बंगालको खाडीबाट उत्पन्न चक्रवाती तुफान ‘दाना’ शुक्रबार बिहान करिब २ बजे भारतीय राज्य ओडिसाको तटमा बज्रिने अनुमान गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार यसको असर पश्चिम बंगालमा पनि पर्नेछ। अहिले तटीय क्षेत्र (धाम्रा) मा ७० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ।
भुवनेश्वर मौसम विज्ञान केन्द्रका अनुसार आँधी भितरकनिका राष्ट्रिय निकुञ्ज र ओडिसाको धाम्रा बन्दरगाहनजिक पुग्नेछ। यसको ल्यान्डफल (जमिनमा प्रवेश गर्ने) प्रक्रिया ५ घण्टासम्म चल्नेछ र यो १२० किलोमिटर प्रतिघण्टाको गतिमा ओडिसाको उत्तरी भागबाट पार हुनेछ।
‘दाना’ को प्रभावले भद्रक, केन्द्रपारालगायतका केही स्थानमा ३० सेन्टिमिटरभन्दा बढी अर्थात् १२ इन्चभन्दा बढी पानी पर्ने सम्भावना छ। बाँकी तटीय क्षेत्रमा २० सेन्टिमिटरसम्म वर्षाको सम्भावना छ। ओडिसाका १४ जिल्लामा १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
दानाको खतरालाई विचार गरी पश्चिम बंगाल सरकारले हालसम्म प्रभावित क्षेत्रबाट १ लाख ५९ हजार ८३७ जनालाई सुरक्षित स्थानमा सारेको छ। जसमध्ये ८३ हजार ५३७ जनालाई राहत शिविरमा सारिएको छ।
Shares

प्रतिक्रिया