ग्लोबल


कोरियामा कोरोनाको आतंक, अहिलेसम्म नेपाली सुरक्षित

कोरियामा कोरोनाको आतंक, अहिलेसम्म नेपाली सुरक्षित

बिमल सिंह लामा
फागुन १४, २०७६ बुधबार १६:३,

‘केही दिन देखि मोबाइलमा कोरोना भाइरस सम्बन्धी जानकारी मुलक म्यासेजहरु आइरहेको छ। तर एक दिन आएको म्यासेजले मलाई झस्कायो। ठेगाना आफू बसेको नगर भित्रको रहेछ। नगर भित्रको ठेगाना हेरेर एकैछिन रोकिए, झन झस्किएछु।’ 

यो भनाई दक्षिण कोरियाको फाजुमा कार्यरत नेपाली प्रकाश योञ्जनको हो। कारण थियो आफ्नै नजिक छिमेकको ठेगान रहेछ।

म्यासेजमा उक्त ठाउँमा पनि कोरोना भाइरस संक्रमित फेला परेको जानकारी थियो। यसरी आफू बसेको ठाउँ नजिक सम्मै कोरोना भाइरस आइपुगेपछि नडराउने कुरै भएन। २३ फेब्रुअरीको उक्त म्यासेजको सम्झना गर्दै योन्जन भन्छन् ‘म्यासेजमा भएको ठेगाना कम्पनीसँगैको अर्को घरको रहेछ। त्यसैले सुरुमा त अति नै डर लाग्यो। तर अहिले मन सम्हालेर काम गर्दैछु।’

त्यस्तै पोछन नगरमा काम गर्ने हुमन ढुंगेलको पनि कम्पनी नजिकको बजारमा संक्रमित फेला परेपछि मनमा चिन्ता बढेको बताए। ‘नजिकै कोरोना भाइरसको संक्रमित देखापरेपछि डर त लागेको छ तर सावधानी अपनाएकोले त्यति धेरै तर्सनु पर्ने नै चाहिँ छैन।’ खाना कम्पनीले नै दिने भएकोले बजार जानु नपर्ने ढुंगेलले बताए। साहुले पनि कतै नजान र मास्क अनिवार्य लगाउन भनेको बताए। ‘संक्रमितको संख्या बढ्न थालेपछि कम्पनी जाने र कोठामा आउने बाहेक कही कतै निस्केको छैन’ उनले भने।

अहिलेसम्म सबैभन्दा धेरै संक्रमित फेला परेको थेगु क्षेत्रमा रहेका नेपालीहरुको मनस्थिति कस्तो होला? उक्त शहरमा कार्यरत फडिन्द्र अधिकारी भन्छन्, कोरोनाले धेरै आतंकित बनाएको छ। मेरै कम्पनी छेउको सिन्छेन्जी चर्चबाटै हो फैलेको।’ मनमा डर बोकेर भएपनि जबर्जस्ति काम गर्नु परेको अधिकारी बताउँछन्। ‘रोग लागी हाल्यो भने त बच्ने कुनै चान्स नै छैन भन्छन् तर पनि कति डराउनु। काम त गर्नै पर्‍याे। त्रासकै बीच पनि काम गर्दैछु’ उनले थपे। उक्त क्षेत्रमा कोरोना संक्रमनको कारणले कम्पनीहरु बन्द नभएको अधिकारी बताउँछन्। तर धेरै बाहिर ननिस्कन र जमघट नगर्न कम्पनीले आव्हान गरिरहेको उनले बताए।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र कोरिया (केसीडिसी)को पछिल्लो जानकारी अनुसार अहिलेसम्म संक्रमितको संख्या १२६१ जना पुगेको छ भने मृत्यु हुनेमा एक जना मंगोलियन सहित १२ जना पुगेको छ। कलेजो प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका ३६ वर्षीय मंगोलियनको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो। मृतक इपीएस कामदारको रुपमा आएको नभई अर्कै कारणले कोरिया आएको बताएको छ। त्यस्तै हालसम्म २४ जना निको भएर घर फर्किसकेको छ।

बुधबार (फेब्रुअरी २६) संक्रमितको संख्या २४८ जना थप भेटिएको हो। केसीडिसीका अनुसार एक हप्ता अगाडिसम्म जम्मा ५१ जना मात्र संक्रमित थिए। तर एक हप्तामै यसरी करिब १३ सयको हाराहारीमा संक्रमित फेला परेपछि यहाँ रहेका ४० हजार भन्दा बढी नेपालीहरु पनि सशंकित भएका छन्।

तथापि अहिलेसम्म कुनै पनि नेपालीलाई संक्रमण नभएको कोरिया स्थित नेपाली राजदूतावासका श्रम सहचारी डिल्लिराम बास्तोलाले जानकारी दिएका छन्। ‘यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रहन अपनाउनु पर्ने उपायहरू विभिन्न माध्यमहरुबाट प्रचार प्रसार गरिरहेका छौं। यहाँका सम्बधित निकायहरूसँग पनि निरन्तर छलफल गरेर त्यही अनुसारको सूचनाहरु सम्प्रेषण गरिरहेका छौं’ उनले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad