भारतीय राज्य उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा मृत्यु भएका १० जना नवजात शिशुको परिवारका लागि भारत सरकारले सहयोग रकम घोषणा गरेको छ।
प्रधानमन्त्री कार्यालय (पीएमओ) को आधिकारिक एक्स ह्यान्डलमार्फत अस्पतालमा भएको आगलागीमा परी मृत्यु तथा घाइते भएका शिशुका परिवारका लागि सहयोग राशि उपलब्ध गराइने घोषणा गरिएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेज, बालरोग विभागको एसएनसीयू वार्डमा शुक्रबार राति भीषण आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको हो। घटनामा ३७ शिशु घाइते भएका छन्।
पीएमओ पोस्टका अनुसार, घटनामा मृत्यु भएका नवजात शिशुको परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २ लाख रुपैयाँ सहयोग रकम दिइनेछ भने घाइते शिशुका परिवारलाई ५० हजार रुपैयाँ सहयोग पाउनेछन्।
उत्तर प्रदेशको मुख्यमन्त्रीको कार्यालय (सीएमओ) ले पनि पीडितका लागि सहयोगको घोषणा गरेको छ।
यूपी सीएमओले घोषणा गरेको छ- मृतक नवजात शिशुको परिवारलाई जनही ५ लाख रुपैयाँ र घाइते नवजात शिशुलाई ५०/५० हजार रुपैयाँ सहयोग रकम दिन निर्देशन दिइएको छ।
Shares

प्रतिक्रिया