ad ad

ग्लोबल


यी ‘अलोकप्रिय’ नेता, जो बन्दैछन् बेलायतको नयाँ प्रधानमन्त्री

यी ‘अलोकप्रिय’ नेता, जो बन्दैछन् बेलायतको नयाँ प्रधानमन्त्री

नेपालखबर
असार २०, २०८१ बिहिबार १७:०,

भयंकर उथलपुथल नभए अब किअर स्टारमर बेलायतको नयाँ प्रधानमन्त्री हुनेछन्। १४ वर्षपछि उनको लेबर पार्टीले भारी बहुमतसहित कन्जरभेटिभ पार्टीलाई सत्ताबाट हटाउँदैछ।

तर, कुनै समयको सर्वशक्तिमान साम्राज्य र अहिलेको छैटौँ ठूलो अर्थतन्त्र बेलायतको नेतृत्व गर्न लागेका यी ६१ वर्षीय नेता कस्ता मान्छे हुन् भन्नेबारे मानिसहरूमा एकमत छैन। 

एकातिर उनी यो पुस्ताका नेतामध्ये सबैभन्दा गरिब परिवारका सन्तान हुन् भने अर्कोतिर १९५० को दशकपछि प्रधानमन्त्री बन्नुअघि नै राजपरिवारबाट ‘सर’को उपाधि पाउने पहिलो नेता पनि हुन्। 

उनी शाकाहारी हुन् र आफूलाई समाजवादी भन्ने गर्छन्। तर, थुप्रै वामपन्थीहरू उनलाई घृणा गर्छन् र सत्ताका लागि दक्षिणपन्थतिर ढल्केको आरोप लगाउँछन्।  मित्रहरू उनलाई मिलनसार र खरो फुटबलप्रेमी भन्छन्। तर, सार्वजनिक रूपमा उनी अररो र तेजहीन देखिन्छन्।

अमिल्दो कुरा– पार्टीको नेताप्रति जनमत यति उदासीन हुँदाहुँदै उनको पार्टीले चुनावमा फराकिलो जित हात पार्ने देखिन्छ।

उनका समर्थकहरू भन्छन् : स्टारमर प्रगतिशील मूल्यहरूलाई व्यावहारिक यथार्थसँग मिसाउन खप्पिस छन्। आलोचकहरूको तर्क छ : उनी अराजनीतिक र अस्थिर मान्छे हुन्, जित्नका लागि जे आवश्यक छ, उनी त्यही भन्छन्।

सुरुवाती जीवन
स्टारमर २ सेप्टेम्बर १९६२ मा दक्षिण लन्डनको साउथवार्कमा जन्मिएका हुन्। लेबर पार्टीका संस्थापक किअर हार्डीबाट प्रभावित भएर उनको नाम राखिएको बताइन्छ।

तर, उनले एक अन्तर्वार्तामा आफूले बुवाआमासँग यसबारे कहिल्यै कुरा नगरेकाले यसै भन्न नसक्ने बताएका छन्।

अन्य तीन सहोदरका साथ उनी सर्रीस्थित अक्सटेड नामक सानो सहरमा हुर्किए। जहाँ उनका पिता रड्नी औजार बनाउने काम गर्थे भने आमा जोसेफाइन सरकारी नर्स थिइन्।

उनकी आमा एउटा दुर्लभ किसिमको बाथका कारण हिँड्न, बोल्न र खान नसक्ने भएकी थिइन्। २०१५ मा उनको निधन भएको थियो। 

किशोरावस्थामै उनी आमाबुवाबाट प्रभावित भएर लेबर पार्टीमा लागे। 

राइगेट ग्रामर स्कुल पास भएपछि उनले लिड्स युनिभर्सिटीमा कानुन पढे। उनी विश्वविद्यालय जाने परिवारको पहिलो सदस्य थिए। त्यसपछि अक्सफोर्डबाट उनले पोस्टग्य्राजुएट गरे।

उनको पिताको २०१८ मा निधन भयो, जोसँग निकट सम्बन्ध नरहेकोमा उनले पछुतो व्यक्त गरेका छन्।

स्टार वकिल
युनिभर्सिटीबाट निस्केपछि स्टारमर वामपन्थीहरूमाझ वैचारिक वकिलका रूपमा उदाए।

उनले कट्टर वामपन्थी जर्नल सोसलिस्ट अल्टरनेटिभ्सको स्थापना र सम्पादनमा सघाए। सो जर्नललाई त्रोत्स्कीपन्थी भन्ने गरिन्थ्यो, जसको पाँच प्रति मात्र बिकेको भन्दै उनले मजाक गरेका थिए।

१९८७ मा उनले ब्यारिस्टरका रूपमा काम गर्न थाले। १९९० सम्ममा उनी चर्चित मानव अधिकार वकिल बनिसकेका थिए, जसले म्याकडोनाल्ड्स र सेलजस्ता कम्पनीविरुद्ध मुद्दा लडेका थिए भने मृत्युदण्डको विरोध गरेका थिए। 

त्यसपछि उनी सरकारी वकिल बने। तर २००८ मा उनी बेलायतको सरकारी वकिल कार्यालयको प्रमुख नियुक्त भएपछि उनका समर्थहरू छक्क परे। किनकि तिनको नजरमा उनी जसका विरुद्ध लडिरहेका थिए, तिनैको सहयोगी हुन पुगेका थिए। २०१३ सम्म उनी सो पदमा रहे।

२०१४ मा उनलाई अपाराधिक न्यायको क्षेत्रमा गरेको कामका लागि नाइटको उपाधि दिइयो।

२०१५ मा उनी सांसद भए।

आन्दोलनकारी होइन, सत्ताधारी पार्टी
लेबर पार्टीका तत्कालीन नेता जेरेमी कोर्बिनको नेतृत्वमा स्टारमरले अनेक महत्वपूर्ण जिम्मेवारी लिए। तर, कोर्बिनलाई पदच्युत गर्ने असफल प्रयासमा पनि उनी लागेका थिए। 

अन्ततः २०२० मा लेबर पार्टीको चुनावी पराजयपछि कोर्बिनलाई विस्थापित गर्दै उनी पार्टी नेता भए।

कोर्बिनले पार्टीमा तन्नेरी प्रगतिशीलहरूलाई आकर्षित गरेका थिए। त्यसको प्रभावस्वरूप बुढापुराना समाजवादीहरूले पार्टी छाडेका थिए। मुस्लिम आप्रवासी, प्यालेस्टाइन समर्थकहरूलाई पार्टीमा भित्र्याएपछि कोर्बिनमाथि यहुदी घृणाको आरोप लगाइयो। कयौँ बेलायती यहुदीहरूले उनलाई मत नदिने कसम खाए। 

स्टारमरले आफूलाई कोर्बिनभन्दा अलग रूपमा उभ्याए। कोर्बिनसहितका नेताहरू र पार्टीका प्रगतिशीलहरूलाई उनले निकालेका छन्। र, पार्टीलाई बलियो चुनावी शक्ति बनाएका छन्।

उनले लेबर पार्टीलाई आर्थिक रूपले जिम्मेवार, आप्रवासीविरुद्ध कठोर र युनियनविरोधी शक्तिका रूपमा उभ्याएर ‘रिब्रान्ड’ गर्न खोजेका छन्।

‘पाँच वर्षअघिको आन्दोलनकारी पार्टी हामीले त्यागिदियौँ। हामी सत्ताधारी पार्टी बन्न चाहन्छौँ,’ केही समयअघि उनले एक भाषणमा भनेका थिए।

सत्ताका लागि उनले अनेक नीतिमा ‘यूटर्न’ लिएका छन्। उदाहरणका लागि उनले आयकर बढाउने, सार्वजनिक सेवाहरूलाई राष्ट्रियकरण गर्ने र ट्युसन शुल्क हटाउने वाचा गरेका थिए। जसलाई उनले छाडेका छन्। उनी निर्लज्ज रूपमा क्रुर बन्दै गएको आरोप आलोचकहरू लगाउँछन्।

वकिलका रूपमा काम गरिरहँदा उनले आफ्नी पत्नी भिक्टोरियालाई भेटेका थिए। २००७ मा उनीहरूको विवाह भयो, जो अहिले एनएचएसमा काम गर्छिन्। 

उनीहरूका दुई सन्तान छन्। जोसँग उनी आर्सनलको खेल हेर्न रंगशाला गइरहन्छन्। 

यसका बाबजुद उनीप्रति मतदाताको धारणा नकारात्मक छ। त्यसैले बिहीबार भइरहेको चुनावमा लेबर पार्टीले जति मत पाउँछ, त्यो स्टारमरको लोकप्रियताको नतिजा नभई सत्तामा रहेका कन्जरभेटिभहरूको अलोकप्रियताको नतिजा हुने थुप्रैको विश्लेषण छ।

कतिपयले उनको तुलना टोनी ब्लेयरसँग गर्ने गरेका छन्। जसले सो पार्टीलाई ऐतिहासिक जित दिलाएका थिए।

तर, २००१ देखि २००३ सम्म कन्जरभेटिभ पार्टीका नेता रहेका इयान डंकन स्मिथ यसमा सहमत छैनन्।

‘स्टारमर यस्ता व्यक्ति हुन्, जो हावाको बहाव हेरेर जुन दिशातर्फ पनि मोडिन सक्छन्। तर, मैले सम्मान गर्ने व्यक्तिहरू आफैँले मौसम बदल्थे, तीमध्ये एक हुन्– टोनी ब्लेयर,’ उनी भन्छन्।

यो चुनावमा आफ्नो पार्टी हारे पनि स्टारमरका कारणले नभएको उनको दाबी छ।

‘यतिबेला कसैले पनि लेबर पार्टीलाई माया गर्छन्जस्तो मलाई लाग्दैन,’ उनी भन्छन्, ‘उनीहरू केवल कन्जरभेटिभप्रति क्रुद्ध छन्।’ एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .