ग्लोबल


२५ वर्षदेखि सत्तामा रहेका पुटिनले पाँचौँपटक लिए राष्ट्रपतिको शपथ

२५ वर्षदेखि सत्तामा रहेका पुटिनले पाँचौँपटक लिए राष्ट्रपतिको शपथ

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १७:२,

भ्लादिमिर पुटिनले रुसको राष्ट्रपति पदमा पाँचौँ कार्यकालका लागि शपथ लिएका छन्। 

उनले मार्चमा भएको निर्वाचनमा भारी बहुमतसहित विजय हात पारेका थिए। जसका कारण उनी अब ६ वर्ष सो पदमा रहनेछन्। कार्यकाल सकिँदा उनी ७७ वर्ष पुग्नेछन्।

मंगलबार क्रेमलिनमा आयोजित शपथ समारोहमा सैन्य तथा राजनीतिक नेतृत्वको उपस्थिति थियो। सो समारोहमा प्रतिनिधि पठाउन अमेरिका र थुप्रै युरोपेली मुलुकले अस्वीकार गरेका छन्।

रुसको राजनीतिमा पुटिन धेरै वर्षदेखि चुनौतीविहीन नेता रहँदै आएका छन्। पटकपटक संविधान संशोधन गरेर उनले आफू सर्वोच्च पदमा रहने बाटो खोल्ने गरेका छन्।

उनी आफ्ना व्यक्तिगत घटनाहरुलाई अति गोप्य राख्छन्। ३० वर्षको दाम्पत्यपछि उनले २०१३ मा पत्नी ल्युदमिलासँग सम्बन्धविच्छेद गरे। उनीहरुका दुई छोरी मारिया र कतरिना छन्। मारिया प्राज्ञिक व्यक्तित्वका साथै व्यवसायी हुन् भने कतरिना एउटा रिसर्च फाउन्डेसनकी प्रमुख छिन्।

यसरी बनेका थिए पहिलो पटक राष्ट्रपति
लेनिनग्राद युनिभर्सिटीमा कानुन अध्ययनपछि १९७५ मा उनी सोभियत गुप्तचर निकाय केजीबीमा भर्ती भएका थिए। जर्मन भाषा सिकेका उनलाई १९८५ मा पूर्वी जर्मनी पठाइयो। जहाँ १९८९ मा सोभियत संघको पतन उनले आफ्नै आँखाले देखे।

यल्तसिनका साथ पुटिन

१९९१ मा पुटिन लेनिनग्रादका मेयर अनातोली सोब्चाकको सहायक बने। सोब्चाक हारेपछि पुटिनलाई राष्ट्रपतीय कार्यालयमा झिकाइयो। केही समय उनी केजीबीको सट्टामा गठित एफएसबीको प्रमुख भए। त्यसपछि सुरक्षा परिषदको सचिवका रुपमा राष्ट्रपतिलाई रिपोर्टिङको जिम्मेवारी उनलाई दिइयो। यो उनको नाटकीय बढुवाको समय थियो।

९ अगस्ट १९९९ मा राष्ट्रपति बोरिस यल्तसिनले प्रधानमन्त्री सेर्गेइ स्तेपासिनलाई बर्खास्त गरे र त्यो पदमा ४६ वर्षीय पुटिनलाई नियुक्त गरे। जसले सन् २००० मा हुने राष्ट्रपतीय चुनाव सम्हाल्नुपर्ने थियो।

तर, यल्तसिन आफैँ रोगले गलिसकेका थिए। 

त्यहीबेला मस्कोमा शृंखलाबद्ध बम विस्फोट भयो। बदलामा पुटिनले चेचेन्यामाथि सैन्य आक्रमण गरे। उनको लोकप्रियता चुलियो।

यल्तसिनले राजीनामा दिएपछि ३१ डिसेम्बर १९९९ मा उनी कार्यवाहक राष्ट्रपति बने। तीन महिनापछिको चुनाव पनि उनले सहज रुपमा जिते।

उनको नेतृत्वमा रुसले आर्थिक लय पक्रियो। उनी पश्चिमसँग सम्बन्ध सुधार गर्ने पक्षमा थिए। सेप्टेम्बर २०११ मा अमेरिकामा आतंकवादी हमला हुँदा अमेरिकी समकक्षीलाई फोन गर्ने उनी पहिलो नेतामध्ये एक थिए। 

तर, चाँडै पश्चिमबाट उनी विरक्तिए। आज यी दुई मुलक छद्म रुपमा लडिरहेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .