ग्लोबल


माल्दिभ्सबाट भारतीय सैनिक हटाउने नयाँ राष्ट्रपतिको घोषणा

माल्दिभ्सबाट भारतीय सैनिक हटाउने नयाँ राष्ट्रपतिको घोषणा

नेपालखबर
असोज १९, २०८० शुक्रबार १६:२, काठमाडौँ

माल्दिभ्समा नयाँ राष्ट्रपति मोहम्मद मोइज्जुले त्यहाँस्थित भारती सैनिकलाई हटाउने घोषणा गरेका छन्।

माल्दिभ्सको नयाँ नेतृत्वका लागि भएको चुनावअघि नै दुई शक्ति राष्ट्र चीन र भारतबीच तानातानी भएको थियो।

दुई राष्ट्रको तानातानीबीच माल्दिभ्समा चीननिकट मानिने मोइज्जु राष्ट्रपतिमा निर्वाचित भएका थिए। 

भारतबाट करिब १२ सय किलोमिटरको दूरीमा ५ लाख जनसंख्यासहितको माल्दिभ्स सुन्दर द्वीपहरुका कारण विश्वप्रसिद्ध छ। 

जहाँ नेपाल र भारतसहितका सेलिब्रिटीदेखि सर्वसाधारणसम्म छुट्टी मनाउन पुग्छन्। पर्यटनले प्रसिद्ध यो देश पछिल्लो समय राजनीतिक फेरबदलका कारण चर्चाको शिखरमा छ।

यसैबीच मोइज्जुले राष्ट्रपति भएलगत्तै भारतीय सेनालाई माल्दिभ्सको आर्किपेलागो (द्वीप समूह) बाट हटाउने बताएका हुन्। 

भारत र माल्दिभ्सको मित्रता धेरै पुरानो छ। तर अहिले चीन पनि हावी भएपछि माल्दिभ्सका लागि रोचक प्रतिस्पर्धा हुने गरेको छ। भारत पुरानो मित्र भए पनि चीनको पकड बलियो हुन थालेपछि माल्दिभ्ससँगको दूरी बढेको छ। 

सन् २०१८ मा चीननिकट एवम् पीपीएमका नेता राष्ट्रपति अब्दुल्लाह यामीनले राष्ट्रपति चुनाव हारेका थिए। 

त्यसपछि उनले राज्यकोषको एक अर्ब डलरको सरकारी सम्पत्ति दुरुपयोग गरेको अभियोगमा दोषी ठहर हुनुपर्यो। 

सन् २०१९ मा यामीनलाई ५ वर्षको जेल सजाय भयो। त्यसपछि आएका नयाँ राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह ‘इन्डिया फर्स्ट’ को नीति अंगाल्थे।

कोरोनाका कारण यामीनको जेल सजायलाई नजरबन्दमा परिणत गरियो। तर सन् २०२१ मा यामिनविरुद्धका सबै आरोपलाई खारेज गरियो। उनी ३० नोभेम्बर २०२१ मा रिहा भए। 

त्यसपछि उनलाई राजनीतिमा फर्किन पनि बाटो खुल्यो। अनि उनी चुनाव प्रचारमा जुटे। उनी आफ्ना सबै भाषणमा माल्दिभ्सबासीलाई आफ्नो घरमा ‘इन्डिया आउट' लेख्न पनि भन्थे। 

सन् २०२३ को राष्ट्रपति चुनावमा मोहम्मद सोलिहविरुद्ध मोहम्मद मुइज्जुले दावेदारी पेश गरे। उनले माल्दिभ्सका रहेको भारतीय सेनाको उपस्थितिविरुद्ध 'इन्डिया आउट' को नारा दिएका थिए। त्यसलाई लिएर प्रदर्शन पनि भयो। यो अभियान भारतीय सैनिक रहँदा माल्दिभ्सको सम्प्रभूतमा खतरा पर्ने कुरामा आधारित थियो।

गत शनिबार माल्दिभ्सको राष्ट्रपति चुनावको नतिजा आयो। चुनावमा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स अर्थात पीपीएमका नेता मोहम्मद मोइज्जुको जित भयो। पीपीएम गठबन्धनलाई चीनसँग निकट सम्बन्ध रहेको दलका रुपमा लिइन्छ। 

मोइज्जुको जितसँगै अहिलेसम्म राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको ‘इन्डिया फर्स्ट’ नीति बोकेको माल्दिभ्सको दृष्टिकोण फेरिएर भारतका लागि चिन्ताको विषय हुने अनुमान गरिएको थियो।

चीन समर्थक मोइज्जुले चुनाव जितेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार बधाई पनि दिए। उनले भारत माल्दिभ्ससँग द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने पक्षमा रहेको बताएका थिए। त्यस्तै हिन्द महासागर क्षेत्रमा सहयोग बढाउनका लागि प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरे। 

त्यसको एक दिनपछि सोमबार माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोइज्जुले आफ्ना समर्थकलाई सम्बोधन गरे। उनले आफू आफ्ना चुनावी प्रतिवद्धतमा अडिग रहेको बताए। भारतीय सेनालाई माल्दिभ्सको आर्किपेलागो द्वीपसूमहबाट हटाउने घोषणा उनले गरे। मोइज्जुले विदेशी सेना फिर्ता नभएसम्म उनीहरुलाई कुनै किसिमको असहयोग नहुने पनि बताए। 

माल्दिभ्समा के गर्छ भारतीय सेना?
भारतले स्वास्थ्य उद्धार र हिन्द महासागरमा समुद्री निगरानीको सहयोगका लागि माल्दिभ्सलाई दुई हेलिकोप्ट र र दुई डोर्नियर डोर्नियर विमान अनुदानमा दिएको थियो। यस समय माल्दिभ्समा तैनाथ ७५ भारतीय सैनिकमा अधिकांश तिनै विमानको रेखदेख र उडानको काममा सक्रिय छन्। 

भारतीय सेना लामो समयदेखि माल्दिभ्समा बस्दै आएको छ। भारतीय सैनिक माल्दिभ्स नेशनल डिफेन्स फोर्सका रुपमा काम गर्छन्। उनीहरुको मुख्य काम एक विमान र दुई हेलिकोप्टरलाई साना टापुबाट बिरामीलाई अस्पतालसम्म पुर्‍याउने काममा सघाउनु मात्रै हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .