डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने भएपछि केही मुलुकका प्रमुखहरू थरथर काँपिरहेका छन्। तर, विश्व राजनीतिको एउटा खेमाले भने खुलेआम खुसी व्यक्त गरिरहेको छ। दक्षिणपन्थी पपुलिस्टहरू ट्रम्पको पुनरागमनको सराहना गरिरहेका छन्। जसले तिनको एजेन्डालाई मान्यता दिनुका साथै विस्तार गर्न सक्छन्।
अर्जेन्टिना, ब्राजिल, नेदरल्यान्ड्स, हंगेरी, जर्मनी र टर्कीका राष्ट्रवादीहरूले ट्रम्पको प्रशंसा गरेका छन्, बधाई दिएका छन्। ट्रम्प ‘कल्चर वार’ मा शक्तिशाली सहयोगी हुने उनीहरूको आशा छ। अवैध आप्रवासी, जलवायु मुद्दालगायतमा तिनको धारणा समान छ भने उनीहरू लोकतन्त्रको क्षयलाई पनि सहने गर्छन्। दीर्घकालमा आयातमा कर थोपर्नेलगायतका ट्रम्पका नीतिले उनीहरूलाई पनि पिर्नेछ। तर, अहिलेका लागि उनीहरू उत्सव मनाइरहेका छन्।
‘यो चुनावको फैसला ‘वोक’ हलिउडले होइन, कामकाजी अमेरिकी जनताले गरेका हुन्,’ जर्मनीको चरम दक्षिणपन्थी दल एएफडीका नेता एलिस वाइडेलले एक्समा लेखेकी छन्, ‘अमेरिकी चुनाव सामूहिक आप्रवासन, आर्थिक पतन, जलावायु विचारधारा र लैंगिक मुद्दाविरुद्ध थियो।’
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सर्वसत्तावादीहरूलाई सान्त्वना दिने काम गरे। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका किम जोङ उन र फिलिपिन्सका तत्कालीन राष्ट्रपति रोड्रिगो डुटेर्टेको बारम्बार प्रशंसा गरे। तिनले गरेका अधिकार हनन्, विपक्षीहरूमाथिको दमनलाई वास्ता गरेनन्। ‘फेक न्युज’ भन्ने पदावलीलाई लोकप्रिय बनाउँदै जवाफदेहीबाट पन्छिने नयाँ तरिका खोजे। आप्रवासन रोक्न पर्खाल लगाउने बताए, अन्तर्राष्ट्रिय जलवायु सम्झौताहरूबाट पछि हटे र ‘वोक (जागरुक) विरुद्धको युद्ध’लाई बढावा दिए।
विश्लेषकहरू ट्रम्पको आगामी कार्यकालमा पनि त्यस्तै हुने बताउँछन्। तर, अझ ज्यादा जोडतोडका साथ। जसका कारण विदेशी पपुलिस्ट र राष्ट्रवादीले झट्का साथ लय प्राप्त गर्ने छन्।
‘मलाई लाग्छ, यसले उनीहरूको हौसला बढ्नेछ। अब उनीहरूलाई हामी इतिहास बनाउँदै छौँ भन्ने महसुस भएको हुनसक्छ,’ इटलीस्थित युरोपियन युनिभर्सिटी इन्स्टिच्युटको रोबर्ट सुम्यान सेन्टरकी राजनीतिक विश्लेषक क्याथरिन फिस्की भन्छिन्।
युरोपका राष्ट्रवादी नेताहरू युक्रेनमा गइरहेको पैसा रोक्ने, ग्रिनहाउस ग्यास उत्सर्जन कटौती गर्न लागू गरिएका नियम उल्ट्याउने र सामाजिक सञ्जालमाथिको नियमन हटाउने कार्यमा ट्रम्पलाई साझेदारका रूपमा आफूहरूले हेर्ने बताउँछन्।
‘डोनाल्ड ट्रम्पले हामीलाई आउँदा केही वर्षका लागि युक्रेन युद्ध, ग्रिन डिल र डिजिटल सर्भिस एक्टबाट छुटकारा दिलाउने छन्,’ एएफडीका नेता तथा युरोपेली संसदका सदस्य म्याक्सिमिलियन क्रा भन्छन्, ‘र, उनले हामीलाई राजनीतिक रूपमा सास फेर्ने ठाउँ दिँदै छन्।’
इटलीमा ट्रम्पको विजयलाई सामाजिक अनुदारवादको विजयको रूपमा प्रचार गरिँदै छ।
‘यो चुनाव बाइडेन प्रशासनले लागू गरेको तथा भीआईपी तथा मूलधारका मिडियाले प्रचार गरेको गर्भपतन तथा लिंगसम्बन्धी कट्टर एजेन्डाको हार हो,’ त्यहाँका अनुदार एड्भोकेसी ग्रूप प्रोभिटा र फेमिग्लियाले वक्तव्यमा भनेका छन्।
इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीको सरकारले अन्तर्राष्ट्रिय सरोगेसीलाई हालै प्रतिबन्ध लगाएको थियो। त्यो कानुनको बाइडेन प्रशासनले आलोचना गरेका थिए।
‘अमेरिकाले पश्चगामी कदमलाई हतोत्साहित गर्दै आएको थियो। त्यो किल्ला अब पूरै भत्किनेछ,’ इटलीको सबैभन्दा ठूलो समलिंगी अधिकार समूहका महासचिव ग्याब्रिएल पियाजोनी भन्छन्।
नेदरल्यान्ड्समा ट्रम्पकै विचारधारा र हेयरस्टाइल भएका चरम दक्षिणपन्थी गिर्ट वाइल्डर्सको पार्टी सत्ता साझेदार छ। ट्रम्पको विजयमा खुसी मनाउँदै वाइल्डर्सले एक्समा लेखे, ‘संसारभरि देशभक्तहरूले चुनाव जित्दै छन्। उदार–वामपन्थबाट प्रेरित, अविश्वास र घृणाले भरिएका शून्यवादीहरू जनचाहना पूरा गर्न सक्षम छैनन्। स्वतन्त्रता र राष्ट्र पहिलो, आफ्नो जनता पहिलो र सबैभन्दा मुख्य कुरा अवैध आप्रवासन बन्द।’
ट्रम्पको विजयलाई वाइल्डर्सले डच संसदमा आप्रवासीविरोधी नयाँ कार्यक्रम अघि बढाउन उपयोग गर्न सक्छन्। जसले पारिवारका सदस्यहरूको पुनर्मिलनको नियममा कडाइ गर्नेछ, अस्थायी भिसाको अवधि घटाउने छ र अस्वीकृत शरणार्थीहरूलाई फर्काउन सिरियाको केही हिस्सालाई सुरक्षित घोषित गर्नेछ।
‘हेर त दुनियाँभरि यस्तै भइराखेको छ, हामीले पनि आप्रवासन रोक्नुपर्छ भनेर वाइल्डर्सले यसलाई उपयोग गर्नेछन्,’ पूर्वसिनेटर तथा डच राजनीतिक विश्लेषक रुड कुल भन्छन्।
यो क्षेत्रमा ट्रम्पको सबैभन्दा बलियो सहयोगी भने हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बान हुन्। जसले अदालतलाई हात लिएर स्वतन्त्र प्रेस, गैरसरकारी संघसंस्था र राजनीतिक विपक्षीहरूमाथि दमन गरेका छन्। बाइडेनले उनीमाथि दिँदै आएको दबाब अब हट्न सक्नेछ। अर्बानलाई ट्रम्पले ‘सानदार’ नेता भन्ने गरेका छन्।
ट्रम्पको जितलाई अर्बानले ‘विश्वका लागि अति आवश्यक विजय’ भन्दै स्वागत गरेका छन्।
तर, पपुलिस्ट राष्ट्रवादीहरूको आपसी सम्बन्ध दुम्सीको संसर्गजस्तो हुने गर्छ, निकै असजिलो।
चीनले युरोप पस्ने जस्केलाको रूपमा अर्बानको उपयोग गरेको छ। यो विषयले ट्रम्प र उनीबीच दरार पैदा गर्न सक्छ। युरोपको अर्की प्रमुख चरम दक्षिणपन्थी नेतृ फ्रान्सकी मरिन ल पेन आफ्ना समकक्षीहरूभन्दा कम उत्साहित देखिइन्।
फ्रान्सेली जनतामाझ ट्रम्प यति बदनाम छन् कि उनीसँग ज्यादा निकट देखिनु ल पेनले हानिकारक ठानेकी हुन सक्छिन्। उसो त उनको राष्ट्रवादी आन्दोलनमा केही हदसम्म अमेरिकाविरोधी र रुससमर्थक भावना पनि देखिन्छ।
उनका प्रमुख सहयोगी जोर्डन बार्डेलाले बुधबार भनेका छन्, ‘ट्रम्पको विजयलाई हाम्रो हित र हाम्रो पहिचानको रक्षार्थ ब्युँझिने घण्टीका रूपमा लिनुपर्छ।’
विश्लेषकहरूका अनुसार ट्रम्प र युरोपका राष्ट्रवादीहरूबीच जेजस्तो वैचारिक सम्बन्ध छ, त्यसलाई व्यापार युद्धले भत्काउन सक्छ।
ट्रम्पले केही नेतालाई वफादारीको बदलामा व्यापारमा छुट दिने सम्भावना रहे पनि त्यसले सम्बन्ध टिकाउन मुस्किल पर्ने फिस्की बताउँछिन्।
ल्याटिन अमेरिकामा ट्रम्पका नयाँ र पुराना सहयोगीहरूले पनि खुसी मनाए। ऋणसँग जुधिरहेको अर्जेन्टिनाका राष्ट्रपति हाबियर मिलेइले एडिट गरेर तयार गरिएको एउटा तस्बिर पोस्ट गरेका छन्। जसमा उनी र ट्रम्प अंकमाल गरिरहेका देखिन्छन्।
ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोजति अन्तर्राष्ट्रिय मञ्चमा ट्रम्पप्रति समर्पित अरु कोही थिएन। उनले २०२२ मा चुनाव हारे। ट्रम्पको विजयले २०२६ मा चुनाव उठ्न प्रतिबन्ध लगाउने अदालतको फैसला उल्ट्याउन उनलाई सघाउने बोल्सोनारोका सहयोगीहरूको भनाइ छ।
‘ट्रम्पको विजयले ब्राजिललाई उही मार्गमा लैजान प्रेरित गरोस्,’ उनले एक्समा लेखेका छन्।
दुई सरकारबीच तनाव हुँदा पनि ट्रम्पको पहिलो कार्यकालमा उनी र टर्कीका निरंकुश राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच न्यानो सम्बन्ध थियो।
एर्दोगान गाजा र लेबनानमा इजरायलको आक्रमणको मुखर आलोचक तथा प्यालेस्टिनी लडाकु समूह हमासको समर्थक हुन्। यसले अहिले ट्रम्पसँगको उनको सम्बन्धमा बाधा ल्याउन सक्छ। नेटो सदस्य टर्कीले रुस र युक्रेनबीच पनि मध्यमार्गको खोजी गरेको छ। आफ्नो सरकारले युक्रेनलाई सघाउँदा पनि एर्दोगानले पुटिनसँग निकट सम्बन्ध राखिरहे।
उनले बुधबार ट्रम्पलाई मित्र भन्दै बधाई दिए।
‘यो नयाँ युगमा मलाई आशा छ, टर्की–अमेरिका सम्बन्ध बलियो हुनेछ,’ उनले लेखेका छन्, ‘क्षेत्रीय र विश्वव्यापी संकट र युद्ध, खासगरी प्यालेस्टिनी मुद्दा र रुस–युद्ध अन्त्य हुनेछ।’
(वासिङ्टन पोस्टबाट)
Shares

प्रतिक्रिया