इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले आफूविरुद्ध जारी गरेको पक्राउ पुर्जीको आलोचना गर्दै यसलाई ‘यहुदी विरोधी’ निर्णय भनेका छन्।
आफ्नो एक्स खातामा भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्- आईसीसीले जानाजानी गाजामा नागरिकहरूलाई लक्षित गरेको गलत आरोप लगाउँदै छ। तर हामीले नागरिकको हताहती रोक्न सबै काम गरेका छौँ।’
आईसीसीले नेतन्याहुसहित इजरायलका पूर्वरक्षामन्त्री योअभ गालान्ट र हमास कमान्डर मोहम्मद डेफविरुद्ध पनि लाई पनि युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ।
इजरायलले जुलाईमा गाजामा भएको आक्रमणमा डेफ मारिएको बताएको थियो। तर, आईसीसीले उनलाई मृत मानेको छैन।
बिहीबार जारी आफ्नो बयानमा नेतन्याहुले भनेका छन्- हेगको अदालत (आईसीसी) ले हामीलाई जानाजानी भोकमरीको नीति अपनाएको आरोप लगाएको छ। तर हामीले गाजाका जनतालाई ७ लाख टन खाद्यान्न पठाएका छौँ। सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न हामीले लाखौँ सन्देश पठाएका छौँ, फोन गरेका छौँ र पर्चा वितरण गरेका छौँ। तर हमासले उनीहरूलाई हानि पुर्याउन, उनीहरूलाई ढालको रूपमा प्रयोग गरिरहेका छन्।’
आफ्नो भिडिओ सन्देशसँगै नेतन्याहुले लेखेका छन्- हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतको यहूदीविरोधी निर्णय आजको ड्रेफस मुद्दा हो र यो त्यसैगरी अन्त्य हुनेछ।
अल्फ्रेड ड्रेफस एक फ्रान्सेली आर्टिलरी अफिसर थिए, जो यहुदी थिए। १८९४–१९०६ को बीचमा उनी यहुदी विरोधीका कारण षड्यन्त्रको सिकार भए र जर्मन जासुस भएको आरोप लगाइयो। उनलाई आजीवन कारावासको सजाय सुनाइयो तर पछि निर्दोष पाइयो। यो प्रकरणलाई ड्रेफस अफेयर भनिन्छ।
Shares

प्रतिक्रिया