ad ad

ग्लोबल


अमेरिकी एड्मिरल भन्छन् : चीनले २०२७ सम्म ताइवान आक्रमण गर्ने शक्ति बटुल्दैछ

पीएलएले तीन वर्षमा थप्यो ४०० लडाकु विमान र २० युद्धपोत
अमेरिकी एड्मिरल भन्छन् : चीनले २०२७ सम्म ताइवान आक्रमण गर्ने शक्ति बटुल्दैछ

नेपालखबर
चैत ८, २०८० बिहिबार १४:५९,

अमेरिकी सेनाका एक कमान्डरले चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने क्षमता हासिल गर्नेगरी तयारी गरिरहेको बताएका छन्।

अमेरिकी संसदको आर्म्ड सर्भिस कमिटीमा बयान दिँदै इन्डो प्यासिफिक कमान्डका कमान्डर एड्मिरल जोन अकिलिनोले बुधबार यस्तो बताएका हुन्।

चीनको रक्षा बजेट बढेर २२३ अर्ब डलर पुग्नु र दोस्रो विश्वयुद्ध समाप्तिपछि कहिल्यै नदेखिएको गतिमा उसले सेना र आणविक हतियार निर्माण गर्नुले त्यही देखिएको उनको भनाइ छ।

आफूले अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्ड सम्हालेको तीन वर्षमा चिनियाँ जनमुक्ति सेनाले ४ सय वटाभन्दा बढी लडाकु विमान र २० वटाभन्दा बढी ठूला युद्धपोत थपेको उनको भनाइ छ। 

त्यस्तै, चीनले २०२० यता ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रको संख्या पनि दोब्बर पारेको अकिलिनोले बताए।

‘सबै संकेतहरुले के देखाउँछन् भने राष्ट्रपति सी चिनफिङको निर्देशनमुताबिक पीएलए २०२७ सम्म ताइवान आक्रमणका लागि तयार हुँदैछ,’ उनले भने, ‘आदेश आए ताइवानलाई मुख्यभूमिसँग बलपूर्वक एकीकरण गर्ने क्षमता त्यो अवधिमा हासिल गर्न तयार हुँदै गरेको पीएलएका गतिविधिले देखाउँछन्।’

एड्मिरल जोन अकिलिनो

ताइवानमाथि आक्रमणको सैन्य अभ्यास पनि चिनियाँ सेनाले गरिरहेको उनको भनाइ छ।

राष्ट्रपति सीले २०२७ सम्ममा चिनियाँ सेना ‘उत्तम सेना’ बनाउने लक्ष्य राखेका थिए। यसलाई लिएर अमेरिकी सांसद, सरकारी अधिकारी र सैन्य कमान्डरहरुले अनेक आकलन गर्दै आएका छन्।  चीनले २०२७ मा ताइवान कब्जा गर्नसक्ने अड्कल पनि गरिँदै आएको छ। अकिलिनोले एक वर्षअघि त्यो अड्कल मात्र भएको बताएका थिए।

तर, चीनले ताइवानसँग सैन्य द्वन्द्व नचाहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष छ। ब्लुमबर्ग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .