ad ad

ग्लोबल


सीको अनुपस्थितिले जी २० को हैसियतमै धक्का, भारतलाई पनि झट्का

सीको अनुपस्थितिले जी २० को हैसियतमै धक्का, भारतलाई पनि झट्का

नेपालखबर
भदौ १६, २०८० शनिबार १७:१६,

अर्को साता भारतको नयाँ दिल्लीमा जी २० शिखर सम्मेलन आयोजना हुँदैछ। त्यसको तयारी जोडतोडले भइरहेको छ। तर, चिनियाँ राष्ट्रपति सी चिनफिङ सो सम्मेलनमा सहभागी नहुने खबरले जी २० समूह र आयोजक भारत दुवैलाई झट्का दिएको छ।

सम्मेलनको तयारीमा संलग्न एक पश्चिमा अधिकारीले भने, ‘हाम्रो वर्षभरिको संयुक्त कामलाई भत्काउने प्रयास गरिरहेका छन् उनीहरु (चीन)। उनीहरुको अनुपस्थितिले त्यसलाई स्पष्ट पार्छ।’

आफ्नो सट्टा सीले शिखर सम्मेलनमा प्रधानमन्त्री ली चियाङलाई पठाउने भएका छन्। चिनियाँ अधिकारीहरुले यसको जानकारी आफूहरुलाई दिइएको बताएका छन्। तर, बेइजिङले त्यसको सार्वजनिक पुष्टि गर्न बाँकी छ।

तर सीको अनुपस्थिति सम्मेलन आयोजक मुलुक भारत र दिल्लीमा आयोजना हुनलागेको यो बहुपक्षीय भेलाका लागि ठूलो झट्का हुनेछ। जी २० ले विश्वको सबैभन्दा ठूलो लिडरसिप फोरमको हैसियत निर्माण गरेको छ। त्यो हैसियतलाई पनि सीको अनुपस्थितिले धक्का दिनेछ। 

युक्रेन युद्ध र धनी तथा विकासशील मुलुकबीच खर्च बाँडफाँटजस्ता विषयमा भएको असहमतिका कारण स्वास्थ्य सेवादेखि जलवायु परिवर्तनसम्मका विषयमा संयुक्त निष्कर्ष खोज्ने महिनौँको प्रयास असफल भएपछि सीले सम्मेलनमा सहभागी नहुने निर्णय लिएका हुन्।

केही भारतीय विश्लेषकहरु भारतले आयोजना गर्न लागेको कार्यक्रम चीनले बिथोल्न चाहेको बताउँछन्। 

‘लगभग सबै मुद्दाहरुमा चीन सहमतिको प्रमुख विपक्षी रहँदै आएको छ,’ भारतीय थिंक ट्यांक अनन्त आस्पेन सेन्टरकी प्रमुख कार्यकारी इन्द्रानी बाग्ची भन्छिन्।

चीनका कुनै पनि राष्ट्रपतिले जी २० शिखर सम्मेलनमा सहभागी नहुने निर्णय गरेको यो पहिलो पटक हो। यो सामाजिक वा आर्थिक विरोधाभाषका माझ पनि विश्वका शक्तिशाली मुलुकहरुबीच सहमति खोज्न स्थापना भएको समूहका लागि सबैभन्दा ठूलो असफलता हो।

प्रधानमन्त्री ली चीनका दोस्रो सबैभन्दा वरिष्ठ नेता तथा सीका दाहिने हात हुन्। तर, सीको अनुपस्थितिले जी २० को ‘दिगोपन र सफलता’माथि प्रश्न उब्जाइदिएको एटलान्टिक काउन्सिलस्थित जिओइकोनोमिक्स सेन्टरका निर्देशक जोस लिप्स्किी बताउँछन्।

‘जब जी २० बोल्छ, के उनीहरु चीनको सहमितबिनै बोलिरहेका छन्? उदाहरणका लागि ऋण पुनर्संरचनाका विषयमा,’ लिप्स्किी भन्छन्, ‘यो जी २० को भविष्य र अस्तित्वमाथिकै खतरा हो।’

जी२० का सुरुवाती दुई शिखर सम्मेलन २००८ र २००९ मा आयोजना गरिएको थियो। विश्वव्यापी वित्तीय संकटको सामना संयुक्त रुपमा गर्ने उदेश्यमा ती सम्मेलन केन्द्रित थिए। त्यसपछि यसलाई विश्वको उदाँउदो र प्रमुख अन्तर्राष्ट्रिय निर्णयकर्ता समूहका रुपमा प्रशंसा गर्न थालियो। जसमा चीनको नेतृत्वमा रहेका विकासशील मुलुकहरुको बढ्दो महत्व र आर्थिक प्रभाव पनि झल्किन्थ्यो।

२००९ को सम्मेलन आयोजना गरेका बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनले यसलाई ‘विश्व एक ठाउँमा आएको’ भने।

तर, २०१४ मा क्रिमिया टुक्र्याएसँगै रुससँग पश्चिमको सम्बन्ध बिग्रियो। अघिल्लो वर्ष युक्रेनमा उसले आक्रमण गरेपछि त जी २० को एकता पनि भंग भयो। अर्कोतिर पछिल्ला वर्षहरुमा अमेरिका र चीनबीचको बढ्दो तनावले विकसित र विकासशील मुलुकहरुबीचको दरार अझ चौडा भएको छ।

२०२२ को बाली शिखर सम्मेलनमा अनपेक्षित रुपमा जी २० संयुक्त वक्तव्य जारी गर्न सहमत भएको थियो। तर, यस वर्ष भारतको नेतृत्वमा भएका छलफलहरुमा भने युक्रेन युद्धलाई लिएर पश्चिमा मुलुक र रुस–चीनबीच मिलाउनै नसकिने फाटो देखा परेको छ।

यसपटक जी २० का विदेशमन्त्री, अर्थमन्त्री र अन्य अधिकारीहरुबीच भएको वार्तापछि भारतले सबै सदस्य सहमत हुनेगरी एउटा पनि संयुक्त वक्तव्य जारी गराउन सकेन। युद्धका विषयमा पश्चिमाहरुले प्रस्तुत गरेको भाष्यलाई चीन र रुसले स्वीकार गरेनन्।

सीको अनुपस्थितिबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयले शुक्रबार उपयुक्त समयमा यसबारे जानकारी दिइने बतायो। 

कतिपय विश्लेषकहरु सम्भवतः चीनले सुरुमा जी २० लाई आफ्नो भूराजनीतिक प्रभाव बढाउने माध्यमका रुपमा हेरे पनि यो समूह अहिले आफ्नो लागि चुनौती ठान्न थालेको तर्क गर्छन्।

अमेरिकासँग चीनको सम्बन्ध बिग्रिँदै जाँदा जापान, दक्षिण कोरिया, जर्मनी र अन्य युरोपेली मुलुकले चीनप्रति कठोर नीति अवलम्बन गर्दैछन्।

‘गएको दशकमा जी २० का थुप्रै मुलुकले चीनप्रतिको अडानलाई कठोर तुल्याएका छन्,’ कार्नेगी चाइनाका निर्देशक पौल हेन्ले भन्छन्, ‘सीका लागि यो भीड कठिन छ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार सी सहभागी हुने आशा व्यक्त गरे।

सीको अनुपस्थिति बाइडेन र पश्चिमा अधिकारीहरुका लागि अवसर पनि बन्न सक्छ। बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले गत महिना भनेका थिए, ‘बाइडेनले नयाँदिल्ली शिखर सम्मेलनलाई अमेरिका र मन मिल्ने साझेदारहरुका लागि संयुक्त प्रस्ताव अघि सार्ने अवसरका रुपमा हेर्नुभएको छ।’

जी २० मा सीको अनुपस्थितिको योजना गत साता ब्रिक्स शिखर सम्मेलनमा उनको सहभागिताभन्दा बिल्कुल विपरीत छ। सीले ब्रिक्स बिस्तारको नेतृत्व गरे। अहिले सो समूहका सदस्यको संख्या ११ पुगेको छ। जसलाई बेइजिङले जी २० को प्रतिद्वन्द्वीका रुपमा हेर्छ।

हेन्ले भने जी २० मा अनुपस्थित हुँदा यो समूहलाई भन्दा चीनलाई घाटा हुने तर्क गर्छन्।

-फाइनान्सियल टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .