ग्लोबल


राष्ट्रपतिको उम्मेदवारी स्वीकार्दै कमला ह्यारिसले दिइन् यी ४ कुरामा जोड

राष्ट्रपतिको उम्मेदवारी स्वीकार्दै कमला ह्यारिसले दिइन् यी ४ कुरामा जोड

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १५:०,

कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीको उम्मेदवारी औपचारिक रूपमा स्वीकार गरेकी छन्। उनले आफ्ना एजेन्डा प्रस्तुत गर्दै भाषण दिइन्। 

‘तपाईं को हो, अरु कसैलाई कहिल्यै भन्न नदिनुस्,’ ह्यारिसले भनिन्, ‘तपाईं को हो, त्यो तपाईंले नै देखाउनुस्।’

उनले अमेरिकी मतदातालाई आफू को हो र चुनाव जिते के गर्छु भन्ने कुरा बताउनमा करिब ४५ मिनेट खर्चिइन्।

उनको भाषणका चार प्रमुख विषय यी हुन्ः

मध्यमवर्गीय मूल
उनी को हुन्, धेरैलाई थाहा छ। तर, उनी केमा विश्वास गर्छिन् र उनको पृष्ठभूमि कस्तो थियो भन्ने विस्तृत विवरण कमैलाई थाहा छ। भाषणमा उनले यही बताउने कोसिस गरिन्।

उनले भारतबाट अमेरिकासम्म आप्रवासीका रूपमा आफ्नी आमाको यात्रा स्मरण गरिन्। उनका आमाबुवा कसरी भेटिए, कसरी उनीहरूको सम्बन्धविच्छेद भयो, त्यो सुनाइन्। क्यालिफोर्नियामा कामदार वर्गको परिवारमा कसरी आफू हुर्किएको थिएँ भनेर वर्णन गरिन्।

‘म मध्यम वर्गकी हुँ। मेरी आमा खर्चको मामिलामा कडा हुनुहुन्थ्यो। हामी आफ्नो कमाइभित्र बाँच्थ्यौँ। र, पाएजति अवसरको फाइदा उठाउन उहाँले हामीलाई प्रेरित गर्नुभयो,’ उनले भनिन्।

‘मेरो सिंगो करिअरमा एक मात्र ग्राहक थिए,’ उनले वकिल र सरकारी वकिलका रूपमा काम गर्दाको कुरा गरिन्, ‘ती थिए जनता।’

भविष्यको दृष्टिकोण
उनले तिक्तता र विभाजनकारी लडाइँ छाडेर एकताबद्ध हुन आह्वान गरिन्। उनले अमेरिकासामु नयाँ यात्रा सुरु गर्ने मौका रहेको बताइन्, तर त्यसको व्याख्या गरिनन्।

उनले दैनिक आवश्यकताको खर्च घटाउने वाचा गरिन्। गर्भपतनको अधिकार रक्षा गर्ने पनि बताइन्।

भाषणमा उनले आफूलाई मध्य–वामपन्थीका रूपमा प्रस्तुत गरिन्। 

गाजा युद्धबारे पुरानै सन्देश
पार्टी सम्मेलनस्थलबाहिर प्यालेस्टाइन समर्थकहरूको जुलुस थियो। उनी भाषणमा विदेश नीतिको चर्चा गर्दा गाजा युद्धमा केन्द्रित भइन्। 

तर, उनका धारणा बाइडेनको भन्दा फरक थिएन। 

‘राष्ट्रपति बाइडेन र म चौबीसै घण्टा काम गरिरहेका छौँ। किनकि बन्धक छुटाउने र युद्धविरामको सम्झौता गर्ने समय यही हो,’ उनले भनिन्।

उनले सधैँ इजरायलको आत्मरक्षाको क्षमता सुनिश्चित गर्ने बताइरहँदा भीडमा असन्तुष्टिको गाइँगुइँ सुनिएको थियो। तर, तत्कालै उनी प्यालेस्टिनीहरूले भोगेको पीडाबाट कुरा गर्न थालिन्।

यद्यपि, उनको भाषणबाट प्यालेस्टाइन पक्षधरहरू निराश बनेका छन्।

ट्रम्प मान्छे गम्भीर नभए पनि गम्भीर खतरा हुन्
उनले आफ्ना प्रतिस्पर्धी डोनाल्ड ट्रम्पले जिते अमेरिकाले दुर्दशा भोग्नुपर्ने बताइन्।

‘धेरै तरिकाले डोनाल्ड ट्रम्प गम्भीर मान्छे होइनन्,’ उनले भनिन्, ‘तर, उनलाई फेरि ह्वाइट हाउस पु¥याए त्यसको नतिजा भयानक गम्भीर हुनसक्छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad