माओ चेतुङका निजी सचिवको डायरी कसले पाउने भन्ने विषयमा अमेरिकाको क्यालिफोर्नियामा मुद्दाको सुनुवाइ सुरु भएको छ।स्ट्यानफोर्ड युनिभर्सिटी र डायरी लेखककी श्रीमतीबीच सो मुद्दा चलिरहेको हो।
डायरी भने दिवंगत ली रुइको हो। जो कुनै समय जनवादी गणतन्त्र चीनका संस्थापक नेता माओका सचिव थिए।
लीको मृत्युपछि २०१९ मा उनकी पत्नी चाङ युचेनले अमेरिका पुगेका डायरीको स्वामित्व आफूसँग भएकाले चीन फर्काउन भन्दै मुद्दा दिएकी थिइन्।
स्ट्यानफोर्डले भने लीका डायरी चीनमा नष्ट गरिने डरका कारण उनकी छोरीले आफूहरूलाई दान गरेको भन्दै फिर्ता गर्न अस्वीकार गरेको थियो।
लीले ती डायरीहरू १८३५ देखि २०१८ को बीचमा लेखेका थिए।
ती डायरी उनी जिउँदो छँदै २०१४ देखि उनकी छोरी ली नानयाङले स्ट्यानफोर्डको हुभर इन्स्टिच्युसनलाई दिन थालेकी थिइन्।
तर, उनकी सौतेनी आमा चाङले २०१९ मा चीनमा उनीविरुद्ध मुद्दा हालेकी थिइन्। पति लीले कुन कुन दस्तावेज सार्वजनिक गर्ने वा नगर्ने भन्ने निर्णयको अधिकार आफूलाई दिएको भन्दै सौतेनी छोरीले स्ट्यानफोर्डलाई डायरी दिनु गलत भएको उनको तर्क थियो।
बेइजिङको अदालतले उनको पक्षमा फैसला गर्यो र डायरी उनलाई हस्तान्तरण गर्न आदेश दियो। तर, स्ट्यानफोर्डले त्यसलाई अस्वीकार गर्यो।
त्यसपछि स्ट्यानफोर्डले डायरीको वैध स्वामित्व युनिभर्सिटीमा रहेको फैसला गरिदिन माग गर्दै चाङविरुद्ध क्यालिफोर्नियामा मुद्दा दर्ता गरेको हो। जसमा सोमबारबाट सुनुवाइ सुरु भएको छ।
स्ट्यानफोर्डलाई डायरीको नक्कल प्रति राख्ने अधिकार पहिले नै दिइसकिएको छ। तर, सक्कल प्रति पनि राख्न पाउनुपर्ने उनीहरूको माग छ।

ली कम्युनिस्ट पार्टीका मुखर कार्यकर्ता थिए। उनलाई देखेर माओले १९५० को दशकमा आफ्नो निजी सचिव बनाए। तर, उनी सो पदमा लामो समय टिकेनन्।
एक बैठकमा माओको आलोचना गरेपछि उनलाई पार्टीबाट निकालियो र वर्षौं जेलमा हालियो।
१९७६ मा माओको मृत्युपछि उनी फेरि उदाए। उनी जलविद्युत् मन्त्री समेत बने।
अवकाशपछि पनि उनी नेताहरूको चर्को आलोचना गर्थे। उनले वर्तमान राष्ट्रपति सी चिनफिङको ‘अपठित’ भन्दै आलोचना गरेका थिए। जसका कारण चीनमा उनको लेखन र पुस्तकमा प्रतिबन्ध लगाइएको थियो।
तर, पार्टीका पुराना नेता भएकाले उनलाई सम्मानका साथ व्यवहार गरिन्थ्यो भने सरकारले दिने सुविधा पनि दिइएको थियो। मृत्युपछि उनको राजकीय सम्मानसाथ अन्तिम संस्कार गरिएको थियो।
आफ्ना डायरीहरूमा उनले पार्टी राजनीति, नियम र घटनाहरूको बारेमा विस्तृतमा लेखेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया