अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका जय भट्टाचार्यलाई आफ्नो टोलीको शीर्ष प्रशासनिक पदमा नियुक्त गरेको घोषणा गरेका छन्।
जय भट्टाचार्य कोरोना कालमा गरिएको लकडाउनको विरोधमा थिए। ट्रम्पले उनलाई अमेरिकाको मुख्य जनस्वास्थ्य निकायको अर्को निर्देशक पदका लागि मनोनयन गरेका हुन्।
नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) को जिम्मेवारी लिन स्ट्यानफोर्ड विश्वविद्यालयबाट प्रशिक्षित चिकित्सक र अर्थशास्त्रीलाई चयन गरेको ट्रम्पले बताएका छन्।
एनआईएच विश्वको सबैभन्दा ठूलो सरकारी वित्त पोषित बायोमेडिकल अनुसन्धान संस्था हो।
भट्टाचार्य कोभिड-१९ को समयमा ठूला स्तरमा गरिएको लकडाउनको खुलेर विरोध गर्दा चर्चामा आएका थिए।
ट्रम्पले अर्को वर्ष जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्।
यस महिनाको सुरुमा ट्रम्पले आफ्ना पूर्वप्रतिद्वन्द्वी रोबर्ट एफ केनेडी जुनियरलाई अमेरिकी स्वास्थ्य विभागको जिम्मेवारी सुम्पेका छन्।
केनेडी कोभिड भ्याक्सिनको कडा आलोचक थिए, जसका कारण चिकित्सा जगत्सँग सम्बन्धित व्यक्तिले उनको नाममा आपत्ति जनाएका थिए।
Shares

प्रतिक्रिया