भारतीय वायुसेनाको एउटा लडाकु जहाज घरमाथि खसेको छ। राजस्थानको हनुमानगढमा सोमबार बिहान मिग-२१ लडाकु जहाज घरमाथि खसेर दुर्घटना भएको हो।
यो लडाकु जेट बहलोल नगर इलाकास्थित एक घरमाथि खसेको हो। दुर्घटनाका क्रममा यस घरभित्र रहेका तीनजना महिलाको मृत्यु भएको छ।
पुलिसका अनुसार यसका पाइलट भने सुरक्षित छन्। घटनापछि त्यहाँ सयौँ स्थानीयबासी जम्मा भएका छन्।
मृतकहरुमा ४५ वर्षीया बशोकौर, ६० वर्षीया बन्तो र ५५ वर्षीया लीला देवी छन्। तर २५ वर्षीय पाइलट राहुल अरोडा प्यारासुटबाट कुदेर आफ्नो ज्यान बचाएका छन्। उनलाई सुरतगढ पठाइएको छ।
वायुसेनाका अनुसार दुर्घटनामा परेको मिग २१ तालिमका क्रममा थियो। उडानका क्रममा पाइलटलाई आपत्कालीन अवस्थाबारे थाहा भएको थियो।
उनले लडाकु जहाज सम्हाल्ने कोशिश पनि गरेका थिए। जब उनले नियन्त्रण गर्न असफल भए तब उनले आफूलाई प्यारासुटमार्फत जहाजबाट बाहिर निकाले।
सुरतगढ एयरबेसबाट करिब २५ किलोमिटर पर यी पाइलट भेटिएका थिए। उनलाई सामान्य चोट लागेको छ। अहिले भारतीय वायु सेनाले दुर्घटनाको जाँच थालेको छ।
लडाकु जहाज खसेको घरको छत पनि भत्किएर क्षतिग्रस्त भएको छ। यो दुर्घटनामा अन्य तीनजना पनि घाइते भएका छन्।
मिग-२१ दुर्घटनापछि ठूलो आवाज आएको थियो। त्यसले अर्को घरको छत पनि खसेको छ। त्यस घरका महिला पनि घाइते भएका छन्।
Shares

प्रतिक्रिया