वाग्नर ग्रुपको असफल सैन्य विद्रोहपछि पनि सो समूका नाइके यव्गेनी प्रिगोजिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेको क्रेमलिनले बताएको छ।
प्रिगोजिनसहित वाग्नरका ३५ जना कमान्डरहरुलाई राष्ट्रपतिसँगको भेटमा मस्को बोलाइएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले जानकारी दिए।
सो समूहले जुन २३ मा विद्रोह सुरु गरेको थियो। तर, २४ घण्टपछि सो समूह पछि हटेको थियो।
सो विद्रोह अन्त्य गराउन बेलारुसका राष्ट्रपति अलेक्सान्द्र लुकासेन्कोले मध्यस्थता गरेका थिए। सहमतिअनुसार वाग्नर बेलारुसमा गएर सञ्चालित हुने र प्रिगोजिनविरुद्धको छानबिन अन्त्य गरिएको थियो।
विद्रोहअघि युद्ध सञ्चालनका विषयमा वाग्नर रुसी रक्षा मन्त्रालयबीच सार्वजनिक रुपमै आरोपप्रत्यारोप भएको थियो।
तर, असफल विद्रोहको पाँच दिनपछि क्रेमलिनमा निम्त्याइएका कमान्डरहरुमा प्रिगोजिन पनि भएको पेस्कोवले बताए।
त्यसबेला युद्धको समीक्षा भएको पेस्कोवले बताए। उनका अनुसार प्रिगोजिनले बिना कुनै सर्त आफूहरुले राष्ट्रपति पुटिनलाई समर्थन गर्ने बताएका थिए।
तर, अहिले भने प्रिगोजिन कहाँ छन् भन्ने स्पष्ट छैन। एजेन्सी
Shares

प्रतिक्रिया