ad ad

ग्लोबल


सत्ता गठबन्धन नाजुक छ, सानै धक्काले मोदी सरकार ढल्छ : राहुल गान्धी

चुनावपछि गान्धीको पहिलो अन्तर्वार्ता
सत्ता गठबन्धन नाजुक छ, सानै धक्काले मोदी सरकार ढल्छ : राहुल गान्धी

जोन रिड
असार ४, २०८१ मंगलबार १४:३६,

हालैको अनपेक्षित चुनावी नतिजापछि भारतको राजनीतिक परिदृश्यमा उथलपुथलकारी परिवर्तन आएको मुलुकका प्रमुख विपक्षी नेता राहुल गान्धीले बताएका छन्। चुनावपछिको आफ्नो पहिलो अन्तर्वार्तामा गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार टिक्न कठिन रहेको दाबी पनि गरे।

‘भारतीय राजनीतिक प्रणालीमा ठाउँ खाली भएको छ,’ गान्धीले फाइनान्सियल टाइम्ससँग भनेका छन्, ‘भारतीय राजनीतिमा एउटा ‘टेक्टोनिक’ बदलाव आएको छ।’

मोदीले गत साता तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिएका छन्। लगातार तेस्रो पटक चुनाव जित्ने जवाहरलाल नेहरुपछिको पहिलो नेता हुन् मोदी। तर, भारतीय राजनीतिका विश्लेषकहरूले उनको गठबन्धन सरकारको स्थायित्वमाथि सन्देह व्यक्त गरेका छन्। बहुमत गुमाएपछि भाजपा अहिले साना पार्टीहरूमा निर्भर छ।

गान्धीको नेतृत्वमा रहेको इन्डिया गठबन्धनले सोचेभन्दा धेरै राम्रो नतिजा हात पारेको छ। सो गठबन्धनले ५४३ मध्ये २३४ सिट जितेको छ भने सत्तापक्षसँग २९३ सिट छ। 

‘संख्या यस्तो छ कि उनीहरू साह्रै नाजुक भएका छन्। सानो धक्काले नै सरकार ढाल्न सक्छ,’ गान्धी भन्छन्, ‘एउटा गठबन्धन सहयोगीले हात झिके पुग्छ।’

मोदी नेतृत्वको गठबन्धनमा ठूलो असन्तुष्टि रहेको र उनका पक्षका नेताहरू आफूसँग सम्पर्कमा रहेको पनि गान्धीले दाबी गरे। तर, उनले त्यसको विस्तृत विवरण दिन मानेनन्।

चुनाव प्रचारका क्रममा मोदीले धार्मिक तनावको फाइदा उठाउन खोजे। उनले मुस्लिमहरूलाई घुसपैठिया भने।

तर, गान्धीको खेमामा रहेकाहरूले भाजपाले दुई तिहाइ बहुमत पाए संविधान संशोधन गर्ने र दलितहरूका लागि आरक्षित अधिकार खोस्ने बताएर दलित मत प्राप्त गरे।

‘घृणा फैलाएर, आक्रोश फैलाएर त्यसबाट फाइदा लुट्न सकिन्छ भन्ने विचारलाई यो चुनावमा भारतीय जनताले खारेज गरिदिएका छन्,’ गान्धीले भने। 

गान्धीको नयाँ दिल्लीस्थित घर महात्मा गान्धी, प्रधानमन्त्रीहरू नेहरु, इन्दिरा गान्धी र राजीव गान्धीको तस्बिरले सजिएको छ। जो उनका जिजुहजुरबा, हजुरआमा र पिता हुन्।

‘त्यसैकारणले यो गठबन्धन टिक्न मुस्किल हुनेछ,’ उनले थपे, ‘किनभने २०१४ र २०१९ मा मोदीका लागि जेले काम गरेको थियो, त्यसले अब काम गर्न छाडेको छ।’

अझ निष्पक्ष वातावरणमा चुनाव गराइएको भए निस्सन्देहः इन्डिया गठबन्धनले चुनाव जित्ने दाबी पनि गान्धीले गरे। चुनावअघि दुई मुख्यमन्त्रीलाई जेल हालिएको थियो भने कंग्रेसले आफ्नो ब्यांक खाता रोक्का गरिदिएको आरोप सरकारमाथि लगाएको थियो।

