक्रेनलाई प्रत्यक्ष सहयोग गर्ने कि नगर्ने र कसरी गर्ने भन्ने निर्णय ‘उत्तर कोरियाको संलग्नताको स्तर’ मा निर्भर हुने र सोलले ‘हतियार प्रदान गर्ने सम्भावनालाई अस्वीकार  गरिरहेको छैन’ भनेका थिए।

युनका अनुसार यदि दक्षिण कोरियाले हतियार आपूर्ति गर्छ भने सुरुको खेप प्रकृतिजन्य (रक्षात्मक) हुनेछ।

युक्रेन रुसी मिसाइल बरबरताबाट आफूलाई बचाउन पश्चिमी वायु रक्षा प्रणालीहरू विशेष गरी प्याट्रियोट्समा निर्भर छ र थप आपूर्तिका लागि आह्वान गरिरहेको छ।

आणविक हतियार भएको उत्तर कोरियासँग प्राविधिक रूपमा युद्धमा रहेको र पश्चिमी हतियार उद्योगले लामो समयदेखि बेवास्ता गरेको हतियारको उत्पादन कायम राखेको दक्षिण कोरियाले हतियार आपूर्ति गर्ने निर्णय गरेमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने विज्ञहरूले बताएका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad