भारतमा विमानलाई दैनिक बमको धम्की आउने सिलसिला जारी छ।
भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार पनि २७ विमानलाई बमको धम्की आएको छ। इन्डिगो, विस्तारा र स्पाइसजेटका ७/७ र एअर इन्डियाका ६ उडानलाई बमको धम्की आएको हो।
बमको धम्की पाएका इन्डिगोका ७ उडानमध्ये ६ वटा ६ई २००९ (उदयपुरबाट दिल्ली), ६ई ११ (दिल्लीबाट इस्तानबुल), ६ई ५८ (जेद्दाबाट मुम्बई), ६ई १७ (मुम्बईबाट इस्तानबुल), ६ई १०८ (हैदराबादबाट चन्डीगढ) र ६ई १३३ (पुणेबाट जोधपुर) विमान हुन्।
उदयपुरबाट दिल्लीको उडान ६ई २००९ लाई उडान भर्नुभन्दा १० मिनेटअघि धम्की आएको थियो। त्यसपछि विमानबाट सबै सवार यात्रुलाई ओरालिएको थियो। विमानभित्र र यात्रुका झोला जाँच गरिएको थियो। बमको अलर्ट गलत साबित भएपछि ३.५ घण्टापछि विमान उडान गरिएको थियो।
पछिल्ला १२ दिनमा २८० भन्दा बढी भारतीय उडानमा बमको धम्की आएको छ। सबैभन्दा धेरै धम्की सामाजिक सञ्जालमार्फत दिइएका छन्। केन्द्रीय सरकारले सामाजिक सञ्जाल प्लेटफर्म मेटा र एक्सलाई नक्कली बम धम्की सन्देशको डेटा साझा गर्न आग्रह गरेको छ।
बिहीबार पनि ८५ वटा भारतीय विमानलाई बमको धम्की दिइएको थियो।
Shares

प्रतिक्रिया