‘हामीले आफ्नो हात पाता फर्काएर बाँधिएको अवस्थामा चुनाव लड्यौँ। तर, भारतीय जनता, गरिब जनतालाई के गर्ने भन्ने थाहा थियो,’ उनले भने।

स्वतन्त्रतापछि भारतको राजनीतिमा अधिकांश समय कंग्रेस र नेहरु–गान्धी वंशको हालिमुहाली रह्यो। तर, पछिल्ला वर्षहरूमा सो पार्टी र समग्रमा मध्य–वामपन्थी शक्ति नै बिलाउँदै जान थालेको विश्लेषण गरिएको थियो। केही आलोचकहरूले कंग्रेसको प्रगतिमा गान्धी परिवार बाधक रहेको दाबी समेत गरेका थिए।

२०१९ को चुनावमा भाजपाको निर्णायक जितपछि गान्धी पार्टी अध्यक्षबाट हटेका थिए। तर, उनी सक्रिय रहे र प्रमुख नेतामा कायम रहे।

पपुलिस्ट भाजपाका लागि कंग्रेस सहज निसाना थियो। किनभने कंग्रेसमा वंश परम्परा थियो भने सो पार्टी सरकारमा हुँदा भ्रष्टाचारमा डुबेको थियो। मोदीले गान्धीलाई शाहजादा भन्दै आक्रमण गरे। मोदीका समर्थकहरूले दिने विज्ञापनमा निर्भर भारतीय सञ्चारमाध्यमले पनि उनलाई ‘पप्पु’ भन्दै निकम्मा व्यक्तिका रुपमा चित्रित गरे। 

तर, मुलुकव्यापी दुई यात्रा गरेर गान्धीले आफ्नो राजनीतिक ब्रान्ड पुनर्निर्माण गरेको विश्लेषकहरू बताउँछन्। पहिलोचोटि उनले दक्षिणदेखि उत्तरसम्मको पैदलयात्रा गरे भने दोस्रोपटक गाडीमा चढेर पूर्वदेखि पश्चिमसम्म यात्रा गरे।

गान्धीले साधारण जनतासँग घुलमिल गरेको तस्बिर मोदीको भन्दा बिल्कुल विपरीत थियो। मोदीले व्यक्तिपूजाको संस्कृति नै निर्माण गरेका छन्। जुन इन्दिरा गान्धीको पालादेखि भारतीय राजनीतिमा देखिएको थिएन। चुनाव प्रचारका क्रममा मोदीले आफूलाई भगवानले पठाएको दाबीसम्म गर्न भ्याए।

‘न्यायप्रणाली, सञ्चारमाध्याम, संस्थाहरू, सबैको ढोका हाम्रा लागि बन्द भए। त्यसैले हामी आफ्नै बलबुतामा यो काम गर्नुपर्छ भन्ने निर्णय गर्‍यौँ,’ गान्धी भन्छन्, ‘यो चुनावलाई सफल तुल्याउने धेरै विचार त्यही यात्राबाट आएका हुन्। ती विचार हामीबाट होइन, भारतीय जनताबाट आएका हुन्।’

चुनावमा अघिल्लोपालिको तुलनामा भाजपाले करिब एक प्रतिशत मत मात्र गुमायो। तर, गान्धी र उनका सहयोगीहरूले भाजपाको गढ मानिने उत्तर प्रदेशमा महत्वपूर्ण सिटहरू जिते। 

त्यसमा फैजावाद निर्वाचन क्षेत्र पनि पर्छ, जहाँ अवस्थित अयोध्यामा राम मन्दिर उद्घाटन गर्दै मोदीले चुनावी अभियान सुरु गरेका थिए।

विजय भाषणमा मोदीले भारतका १.४ अर्ब मानिसले भाजपा र एनडीएमाथि फेरि विश्वास व्यक्त गरेको बताए। तर, नतिजाबाट भाजपा सख्त घाइते भएको गान्धीको दाबी छ।

‘मोदीको विचार र मोदीको छवि ध्वस्त भएको छ,’ गान्धीले भने, ‘१० वर्षदेखि अयोध्याको कुरा गरिरहेको पार्टी अयोध्यामै बढारियो। भयो के भने भाजपाको आधारभूत सोच भनेको धार्मिक घृणा पैदा गर्नु हो। त्यो असफल भएको छ।’

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .